बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष समाचार

बुधबार, २७ मङ्सिर २०८०, २० : ५२
बुधबार, २७ मङ्सिर २०८०

आज मिति २०८० साल मंसिर महिनाको २७ गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

अरुण तेस्रो आयोजना

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रोको स्थलगत अध्ययन गरेर उच्चस्तरीय कार्यदल फर्किएको छ । स्थानीयले आयोजनाको पावर हाउस प्रवेशमार्गमा ६७ दिन लामो अवरोध सृजना गरेपछि समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन भएको थियो । सो कार्यदल ९ दिनको स्थलगत भ्रमण सकेर काठमाडौँ फर्किएको हो ।

त्रिविको उपकुलपति नियुक्तिमा ढिलाइ

 त्रिभुवन विश्वविद्यालय यतिबेला निमित्त उपकुलपतिको भरमा चलिरहेको छ । उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको चार वर्षे कार्यकाल गत कात्तिक १७ गते सकिए पनि अझै उपकुलपति नियुक्त हुन सकेको छैन । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १९ गते शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाललाई तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए । 

३१ लाख ऋणीलाई राहत

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि एउटा अर्को बहस चुलिएको छ । ‘ऋण तिर्दिनँ, ऋण तिर्न हुँदैन’ जस्ता वित्तीय अराजकतापूर्ण अभियान चलिरहेका बेला केन्द्रीय बैङ्कले मौद्रिक नीतिको समीक्षामार्फत स्वयं ऋणीहरूलाई नै राहत पुग्ने गरी ऋणको पुनर्संरचनाको मौका दिएपछि बहस चुलिएको हो । 

झम्सीखेल घटना

ललितपुरको झम्सिखेल स्थित फो–९९ रेस्टुरेन्टमा प्रहरी र लागु औषध कारोबारीबिच जम्काभेट भयो । सो क्रममा मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा उदयपुर घर भएका अविनाश राई घाइते भए । उदयरपुरको लेखानी गाउँपालिका–९ घर भएका राईले प्रहरीलाई आक्रमण गर्न खाजेपछि जवाफी कारबाही गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई जानकारी दिए ।

जनमत पार्टी 

तराई मधेसमा नयाँ शक्तिको रुपमा उदाएको जनमत पार्टीले पुरानै परम्परा अँगालेको गुनासो बढ्न थालेको छ । मधेसलाई मुख्य आधार बनाएका जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायत अन्य तराई मधेस केन्द्रित दलभन्दा जनमत पार्टीले आफूलाई फरक ठान्ने गरे पनि जनताले यी सबै दल उस्तै रहेको टिप्पणी गर्न थालेका छन् ।

इन्जिनियरिङ पढ्ने विद्यार्थी संख्या घटेको चर्चा

यतिबेला सामाजिक सञ्जालमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत इन्जिनियरिङ पढ्ने विद्यार्थी संख्या घटेको चर्चा चलिरहेको छ । विभिन्न कलेजमा भर्ना भएका विद्यार्थी र सिट संख्या उल्लेख गरेर विद्यार्थी घटेको भनेर चर्चा चलेको हो ।

लज्जास्पद बजेट

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो वार्षिक कार्यक्रममा स्थानीय सडक पुल निर्माण शीर्षक अन्तर्गत १३ सय वटा पुल बनाउने योजना समेटेको छ । जसमा ताप्लेजुङदेखि इलाम हुँदै ३५ जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गर्नुपर्ने पुलका आयोजना समावेश गरिएको छ ।

राष्ट्रपति पौडेल असन्तुष्ट ?

संघीय संसद्को महासचिव नियुक्तिको विषयमा राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबिच ‘चिसो’ बढेको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले मंसिर २४ गतेदेखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरे पनि राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा सभामुख घिमिरेले महासचिवमा नियुक्तिका लागि गरेको सिफारिस राष्ट्रपतिले ‘अध्ययन’का लागि राखेका छन् । 

शेखर–गगन समूहको भेला

नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूहले करिब एक वर्षपछि आन्तरिक समीक्षा गरेको छ । काठमाडौँको बत्तिसपुतलीमा बुधबार बसेको शेखर गगन समूहको भेलामा आन्तरिक मनमुटाव, महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल भएको हो ।

एमालेको संकल्प यात्रा

प्रमुख प्रतिपक्षी दल एमालेको जारी पुष्पलाल मध्यपहाडी संकल्प यात्रामा आर्थिक पारदर्शिताको विषयलाई लिएर नेपाल सरकारका पूर्वसचिव एवं प्रशासनविद् शारदाप्रसाद त्रितालले गम्भीर प्रश्न उठाए । सामाजिक सञ्जाल फेसबुकमा ‘एमालेको संकल्प यात्रा र आर्थिक पारदर्शिताको पाटो !’ शीर्षकमा आफ्नो लामो लेख राख्दै उनले आर्थिक पारदर्शितामाथि प्रश्न उठाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप