मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
शेखर–गगन समूहको भेला

संस्थापन इतरको भेलामा एकताको जोड, शेखरलाई दलको नेतामा गगनको प्रस्ताव

बुधबार, २७ मङ्सिर २०८०, १९ : २४
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूहले करिब एक वर्षपछि आन्तरिक समीक्षा गरेको छ । काठमाडौँको बत्तिसपुतलीमा बुधबार बसेको शेखर गगन समूहको भेलामा आन्तरिक मनमुटाव, महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल भएको हो ।

नेता कोइरालाले बोलाएको भेलामा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति लगायत तीन दर्जन नेता सहभागी थिए । भेलामा नेताहरुले पार्टीको संस्थापन इतर पक्षलाई बलियो बनाएर जानुपर्ने मत राखेका थिए ।

पछिल्लो समय नेता शेखर कोइराला र महामन्त्री गगन थापाबिच देखिएको संवादहीनताका विषयमा नेताहरुको चासो थियो । भेलामा महामन्त्री थापाले आफूहरुबिच छलफल नहुँदा समस्या देखिए पनि मूलभूत रुपमा आफूहरु एकै ठाउँमा रहेको बताए ।

उनले भने, ‘हाम्रो बिचमा छलफल कम हुँदा समस्या देखिएका हुन् । मूलभूत रुपमा हामी सबै एकै ठाउँमा छौँ । पार्टीभित्रको सुझाव र सुशासनको सवालमा पनि एकै ठाउँमा छौँ । तर, कार्यशैलीगत सवालमा केही असमझदारी होलान्, संवादबाट हल गर्छाैं ।’

यस्तै नेता कोइरालाले पनि आफू र महामन्त्री थापाबिच बाहिर आएजस्तो कुनै द्वन्द्व नरहेको बताए । ‘गगनजी र मसँग कुनै डिफ्रेन्सेस थिएन । एजेण्डाको सवालमा महामन्त्रीजीसँग मेरो केही पनि फरक छैन । एक इन्च पनि फरक छैन । उहाँको उमेर र सोचाइ मसँग फरक छ । त्यो स्वाभाविक हो । त्यसले मात्रै हो । एजेण्डामा कुनै समस्या छैन,’ उनले भने ।

नेता कोइरालाले समूहभित्र अन्तरद्वन्द्व देखाएर जथाभावी नबोल्न कार्यकर्तालाई निर्देशन पनि दिएका थिए ।

शेखरलाई संसदीय दलको नेतामा प्रस्ताव

shekhar-gagan6

छलफलमा महामन्त्री थापाले कोइरालालाई नेता मानेर जान आफूलाई कुनै समस्या नभएको बताएका छन् । उनले कोइरालालाई संसदीय दलको नेताका लागि प्रस्ताव पनि गरे ।

‘हामी एकतावद्ध भएर संसदीय दलको नेता फेर्न लागौँ । मैले प्रयास गरेको हो, सकिनँ । शेखर दाइलाई संसदीय दलको नेतामा म सहयोग गर्न तयार छु । त्यसैले जतिसक्दो छिटो संसदीय दलको नेता परिवर्तन गरौँ,’ थापाले भने ।

२०७८ पुस ६ मा संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग महामन्त्री थापाले प्रतिस्पर्धा गरेका थिए । देउवा ६४ मत ल्याएर दलको नेतामा निर्वाचित हुँदा थापाले २५ मत पाएका थिए । त्यतिबेला दलको नेतामा कोइराला र थापाबिच लामो रस्साकस्सी चलेको थियो । नेताहरुको दबाबका बाबजुद दलको नेताको दौडबाट ब्याक भएर कोइराला थापाको प्रस्तावक बसेका थिए । देउवा नै प्रधानमन्त्री हुने अवस्था भयो भने २०८२ मा महाधिवेशन नहुने थापाको भनाइ थियो ।

‘१५ औँ महाधिवेशनमा पूर्व संस्थापन पक्षलाई संस्थापन पक्ष बनाउन मैले के त्याग गर्नुपर्छ, म तयार छु । तर, हामी आफैँआफैँ भिड्नु भएन । एकताबद्ध हुनुप¥यो । मलाई जिस्क्याउने काम गर्नु भएन,’ उनले भने ।

आफूले समूहभित्रै र पार्टी सभापति देउवासँग पनि भिड्नुपरेको थापाको गुनासो थियो । महामन्त्री थापाको प्रस्तावबारे नेता कोइरालाले भने कुनै प्रतिक्रिया नजनाएको एक नेताले बताए ।

देउवाविरुद्ध दलको नेतामा महामन्त्री थापाको पक्षमा उभिएका महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई समेट्नेबारे आज कुनै छलफल पनि भएन ।

राष्ट्रियसभा नयाँलाई अवसर

shekhar-gagan7

शेखर–गगन समूहले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा नयाँलाई अवसर दिनुपर्नेमा जोड दिएको छ । महामन्त्री थापाले यसअघि निर्वाचन नलडेका र मौका पनि नपाएकाहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउन सभापति देउवालाई दबाब दिने बताए । त्यसका लागि एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल गरिएको उनको भनाइ थियो ।

‘यो पटक राष्ट्रिय सभाको निर्वाचनमा दुई वटा कुरामा प्रस्ट हुनुपर्छ भन्नेमा हामी प्रस्ट छौँ । त्यो भनेको मापदण्ड र न्याय,’ महामन्त्री थापाले भने, ‘कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा जाँदै गर्दा राष्ट्रियसभाको जुन स्प्रिट छ, यो सबै कुराको आधारमा जो साथीहरू योग्य हुनुहुन्छ, जसले अहिलेसम्म मौका पाउनुभएको छैन, जसले यसअघि निर्वाचनमा भाग लिन पाउनुभएको छैन, ती साथीहरूलाई पठाउनुपर्छ ।’

त्यस्तै उनले यो समूहले यति पाउनुपर्ने उति पाउनुपर्ने भन्दा पनि न्यायपूर्ण हुनुपर्ने बताए । ‘सभापतिले यो पटक राष्ट्रिय सभाको टिकट बाँड्दै गर्दा सिङ्गो कांग्रेसको सभापति बन्न सक्नुहुन्छ कि हुन्न ? सिङ्गो कांग्रेसको सभापति बनाउने हो र हामी त्यो प्रयत्न गर्ने हो,’ महामन्त्री थापाले भने ।

यद्यपि फागुन २१ बाट रिक्त हुने २० मध्ये सत्ता गठबन्धनमा भागबण्डा हुँदा कांग्रेसले पाउन सिटको ४० प्रतिशत आफ्नो समूहले पाउनुपर्ने शेखर–गगन समूहको दाबी छ । 

महासमिति बैठक समयमै

शेखर–गगन समूहले पार्टीको महासमिति बैठक निर्धारित समयमै गर्नुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले महासमिति बैठक तोकिएको समयमा हुनुपर्ने बैठकको निष्कर्ष रहेको सुनाए ।

सभापति देउवाले राष्ट्रिय सभा निर्वाचन र जाँडोको कारण देखाउँदै आगामी फागुनमा महासमिति बैठक गर्न उपयुक्त हुने प्रस्ताव अगाडि सारेका छन् । देउवाको प्रस्तावमा कांग्रेसका अधिकांश नेता सहमत देखिन्छन् । महासमिति बैठक तोक्ने समयमा पुसमा जाडो हुन्छ भन्ने थाहा भएको भन्दै समयमै बैठक हुनुपर्ने नेता केसीको भनाइ थियो ।

shekhar-gagan4

मुख्यमन्त्री कार्कीको अभिव्यक्तिमाथि आपत्ति

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको अभिव्यक्तिमाथि प्रश्न उठेको थियो । नेताहरु मधु आचार्य, गुरुराज घिमिरे, अजयबाबु शिवाकोटी लगायतले मुख्यमन्त्री कार्कीलाई तथानाम बोल्न समूहभित्र विशेष अधिकार छ ? भन्दै प्रश्न गरेका थिए ।

नेपाली कांग्रेस ओखलढुंगा सम्मेलनमा मुख्यमन्त्री कार्की महामन्त्री थापाप्रति खनिएका थिए । ‘अरूले नै लगेको मुख्यमन्त्री हामीले खोसेर ल्याउँदा केही मानिसलाई पचेन,’ महामन्त्रीद्वय थापा र शर्माप्रति लक्षित गर्दै मुख्यमन्त्री कार्कीले भनेका थिए, ‘कांग्रेसको शिर उँचो बनाउन विद्रोह गरिएको थियो, तर केहीलाई पचेन, बमिट आयो, हुटहुटी भयो ।’

सभापति देउवा र शेखरको प्रशंसा गरेका उनले महामन्त्रीको भूमिकामा परिपक्वता नदेखिएको बताएका थिए । ‘शेखर दाइ र गगनजीलाई भन्न चाहन्छु, आदरणीय सभापतिले काम गरिराख्नु भएको छ, सम्मानसाथ बिदाइ गरिदिऔँ । महामन्त्रीहरूले परिपक्वता देखाउन सक्नुभएको छैन,’ कार्कीले भनेका थिए । मुख्यमन्त्री कार्कीको उक्त अभिव्यक्ति अमर्यादित भएको नेताहरुको जिकिर थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप