शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चिसोमा छाला सुख्खा हुन्छ ? अपनाउनुस् यी घरेलु उपाय

मङ्गलबार, ०३ पुस २०८०, १० : ४४
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । जाडो मौसममा छाला सुख्खा, रुखो अनि फुस्रो हुन्छ । जाडोमा छालाको मुलायमपन हराउँछ । 

यस्तोमा छालालाई नरम बनाउन हामी कोल्ड क्रिम लगाउँछौँ । मौसममा आउने परिवर्तन, साबुनको प्रयोग, क्रिममा भएको केमिकल, सोरायसिस, एक्जिमा, तातो पानीले नुहाउनु वा क्लिञ्जरको अत्यधिक प्रयोगका कारण पनि जाडोयाममा छालामा सुख्खा बढ्छ । 

उच्च कोलस्ट्रोल, उच्च रक्तचाप र एलर्जी आदिको औषधि सेवनका कारण पनि कसै कसैमा छाला सुख्खा बन्ने समस्या देखिएको हुन सक्छ । आजको यस लेखमा हामीहरू जाडोमा छालालाई सुख्खा हुनबाट बचाउने केही घरेलु उपायबारे कुराकानी गर्नेछौँ ।

एलोभेरा

एलोभेरामा मोइस्चराइजिङ गुण पाइन्छ । फुस्रो अनि सुख्खा छालाको उपचारका लागि यो सबैभन्दा राम्रो उपाय हो । एलोभेराको पातबाट जेल निकालेर यसलाई अनुहारमा लगाउनुस् अनि मालिश गर्नुस् । अनि केही बेरपछि यसलाई राम्रोसँग पानीले धुनुस् ।

दही

दही मोइस्चराइजिङ स्क्रब हो । यसले छालालाई चम्किलो र सफा बनाउँछ । आधा कप दहीमा ३ चम्चा मह मिसाउनुस् । यसमा ३ ठुलो चम्चा दानेदार चिनी हाल्नुस् अनि बिस्तारै मिलाउनुस् । यो स्क्रबलाई आफ्नो अनुहारभरि लगाएर ३–४ मिनेटसम्म अनुहार मसाज गर्नुस् । अनि चिसो पानीले धुनुस् ।

ओट्स

ओटमीलमा एन्टी–इन्फ्लेमेटरी र एन्टी–अक्सिडेन्ट गुण हुन्छ । यसले सुख्खा छालाको उपचारमा मद्दत गर्छ । ३ ठुलो चम्चा ओटमिल, एक चम्चा महलाई एक चौथाइ दूधसँग मिलाएर मोइस्चराइजिङ फेस प्याक बनाउनुस् । यसलाई अनुहारमा दल्नुस् अनि १० मिनेटसम्म रहन दिनुस् । त्यसपछि पानीले राम्रोसँग धुनुस् ।

निमको पात

निमको पातले छालाको आर्द्रता फर्काउन मद्दत गर्छ । यसले छाला चिलाउने समस्या पनि कम गर्छ । २ चम्चा निमको पातको पाउडरलाई एक चम्चा मह र धुलो बेसारमा मलाएर राम्रोसँग चलाएर नरम पेस्ट बनाउनुस् ।  यो पेस्टलाई अनुहारमा लगाउनुस् अनि १०–१२ मिनेटसम्म सुक्न दिनुस् । त्यसपछि पानीले अनुहार धुनुस् । तपाईंको छाला धेरै नै सुख्खा छ भने पेस्टमा दूधको तर थोरै मिसाउन पनि सक्नु हुन्छ ।

कागती

एक चम्चा महको साथमा २ ठुलो चम्चा कागतीको रस मिलाएर लगाउँदा जाडोयाममा छालाको आर्द्रता कायम राख्न मद्दत मिल्छ । कागतीको रसलाई महमा मिलाएर यो प्याकलाई अनुहारमा लगाउनुस् । अनि १५ मिनेटका लागि छाडिदिनुस् । अनि पानीले धुनुस् ।

नरिवलको तेल

नरिवलको तेलमा हेल्दी फ्याटी एसिड हुन्छ । यसले छालाको प्राकृतिक आर्द्रतालाई फर्काउन मद्दत गर्छ । छिटै फाइदा होस् भन्ने चाहनु हुन्छ भने दिनमा एक वा दुई पटक सुख्खा छालामा हल्का मनतातो नरिवलको तेलले मालिस गर्न पनि सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप