बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘गुलाफ’ पहिले मण्डलामा, त्यसपछि युरोपमा

सोमबार, ०९ पुस २०८०, १७ : ११
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । नाटक ‘गुलाफ: यशोधराको जागरण यात्रा’ को मञ्चन यात्रा नेपालबाट सुरु भएर युरोपसम्म पुग्ने छ । पुस ११ गते मण्डला नाटकघर थापागाउँमा वल्र्ड प्रिमियरसँग मञ्चन सुरु हुने नाटक त्यसपछि युरोपका सहरहरूमा मञ्चन हुनेछ ।

विगत २० वर्षभन्दा बढी समयदेखि रंगकर्ममा सक्रिय रामहरि ढकालको परिकल्पना तथा निर्देशन रहेको नाटक ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको हो । नाटकमा संवाद छैन । तर दृश्यहरूले कथा बोल्नेछ ।

सिद्धार्थ गौतमले आफ्ना प्रश्नहरूको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले आफ्नो विषय बनाएको छ ।

त्यस चरम पीडा र बिछोडको कारणले राजकुमार सिद्धार्थकी पत्नी यशोधराभित्र सिर्जित भावनाहरू, विकारहरू र त्यसले पारेको प्रभाव र परिवर्तनहरू नै यो नाट्य प्रस्तुतिको मूल विषय हो । यसमा यशोधराको पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई शारीरिक भावभङ्गीमार्फत उजागर गर्ने कोसिस नाटकमा छ ।

नाटकको कलाकारका दिया मास्के, सरिता साह हुन् । देव न्यौपानेको ध्वनि संयोजन, उमेश तामाङको प्रकाश संयोजन, सञ्चिता पराजुलीको भेसभुसा, हुम बि.सी.को मञ्च निर्माण, अनामिका गौतमको आवरण कला र केदार श्रेष्ठको मञ्च व्यवस्थापन रहेको छ । 

‘गुलाफ’ पुस ११ देखि २२ सम्म हरेक दिन ४ बजे र शनिबार थप मञ्चन दिउँसो १ बजे हुनेछ । ठेट्ना आर्ट्स र मण्डला थिएटरको प्रस्तुति रहेको नाटकलाई आर्ट एन्ड कल्चर नर्वे, नोर्दिक कल्चर फन्ड, फुक नोले सहयोग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप