शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी ठगी

काठमाडौँमा जीबी राईको सहकारीमा रकम राख्ने एकै व्यक्तिको १२ करोडसम्म डुब्यो (भिडियोसहित)

बचतकर्ताको पौने ३ अर्ब अपचलन
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । सहकारीको अर्बौँ रकम अपचलनको आरोपपछि टेलिभिजन सञ्चालक समेत रहेका गीतेन्द्र राई (जीवी)  प्रहरीको खोजी सूचीमा छन् । जीवी समूहले देशका विभिन्न स्थानमा सहकारी सञ्चालन गरेको छ भने सहकारीको रकम अपचलनको उजुरीपछि ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका राई फरार रहँदै आएका हुन् । 

राई समूहको पोखरामा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध प्रहरीमा ४ सय भन्दा बढी बचतकर्ताले जाहेरी दिएका छन् । ठगीकै सिलसिला राई समूहको अर्को सहकारी संस्थामा समेत देखिएको छ । हेटौँडामा मुख्यालय रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट बचतकर्ताहरुको करिब २ अर्ब ७५ करोड रुपैयाँ अपचलन भएको पाइएको हो । 

swarna laxmi (3)

पीडित बचतकर्ताहरूले विगत डेढ वर्षदेखि बचत फिर्ता गर्न बारम्बार भनिराख्दा समेत बचत फिर्ता भएको छैन । बचत फिर्ता गर्नुको साटो स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष समेत रहेका राई यति बेला फरार छन् । 

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको करिब ५ सय पीडित बचतकर्ता सदस्यहरूले आफ्नो बचत फिर्ता गराइदिन भन्दै आइतबार सङ्घीय सहकारी विभाग बानेश्वरमा उजुरी हालेका थिए । 

swarna laxmi (4)

यस्तै काठमाडौँमा व्यावसायिक कार्यालय राखेर कारोबार गरिरहेको सहकारी संस्था प्रदेशमा बागमती प्रदेश सहकारी मन्त्रालय अन्तर्गत सञ्चालन भएकाले पीडितहरूले मङ्गलवार पर्यटन तथा सहकारी मन्त्रीलाई समेत ज्ञापन पत्र समेत बुझाएका छन् । 

हालसम्म जोडिएका करिब ५ सय पीडित बचतकर्ताहरूले स्वर्णलक्ष्मी सहकारीबाट करिब २ अर्ब ७५ करोड रुपैयाँ बराबरको रकम अपचलन भएको दाबी छ ।

swarna laxmi (5)

सहकारीले एकै व्यक्तिको १२ करोड रुपैयाँसम्म फिर्ता नगरेको पीडित बचतकर्ताको भनाइ छ । शुक्रवार कालीमाटीस्थित स्वर्णलक्ष्मीको कार्यालयमा भेला भएका पीडित बचतकर्ता मध्यका एक कृष्ण परियारले आफ्नो ८७ लाख रुपैयाँ सहकारीले फिर्ता नगरेको गुनासो गरे । १५–२० वर्ष दुःख गरेर कमाएको पैसाले जोडेको घडेरी बेचेको पैसा सहकारीमा राखेको तर फिर्ता पाउन नसकेको उनले बताए । अहिले त्यही पैसा लिएर सञ्चालक फरार भएको भन्दै उनले आक्रोश पोखे । अहिले कालीमाटीको कार्यालयमा सम्बन्धित अधिकारी भेटिँदैनन् । केही कर्मचारी भए पनि उनीहरूले आफूलाई केही थाहा नभएको भन्दै पन्छिने गरेका छन् । 

कालीमाटीकै कार्यालयमा भेटिएकी अर्का  पीडित नन्दमाया श्रेष्ठले पसल गरेर जम्मा गरेको ३७ लाख रुपैयाँ सहकारीले फिर्ता नगरेको बताइन् । 

ग्यालेक्सी टेलिभिजनमा ६५ करोड हालेको दाबी 

swarna laxmi (1)

 जीवी राईले नियम विपरीत सो सहकारीबाट समेत ग्यालेक्सीका लागि ६५ करोड रुपैयाँ लगेको बताइएको छ । अध्यक्ष राईले यसअघि पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको भेटिएको थियो ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट समेत थप  ६५ करोड रुपैयाँ हाराहारी रकम ग्यालेक्सीमा हालेको सञ्चालकबाटै जानकारी प्राप्त भएको सहकारीका सदस्य एवम् पीडित सुमन खनालले रातोपाटीलाई बताए ।

swarna laxmi (2)

पीडितहरूले अब सङ्घर्ष समिति नै बनाएर आन्दोलनमा होमिन बताएका छन् । जसअनुसार पीडित मध्यका एक प्रचण्ड मान प्रधानको नेतृत्वमा १२ सदस्यीय विशेष पीडित सङ्घर्ष समिति बनेको छ । उक्त समितिले आधिकारिक रूपमा नै संस्था दर्ता गरेर सहकारी विरुद्ध आन्दोलनमा गर्ने र बचतकर्ताहरूको बचत फिर्ता गराउने रणनीति लिएको छ ।

swarna laxmi (6)

केही दिनभित्रै आफूहरूले राईको समूहविरुद्ध सीआईबीमा उजुरी दिने तयारी रहेको सङ्घर्ष समितिका सहसंयोजक खनालले रातोपाटीलाई बताए । 

swarna laxmi (7)swarna laxmi (8)swarna laxmi (9)swarna laxmi (10)swarna laxmi (11)फोटो : सुवास श्रेष्ठ

भिडियो : मनोज न्यौपाने र रोशन पोखरेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया