सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
सुरुङमार्ग

सबै सवारीसाधनका लागि कहिले खुला हुन्छ नागढुंगा सुरुङमार्ग ?

आइतबार, १० साउन २०८३, १८ : ३०
आइतबार, १० साउन २०८३

सारांश

  • नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन गरिने भए पनि आम सर्वसाधारणका सवारीसाधनले तत्काल प्रयोग गर्न पाउने छैनन् ।
  • सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै सुरुवाती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका अत्यावश्यक सवारीसाधनलाई मात्र प्रवेश दिइनेछ ।
  • पूर्ण रूपमा सर्वसाधारणका लागि खुला हुन अझै करिब तीन महिना लाग्नेछ ।

काठमाडौँ  । नेपालकै पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले औपचारिक उद्घाटनका लागि आवश्यक तयारी र निमन्त्रणाको काम तीव्र पारिसकेको छ । तर, सुरुङमार्गको उद्घाटन भएलगत्तै आम सर्वसाधारणका सवारीसाधनले भने तत्काल सो मार्ग प्रयोग गर्न पाउने छैनन् ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुवाती चरणमा सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै एम्बुलेन्स, दमकल र सुरक्षा निकायका अत्यावश्यक सवारीसाधनलाई मात्र प्रवेशको अनुमति दिइनेछ ।

आयोजनाका इन्जिनियर सञ्जय पन्थीले पश्चिम पोर्टलतर्फको सम्पूर्ण काम र आधारभूत प्राविधिक परीक्षण सम्पन्न भइसकेको भए पनि व्यावहारिक रूपमा सवारी परीक्षण (ट्रायल) गर्न बाँकी रहेकाले चरणबद्ध रूपमा मात्र सुरुङमार्ग खुला गरिने जानकारी दिए । उद्घाटनलगत्तै अत्यावश्यक सवारीसाधनलाई प्रवेश दिइने र त्यसपछि ‘फुल मक ड्रिल’ तथा सुरक्षा पूर्वाभ्यास गरेर मात्र अन्य सवारीसाधनको चल्न दिने आयोजनाको भनाइ छ ।

‘सुरक्षा मापदण्ड (सेफ्टी प्रोटोकल) अपनाएर चरणबद्ध रुपमा सुरुङमार्ग खोल्दै जानेछौं,’ इन्जिनियर पन्थीले भने, ‘उद्घाटनपछि इमर्जेन्सी सवारीसाधनलाई छोड्ने र त्यसपछि पूर्वाभ्यास गरेर मात्र अन्य सवारीसाधनको परीक्षण गरिनेछ । सुरुङमार्ग फुल फेजमा सञ्चालनमा आउन अझै करिब तीन महिना लाग्नेछ ।’

सम्पूर्ण सुरक्षा र प्राविधिक परीक्षण पूरा गरेर सुरुङमार्ग पूर्ण रूपमा सर्वसाधारणका लागि खुला हुन अझै करिब तीन महिना लाग्नेछ ।

यस्तो छ शुल्क, कसरी भुक्तानी गर्ने ?

सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत सरवारीलाई टोल शुल्क निर्धारण गरेको छ । २०८२ साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरुङ प्रयोग गरी काठमाडौँ आउँदा र बाहिरिँदा फरक फरक शुल्क तोकेको थियो । कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकेको छ ।

यस्तै मिनी बस/ट्रकको काठमाडौँ आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस तथा ट्रकको काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ  तोकिएको छ । यस्तै भारी उपकरणको काठमाडौँ आउँदा ६०० र जाँदा २५० दस्तुर तोकिएको उनले बताए । सुरुङमार्गबाट मोटरसाइकल र प्रज्वलनशील वस्तु बोकेका सवारी भने चलाउन निषेध गरिएको छ ।

शुल्क संकलनका लागि आरएफआईडी आधारित स्वचालित प्रविधि जडान गरिएको छ, जसबाट सीधै बैंक खातामार्फत रकम काटिनेछ भने नगद तिर्ने विकल्प पनि उपलब्ध हुनेछ । तर सबै सवारीलाई सुरुङ प्रयोग गर्नै पर्ने बाध्यात्मक अवस्था भने छैन ।

सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित स्टिकरका रूपमा एन–ट्यागको व्यवस्था गरिएको छ । अहिलेलाई एक, दुई र पाँच हजार नगदको एन–ट्याग लिने व्यवस्था गरिएको छ । एन ट्याग नलिएका सवारीका हकमा नगद भुक्तानी पनि हुने जनाइएको छ ।

किन प्रयोग गर्ने सुरुङमार्ग ?

सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौँ छिर्ने र बाहिरिने यात्रुहरूले नागढुंगाको जोखिमपूर्ण र कठिन उकालोबाट मुक्ति पाउने आयोजनाले जनाएको छ । धादिङको सिस्नेखोलादेखि काठमाडौँको बलम्बुसम्मको यात्रा अब मात्र ७ मिनेटमा पूरा हुनेछ । हालको सडकमा रहेको १० देखि १३ प्रतिशतको तीव्र उकालोको साटो सुरुङमार्ग प्रयोग गर्दा साना सवारी साधनलाई कम्तीमा १५ मिनेट र ठुला सवारी साधनलाई ३५ मिनेटसम्म समय बचत हुने दाबी गरिएको छ ।

आयोजनाले यात्रुलाई हुने समय र इन्धन बचतको लाभलाई आधार मानेर वैज्ञानिक रूपमा टोल ट्याक्स निर्धारण गरेको जनाएको छ । काठमाडौँ प्रवेश गर्दा हुने आर्थिक बचतको ३० प्रतिशत र बाहिरिँदा हुने बचतको ३६ प्रतिशत मात्र टोल शुल्कका रूपमा लिइनेछ । जसअनुसार साना कारका लागि काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ, मझौला सवारीका लागि ११५ रुपैयाँ र ठुला सवारीका लागि २६० रुपैयाँ दस्तुर तोकिएको छ । शुल्क संकलनका लागि आरएफआईडी आधारित स्वचालित प्रविधि जडान गरिएको छ, जसबाट सीधै बैंक खातामार्फत रकम काटिनेछ भने नगद तिर्ने विकल्प पनि उपलब्ध हुनेछ । कुल सवारीमध्ये ६० प्रतिशतले सुरुङ प्रयोग गरेमा वार्षिक ३५ करोड रुपैयाँ राजस्व उठ्ने र सो रकम सडक बोर्ड नेपालमार्फत सुरुङको मर्मत सम्भारमा प्रयोग हुनेछ ।

भूकम्प प्रतिरोधी संरचना र १२ इन्च बाक्लो कंक्रिट लाइनिङसहित निर्मित यस सुरुङमार्गभित्र उच्चस्तरीय सुरक्षा प्रणाली जडान गरिएको छ । मुख्य सुरुङको समानान्तर हुने गरी अलग्गै ‘रेस्क्यु टनेल’ निर्माण गरिएको छ, जसलाई प्रत्येक ३७५ मिटरको दूरीमा राखिएका ७ वटा ढोकाले जोडेका छन् । सुरुङभित्र १५ वटा अत्याधुनिक जेट फ्यान, २४ सै घण्टा निगरानी गर्ने १५ वटा सीसीटीभी क्यामरा, हरेक ५० मिटरमा इमर्जेन्सी टेलिफोन बुथ र फायर हाइड्रन्टहरू जडान गरिएका छन् ।

सुरुङमार्गभित्र एनटीसीको मोबाइल नेटवर्क र एफएम रेडियो सुन्न सकिने व्यवस्था मिलाइएको छ । सुरक्षा र उद्धारका लागि ६४ जनाको विशेष टोलीसहित १५० जनाको समर्पित जनशक्ति २४ सै घण्टा तीन सिफ्टमा परिचालन हुनेछन् । आयोजनाले आपत्कालीन उपचारका लागि सशस्त्र प्रहरी बलको अस्पताल र अग्नि नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकासँग सम्झौता गरिसकेको छ भने सुरुङमार्गका दुवैतर्फ एम्बुलेन्सहरू २४ सै घण्टा तयारी अवस्थामा रहनेछन् ।

२९ अर्ब पुग्यो लागत

सुरुमा २२ अर्ब रुपैयाँ अनुमान गरिएको कुल लागत बढेर करिब २९ अर्ब रुपैयाँ पुगेको छ । भौतिक संरचनामा गरिएका केही परिमार्जनका कारण १२ प्रतिशत र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण १८ प्रतिशत गरी कुल निर्माण खर्चमा १५ देखि ३० प्रतिशतसम्म वृद्धि भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त, सिस्नेखोलातर्फ पहिरो रोकथाम र थप जग्गा अधिग्रहणका लागि मात्रै ६ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च भएको छ ।

पटक–पटक म्याद थप हुँदा आयोजनाको निर्माण लागतमा समेत उल्लेख्य वृद्धि भएको आयोजनाले जनाएको छ । हाल शतप्रतिशत भौतिक प्रगति भइसकेको यो आयोजना २०७६ कात्तिक ४ गतेदेखि निर्माण सुरु भएको हो । सुरुवाती सम्झौताअनुसार २०८० वैशाख १३ गतेभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि कोभिड–१९ को महामारी, स्थानीयस्तरमा उठेका विवादलगायत कारण समयमा सम्पन्न हुन सकेको थिएन ।

यसबिच चार पटकसम्म म्याद थप गरिएको थियो । पछिल्लो पटक सुरुङमार्ग ९९ प्रतिशत सम्पन्न भइसक्दा पनि सिस्नेखोलातर्फ गएको पहिरोले टोल प्लाजालगायतका संरचनामा क्षति पुर्‍याएपछि मर्मत र पहिरो नियन्त्रणको काम गर्न म्याद थप्नु परेको थियो । आयोजनाको अन्तिम म्याद २०८३ वैशाखसम्म रहेको थियो । सञ्चालनको प्रक्रियाका कारण थप समय लागको हो ।

सुरुङ सञ्चालनको जिम्मा युसिन–एआरटी जेभीले पाँच वर्षसम्मका लागि पाएको छ । जसको सम्झौत रकम १  अर्ब १० करोड रुपैयाँ रहेको छ । सम्झौताअनुसार  कम्पनीले सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडककोसमेत ममर्तत  सम्भार गर्नुपर्ने छ । यो सुरुङमार्ग २४ सै घण्टा सञ्चालन हुनेछ ।  १ सय ५० जना कर्मचारी परिचालन हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप