बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चिसो बढ्न थालेपछि सिरहाका सामुदायिक विद्यालयहरू ७ दिनका लागि बन्द

बुधबार, २५ पुस २०८०, १५ : ४३
बुधबार, २५ पुस २०८०
  • रामभरोस यादव

सिरहा । चिसो बढ्न थालेपछि सिराहाका सामुदायिक विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । शितलहर तथा चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै पालिकाहरूले विद्यालय बन्दको सूचना जारी गरेका हुन् ।

सिराहाको गोलबजार नगरपालिकाले सूचना जारी गर्दै ७ दिनको लागि विद्यालय बन्द रहने सूचना जारी गरेको छ । शिक्षा शाखा अधिकृत सुबोध कुमार लामाद्वारा जारी सूचनामा माघ २ गते मात्र विद्यालय खुल्ने उल्लेख गरेको छ । 

चिसोले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै लक्ष्मीपुर पतारी गाउँपालिकाले पनि आजबाट लागु हुने गरी एक हप्ता जाडो बिदा दिएको छ । गाउँपालिकाका शिक्षा अधिकृत रामबालक पासमानले सूचना जारी गर्दै मंगलबारदेखि लागू हुने गरी आगामी २ माघसम्म जाडो बिदा दिइएको जनाएका छन् । त्यसैगरी नगरहा गाउँपालिकाले पनि विद्यालय जाडो बिदा दिएको छ । 

winter shitlahar (1)

पछिल्लो केही दिनयता बाक्लो हुस्सु र कुहिरोसँगै तापक्रम घटेपछि जनजीवन प्रभावित बन्दै आएको छ । बाक्लो हुस्सु र कुहिरो प्रायः दिउँसोसम्म लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो । 

बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेको  जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनिया लगायतका प्रकोपबाट पीडित भएका छन् । 

पछिल्लो एक सातायता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निक्कै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या ह्वातै घटेको छ । उपचारका लागि अहिले दैनिक करिब ७५ देखि ८० जना अस्पतालमा आउने गरेको प्रादेशिक अस्पताल सिरहाका मेसु डा नगेन्द्र प्रसाद यादवले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप