सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

नेतात्रयको गोप्य संवाद, कांग्रेसमा तरङ्ग

बुधबार, ०३ माघ २०८०, १७ : ००
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएर रिहा भएपछि पार्टीमा नयाँ ध्रुवीकरण प्रयास भइरहेको देखिन्छ । पार्टीमा सांगठनिक पकड भएका पूर्वगृहमन्त्री खाँणलाई साथमा लिएर नयाँ ध्रुवीकरणको प्रयास भइरहेको छ । 

सात महिनापछि रिहा भएका खाँणले पार्टीको आन्तरिक राजनीतिलाई सूक्ष्म ढंगले नियालिराखेका छन् । जेलबाट छुटेपछि उनी धार्मिक गतिविधिसँग राजनीतिक भेटघाटमा पनि व्यस्त देखिएका छन् ।

पुस अन्तिम साता कांग्रेस शीर्ष नेतात्रय बालकृष्ण खाँण, एनपी साउद र चन्द्र भण्डारीबिच तीन विषय संवाद भएको छ । काठमाडौँको बत्तिसपुतलीस्थिति एक होटेलमा नेतात्रय मन्त्री फेरबदल, संसदीय दलको नेता परिवर्तन र १५ औँ महाधिवेशन समीकरणको वरिपरि गफिएका थिए ।

परराष्ट्रमन्त्रीसमेत रहेका साउद र पार्टीभित्र राम्रो प्रभाव रहेका खाँण र शेखर कोइराला पक्षका भण्डारीबिच भएको गोप्य भेटवार्ताले कांग्रेसवृत्तमा तरङ्ग ल्याएको छ । 

  • भण्डारीप्रति नेताद्वयको सद्भाव

राष्ट्रियसभा निर्वाचन (माघ ११ गते) पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीमण्डल हेरफेरको तयारीमा छन् । नेता भण्डारी कुनै हालतमा मन्त्री बन्ने दौडमा छन् । गत वर्ष कांग्रेस सरकारमा सहभागी हुँदा पनि भण्डारी मन्त्री बन्ने दौडमा थिए ।

तर फागुन ३ मै घरमा ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते हुन पुगे । उनी भारतमा उपचाररत रहेको बेला चैत १७ मा कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भयो । लामो समयको उपचारपछि तङ्ग्रिएका भण्डारीले पहिलो पटक मन्त्री हुने मौका गुमाए ।

गुल्मी –१ मा ४ पटक चुनाव लडेका भण्डारी ०६४ र ७४ मा पराजित भए पनि ७० र ७९ मा निर्वाचित भए । समकालीन नेताहरू पटक–पटक मन्त्री भए पनि भण्डारीले अहिलेसम्म अवसर पाएका छैनन् । अहिले भण्डारी कांग्रेसबाट मन्त्री हेरफेरको मौका कुरिरहेका छन् ।

गुल्मी–१ बाट निर्वाचन भण्डारी लुम्बिनी प्रदेशबाट देउवा समूहमा प्रभाव राख्ने खाँणलाई मिलाउन लागि परेको चर्चा छ । शनिबार भएको छलफलमा खाँण र साउदले भण्डारीलाई मन्त्री बनाउन सहयोग गर्ने बचन दिएको स्रोतले रातोपाटीलाई बतायो । नेता शेखर कोइराला समूहबाट मन्त्री बन्न समस्या नदेखेका भण्डारीले खाँण र साउदको सद्भाव खोजेको देखिन्छ ।

  • दलको नेता फेर्ने कसरत !

नेतात्रयबिच भएको छलफलको दोस्रो विषय अर्थपूर्ण छ । किनभने उनीहरू बत्तिसपुतलीमा गोप्य छलफल गरिरहेका बेला नेता शेखर कोइराला भारतमा थिए । कोइरालानिकट भण्डारीले देउवा पक्षमा प्रभावशाली नेतासँग गरेको छलफल महत्त्वपूर्ण भएको कांग्रेस नेताहरू बताउँछन् । 

नयाँ सरकार निर्माणको परिस्थिति बन्दा कोइराला संसदीय दलमा देउवासँग प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । त्यसका लागि कांग्रेसभित्र कोइराला अङ्कगणितको हिसाब–किताबमा देखिन्छन् । केन्द्रीय कारागार सुन्धारामा हुँदै नै खाँणमाथि उनको नजर थियो । गत साउन ३१ मा खाँणलाई भेट्न सुन्धारा पुगेका उनी असोज ६ मा फेरि पुगेका थिए ।

सभापति देउवा र उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग असन्तुष्ट देखिएका खाँणको मन जित्न कोइराला दुई पटक सुन्धारा कारागार पुगेको कांग्रेसवृत्तमा चर्चा थियो । कांग्रेस केन्द्रीय समिति, संसदीय दल, जिल्ला सभापति र भ्रातृ संस्थामा राम्रो पकड भएका खाँणलाई विश्वासमा लिन सके देउवासँगको प्रतिस्पर्धा सहज हुने कोइरालाको बुझाइ छ ।

केन्द्रीय समितिमा दुई दर्जन सदस्य र संसदीय दलमा करिब एक दर्जन सांसद आफ्नो पक्षमा रहेको खाँण पक्षको दाबी छ । देउवा टिममा विभाजन नल्याए कोइरालाका लागि संसदीय दल र आगामी महाधिवेशन पनि सहज छैन । 

आफू संसदीय दलको नेताका लागि अघि सर्दा ३४ सांसदको साथ पाउने कोइरालाको विश्वास छ । त्यसमा खाँणको माध्यमबाट थप १० जना तान्न सके संसद्को यही कार्यकालमा प्रधानमन्त्री बन्न सकिने कोइरालाको विश्लेषण छ । यद्यपि गत पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा देउवाले ६४ मत पाउँदा महामन्त्री गगन थापा २५ मतमा सीमित भएका थिए ।

दुई तिहाइभन्दा बढी मतले जितेका देउवाविरुद्ध बहुमत पुर्‍याएर अघि बढ्न कोइरालालाई त्यति सहज भने छैन । कोइराला पक्ष भने २०५८ को संसदीय दलको दृष्टान्त दिन्छ । २०५८ मा गिरिजाप्रसाद कोइरालाले होलरी काण्डमा प्रधानमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेस संसदीय दलको नेता फेरिएको थियो । 

२०५६ मा गिरिजाप्रसादसँग भारी मतले हारेका देउवाले २०५८ मा सुशील कोइरालालाई भारी मतले हराएका थिए । यता मङ्सिर २७ मा बत्तिसपुतलीमा भएको इतर समूहको छलफलमा महामन्त्री थापाले कोइरालालाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए ।

‘हामी एकताबद्ध भएर संसदीय दलको नेता फेर्न लागौँ । मैले प्रयास गरेको हो, सकिनँ । शेखर दाइलाई संसदीय दलको नेतामा म सहयोग गर्न तयार छु । त्यसैले जतिसक्दो छिटो संसदीय दलको नेता परिवर्तन गरौँ,’ थापाको भनाइ थियो । 

संस्थापन इतर पक्षले देउवाको विकल्प खोजिरहेकै बेला नेता भण्डारीले शेखर कोइरालाको पक्षमा महौल बनाउन खाँण र साउदसँग संवाद गरेको कांग्रेस स्रोत बताउँछन् । पछिल्लो समय खाँण र साउदले नेता कोइरालासँग हिमचिम बढाएको देउवानिकट एक नेता बताउँछन् । ती नेताले भने, ‘खाँणजीलाई अप्ठ्यारोमा साथ दिएको भन्ने होला । साउदजी पहिलेदेखि शेखर कोइरालासँग समदुरीमा हुनुहुन्छ ।’

  • नयाँ समीकरणको प्रयास

कांग्रेसमा १५ औँ महाधिवेशनको समीकरणका लागि नेताहरूबिच आन्तरिक छलफल हुन थालिसकेको छ । प्रत्येक चार वर्षमा कांग्रेसको महाधिवेशन हुनुपर्छ । २०७८ मङ्सिर अन्तिम साता १४ औँ महाधिवेशन सम्पन्न भएकोमा २०८२ मङ्सिरमा १५ औँ महाधिवेशन गर्नुपर्ने हुन्छ ।

कांग्रेसमा विगतदेखि नै विधानले दिएको एक वर्षे कार्यकाल थप्ने अभ्यास छ । त्यसो हुँदा ढिलोमा २०८३ मंसिरसम्म कांग्रेसको १५ औँ महाधिवेशन हुनेछ । तर, कांग्रेस नेताहरूलाई १५ औँ महाधिवेशनको हावाले छोइसकेको छ ।

भावी सभापतिका लागि उपसभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, महामन्त्री गगन थापा, नेता शशाङ्क कोइराला, प्रकाशमान सिंहलगायत दौडमा छन् । सभापति शेरबहादुर देउवा पार्टी विधानअनुसार अब सभापति बन्न नमिल्ने भएपछि नयाँ ध्रुवीकरणको प्रयास भइरहेको देखिन्छ । सभापति देउवानिकट केही नेता शेखर कोइरालासँग नजिकिन खोजेका छन् । खाँण, साउद र भण्डारीको गोप्य छलफल पनि यसैको एक कडी हो ।

संस्थापन इतरमा महामन्त्री गगन थापा पनि नयाँ समूह खडा गरेर सभापतिको तयारीमा छन् । महामन्त्री थापा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतका नेतालाई साथमा लिएर अगाडि बढ्ने तयारीमा छन् । महामन्त्री थापाको उक्त तयारीको चाल पाएका शेखर कोइरालानिकट नेताहरू देउवापक्षका नेताहरुसँग संवाद बढाइरहेका छन् ।

शेखर कोइरालाले १४ औँ महाधिवेशनमै साउदलाई आफ्नो टिममा आउन प्रस्ताव गरेका थिए । सभापतिमा देउवा नै प्रतिस्पर्धा उत्रिएकाले साउदले शेखरको प्रस्ताव अस्वीकार गरे । यतिबेला कोइराला देउवा पक्षका भारत लबीका नेताहरूलाई आफूसँग जोड्ने प्रयासमा छन् । पछिल्लो समय भारतसँग सभापति देउवाको सम्बन्ध बिग्रेको कोइराला पक्षको विश्लेषण छ ।

सुदूरपश्चिमबाट साउद र लुम्बिनीबाट खाँणको साथ पाए सभापतिको प्रतिस्पर्धा सहज हुने शेखर पक्षको बुझाइ छ । भण्डारीले आफ्नो समकालीन नेताद्वय खाँण र साउदलाई शेखरको पक्षमा उभ्याउने कसरत गरिरहेको नेताहरू बताउँछन् । स्रोतका अनुसार छलफलमा शेखरको नेतृत्वमा १५ औँ महाधिवेशनमा जाने विषयमा खाँण र साउद सकारात्मक देखिएका छन् ।

सभापति देउवाले संस्थापन पक्षको उत्तराधिकारीबारे मुख नखोलेकाले धेरै नेता अलमलमा छन् । देउवा पक्षका सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, परराष्ट्रमन्त्री साउद, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत लगायतका नेताहरू शेखर कोइरालासँग नजिकिएको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप