आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई ओलीले भने– विश्वविद्यालयमा ताला लगाउने भए घरै बसे भइगो नि, किन आउने ?

‘म लगातार २४ घण्टा काम गर्न सक्छु’
शुक्रबार, ०५ माघ २०८०, १९ : २९
शुक्रबार, ०५ माघ २०८०

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले शुक्रबार ‘विद्यार्थीसँग केपी ओली’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा करिब एक घण्टासम्म बोलेका एमाले अध्यक्ष ओलीले अधिकांश समय आइटी र विद्यार्थीको भविष्यका विषयसँग सम्बन्धित रहेर धारणा राखे ।

आफू प्रधानमन्त्री भएको बेलामा अब नेपाललाई डिजिटल नेपाल बनाउनुपर्छ भनेर उक्त कार्यको सुरुवात गरेको ओलीले सुनाए । विश्वविद्यालयले भौतिक पूर्वाधारतर्फ गरेको उल्लेख्य प्रगति र आइटीको क्षेत्रमा गरेको रुपान्तरणको उनले प्रशंसा गरे ।

ओलीले मन्तव्यकै क्रममा आफू प्रधानमन्त्री भएको बेलामा एक जनाले आफूलाई सोधेको कुरा सुनाए । ‘मैले भ्रष्टाचार गर्नु हुँदैन भनेर बोलिरहन्थेँ,’ उनले भने, ‘एकजनाले सोधे– के तपाईँले भनेजस्तै साँच्चै भ्रष्टाचार गर्नु हुन्न ? मैले– हो गर्दिनँ भनेँ ।’

मान्छे सभ्य हो, त्यसैले असल भएर राम्रा काम गर्नुपर्ने ओलीले बताए । उनले भने, ‘मेरो विद्यार्थी भाइबहिनीलाई यही आग्रह छ ।’

ओलीले विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले विश्वविद्यालयको रुपान्तरणमा राम्रो काम गरेको भन्दै प्रशंसा गरे । त्यसपछि ओलीले आफ्नो दैनिकी र जिन्दगीबारे कुरा सुनाए ।

‘मेरो जिन्दगी निकै कष्टपूर्ण तरिकाले अघि बढ्यो,’ उनले भने, ‘दुई पटक त किड्नी फेरेँ तर, पनि मेरो दैनिकी देखेर कतिपय मान्छे अनौठो पनि मान्छन् । म २४ घण्टा लगातार काम गर्न सक्छु । दुःख मलाई गाह्रो चिज लाग्दैन । अर्को कुरा, म कहिल्यै पनि चिन्तित भएर बस्दिनँ । बिरामी भइहाल्ने हो कि भनेर पहिलानै चिन्ता गरे मान्छे बिरामी भइहाल्छ नि !’

विद्यार्थीसँग ओलीको सवाल–जवाफः

एक जना विद्यार्थीले विश्वविद्यालय स्वायत्त नरहेको विषयमा प्रश्न सोधे । जवाफमा ओलीले भने– ‘हो विश्वविद्यालय स्वायत्त छैनन् । तर, स्वायत्त नहुँदैमा काम गर्न नसकिने भन्ने होइन । राजनीति सङ्लो छैन भने जे गर्दा पनि राम्रो हुँदैन । नन्दबहादुर सिंहजस्तो भीसी नेपालमा कोही छैन, कार्य दक्षताका हिसाबले । उहाँले त राम्रो काम गर्नुभएकै छ नि ! तर, प्रधानमन्त्री कार्यालयबाट काम रोक्नु भन्ने चिट्ठी नन्दबहादुरलाई आएको छ । किन ? यस्तो तरिकाले काम गरे पनि जस्टिस हुँदैन ।’

अर्को विद्यार्थीले विश्वविद्यालय बन्द, हडतालको केन्द्र बनिरहेकोबारे प्रश्न सोधे ।

जवाफमा ओलीले स्वार्थका लागि राजनीतिक दलहरुले विश्वविद्यालयको दुरुपयोग गर्ने गरेको सुनाए । ‘अहिलेका विद्यार्थीलाई शालिनता सिकाइएन, घमण्डता सिकाइयो । मानवता सिकाइएन, देशभक्ति, विकासशील कुराहरु सिकाइनुपर्छ । विद्यार्थीमा अहंकार पस्यो भने म जत्ति जान्ने को ? भनेर ठान्छ,’ उनले भने, ‘त्यस कारण शिक्षण संस्थालाई बन्द गर्नु हुन्न । गुरुमाथि हमला गर्ने होइन । विश्वविद्यालयमा ताला लगाउन आउने भए घरै बसे भइगो नि ! किन आएको ? आज टिचर विद्यार्थीसँग डराउनुपर्ने अवस्था आएको छ ।’

ओलीले यसो भनिरहँदा उनैले भाषण गरिरहेको हलभन्दा पछिल्लोतर्फ विश्वविद्यालयको केन्द्रीय कार्यालयमा भने गत असोजदेखि तालाबन्दी भइरहेको छ । उक्त तालाबन्दी अझै खुल्न सकिरहेको छैन ।

अर्का विद्यार्थीले नेपालमै विद्यार्थी रोक्ने उपायबारे ओलीलाई प्रश्न सोधेका थिए ।

उक्त प्रश्नको जवाफमा ओलीले त्यो वातावरण बनाउनुपर्ने बताए । आफू प्रधानमन्त्री भएको बेला बाहिर जाने विद्यार्थीको संख्या १८ प्रतिशतले कमी भएको उनले बताए ।

अहिले राष्ट्र नै त्रासदीपूर्ण स्थितिमा रहेको ओलीले बताए । ‘नयाँ पिँढीलाई बाहिर जान नदिनका लागि पहिला विश्वासलाग्दो वातावरण बनाइनुपर्छ,’ ओलीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप