बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेशसभा

यस्तो छ सभामुखदेखि प्रदेशसभा सदस्यसम्मको सेवा–सुविधा

सोमबार, २२ माघ २०८०, १४ : ४१
सोमबार, २२ माघ २०८०

धनगढी । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभाका सभामुखले मासिक ६४ हजार तलबका अतिरिक्त बैठक भत्ताबापत प्रतिदिन ८५० रुपैयाँ, आवास सुविधा बापत मासिक २२ हजार, सरकारी घर नभएको अवस्थामा फर्निचर खर्चबापत वार्षिक एकमुष्ट एक लाख रुपैयाँ, सवारी साधन, मासिक १२५ लिटर इन्धन, ५ लिटर मोबिल सुविधा पाउँछन् ।

प्रदेशसभा सभामुखका लागि बिल अनुसार धारा र बिजुली, सञ्चार सुविधाबापत मासिक ३ हजार, दैनिक भ्रमण भत्ता २५ सय, दैनिक भ्रमण भत्ता (विदेश) २२५ डलर, अतिथि सत्कारबापत १० हजार रुपैयाँ, निजी आवास मर्मत सम्भारबापत वार्षिक एकमुष्ट ५० हजार रुपैयाँ पाउने व्यवस्था पनि छ ।

सभामुखको निजी सचिवालय व्यवस्थापनमा महिनामा छुट्टै करिब सवा लाख रुपैयाँ खर्च हुने गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले रातोपाटीलाई जानकारी दिए ।

सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ अनुसार सभामुखले दैनिक भत्ता, दैनिक भ्रमण भत्ता, वार्षिक एकमुष्ट पाउने फर्निचर खर्च, निजी आवास मर्मत खर्चबाहेक मासिक १ लाख २० हजार रुपैयाँ बढीको सुविधा भोग गर्दै आएका छन् ।

  • विपक्षी दलको नेता र उपसभामुखले के पाउँछन् ?

सभामुखपछि बढी सुविधा लिनेमा विपक्षी दलको नेता र उपसभामुख हुन् । उनीहरूको मासिक पारिश्रमिक समान ५९ हजार ५ सय रुपैयाँ छ । यसबाहेक बैठक भत्ताबापत प्रतिदिनको ८५० रुपैयाँ, आवास सुविधा बापत मासिक २० हजार, सरकारी घर नभएको अवस्थामा फर्निचर खर्चबापत वार्षिक एकमुष्ट एक लाख रुपैयाँ, सवारी साधन, मासिक १ सय लिटर इन्धन, ५ लिटर मोबिल सुविधा पाउने व्यवस्था छ ।

विपक्षी दलको नेता र उपसभामुखले बिल अनुसार धारा र बिजुलीको भुक्तानी, सञ्चार सुविधाबापत मासिक ३ हजार, दैनिक भ्रमण भत्ता २५ सय, दैनिक भ्रमण भत्ता (विदेश) २२५ डलर, अतिथि सत्कारबापत ७ हजार, निजी आवास मर्मत सम्भारबापत वार्षिक एकमुष्ट ४० हजार लिन्छन् ।

दैनिक भत्ता, दैनिक भ्रमण भत्ता, वार्षिक एक मुष्ट पाउने फर्निचर, निजी आवास मर्मत खर्चबाहेक विपक्षी दलको नेता र उपसभामुखले सचिवालय अन्तर्गत मासिक १ लाख ११ हजारभन्दा बढीको सुविधा उपभोग गर्दै आएका छन् ।

  • सचेतक र समिति सभापतिको सुविधा

सत्ता पक्षका प्रमुख सचेतक÷विषयगत समितिका सभापति तथा सत्ता पक्षको सचेतक÷विपक्षी दलको प्रमुख सचेतकहरूले समान सुविधा पाउने गरेका छन् ।

उनीहरूले मासिक ५७ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउँछन् । यस अतिरिक्त बैठक भत्ताबापत प्रतिदिनको ८५० रुपैयाँ, आवास सुविधा बापत मासिक १८ हजार, सरकारी घर नभएको अवस्थामा फर्निचर खर्चबापत वार्षिक एकमुस्ट एक लाख रुपैयाँ, सवारी साधन, मासिक १ सय लिटर इन्धन, ५ लिटर मोबिल सुविधा पाउने व्यवस्था छ ।

त्यस्तै, धारा र बिजुलीबापत मासिक २ हजार, सञ्चार सुविधाबापत मासिक ३ हजार, दैनिक भ्रमण भत्ता २५ सय रुपैयाँ, दैनिक भ्रमण भत्ता (विदेश) २२५ डलर, अतिथि सत्कारबापत ७ हजार, निजी आवास मर्मत सम्भारबापत वार्षिक एकमुष्ट ३५ हजार पाउने व्यवस्था ऐनमा छ ।

उनीहरूले दैनिक भत्ता, दैनिक भ्रमण भत्ता, वार्षिक एकमुष्ट पाउने फर्निचर खर्च, निजी आवास मर्मत खर्चबाहेक मासिक १ लाख ३ हजार ५ सयभन्दा बढीको सुविधा सचिवालयका लागि उपभोग गर्दै आएका छन् ।

  • सांसदको सेवा–सुविधा

सुदूरपश्चिम प्रदेशसभा सदस्यले मासिक ५६ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउँछन् । यसका अतिरिक्त बैठक भत्ताबापत प्रतिदिनको ८५० रुपैयाँ, आवास सुविधा बापत मासिक १७ हजार, सरकारी घर नभएको अवस्थामा फर्निचर खर्चबापत वार्षिक एकमुस्ट एक लाख रुपैयाँ पाउने व्यवस्था छ ।

त्यस्तै, धारा र बिजुलीबापत मासिक २ हजार, सञ्चार सुविधाबापत मासिक ३ हजार, दैनिक भ्रमण भत्ता २५ सय रुपैयाँ, दैनिक भ्रमण भत्ता (विदेश) २२५ डलर, अतिथि सत्कारबापत ७ हजार, निजी आवास मर्मत सम्भारबापत वार्षिक एकमुष्ट ३५ हजार रुपैयाँ पाउने व्यवस्था छ । साथै बैठक बसेको दिन दैनिक ५ सय रुपैयाँका दरले प्रदेशसभा सदस्यहरूले यातायात खर्च पनि पाउँछन् ।

यसरी अन्य जिम्मेवारीमा नरहेका एक जना प्रदेशसभा सदस्यले दैनिक भत्ता, दैनिक भ्रमण भत्ता, वार्षिक एकमुष्ट पाउने फर्निचर खर्च, निजी आवास मर्मत खर्चबाहेक मासिक ८५ हजार ५ सय बढीको सुविधा पाउने व्यवस्था छ ।

यहाँ ५३ सदस्यीय प्रदेशसभामा सत्तारुढ दल नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १०, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् । सभा सदस्यबाट एक मुख्यमन्त्री, ६ मन्त्री र २ राज्यमन्त्री भएका छन्, उनीहरूलाई यो ऐन बमोजिम नभई अलग व्यवस्था बमोजिम सेवा–सुविधा उपलब्ध गराइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप