शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी सांसदका उम्मेदवार नेपाली मूलका एड्रियन पोखरेलद्वारा रिचमण्डमा आधिकारिक उम्मेदवारी दर्ता

बिहीबार, २५ माघ २०८०, ०६ : ५६
बिहीबार, २५ माघ २०८०

विजय थापा । अमेरिकी सांसदका उम्मेदवार नेपाली मूलका एड्रियन पोखरेलले भर्जिनियाको राजधानी रिचमण्डमा आधिकारिक रुपमा उम्मेदवारी दर्ता गरेका छन् । उनले  भर्जिनियाको १० औँ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

पोखरेलले फेब्रुअरी ७ बुधबारका दिन भर्जिनियाको राजधानी रिचमण्डमा गेन्सभिल शहरबाट त्यहाँ पुगी भर्जिनिया निर्वाचन समितिमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उनले त्यहाँ उम्मेदवारी दर्ता गराए पछि आफ्नो सामाजिक सञ्जालमा आफू नेपालको एउटा सानो गाउँबाट अमेरिकी लोकतन्त्रको मुटुसम्म रिचमण्डको भर्जिनिया निर्वाचन समितिमा कांग्रेसको लागि आधिकारिक रूपमा उम्मेदवारी दर्ता गरेको उल्लेख गरेका छन् ।

हामी सँगै यो महत्त्वपूर्ण अभियान सुरु गर्दा म हाम्रो विविध समुदायको आशा बोक्न नम्र छु र हामीलाई धेरै दिएको यस भूमिको सेवा गर्ने अवसरबाट प्रेरित छु भन्दै मतदातालाई प्रेरणादायी सन्देश दिएका छन् ।

उनले मतदाताहरूलाई ध्यानाकर्षण गर्दै निरन्तर समर्थनको लागि अनुरोध समेत गरेका छन् । उनले सबैका लागि उज्यालो भविष्य निर्माण गर्न हामी हाम्रो आवाज कांग्रेसमा पुर्‍याउने प्रयास गर्छौँ भन्दै सबैलाई इतिहास निर्माण गर्न आह्वान गरेका छन् ।

पोखरेल सेवानिवृत र युद्धमा घाइते भएका डिसएबल अर्थात् विकलाङ्ग हुन् । पूर्व अमेरिकी सैनिक तथा राष्ट्रिय सुरक्षा सेवा लगायतमा अनुभव बटुलेका पोखरेल भर्जिनियाको १० औँ निर्वाचन क्षेत्रबाट करिब २ महिना अगाडी आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

उनको नेपाल मूल घर सुनसरी धरान विजयपुर हो । उनी अफगानिस्तानमा हुँदा युद्धमा घाइते भएका हुन् । उनी डेमोक्र्याटिकको तर्फबाट २०२४ को नोभेम्बरमा हुने अमेरिकी संसद् पदको लागि मैदानमा उत्रिएका छ । उनले डिसेम्बर १७ ,२०२३ आइतबारका दिन आफ्नो उम्मेदवारी घोषणा गरेका थिए  ।

 उनको उम्मेदवारी भर्जिनिया राज्यको लागि राज्य जन प्रतिनिधि नभई सिधै अमेरिकी सांसदका लागि उम्मेदवारी हो । भर्जिनियाको गेन्सभिल बसोबास गर्दै आएका एड्रियन पोखरेल एक अनुभवी सार्वजनिक सेवक हुन् । पोखरेलले अमेरिकी राष्ट्रिय सुरक्षा र सामुदायिक सेवामा ३ दशकभन्दा बढीको अनुभव बोकेका छन्।

उनको मुख्य कार्यसूची अनुसार जिल्लाको समृद्धिलाई अगाडि बढाउन र वाशिंगटनमा प्रभावकारी रूपमा उक्त क्षेत्रका बासिन्दाहरूलाई प्रतिनिधित्व गर्न आफ्नो व्यापक पृष्ठभूमिको लाभ उठाउने लक्ष्य राखेको उल्लेख गरेका छन् ।

पोखरेलको चुनावी अभियानको केन्द्रविन्दु “यू म्याटर” हो । स्मरण रहोस् ,अमेरिकामा हाल दुई जना राज्य स्तरका सांसदहरू रहेका छन् । अहिले सम्म अमेरिकी मूलधारमा पोखरेल सहित उम्मेदवारी दिने ६ जना रहेका छन् । अमेरिकी संसदमा सबैभन्दा पहिले उम्मेदवारी दिने दर्शन रौनियार हुन् भने अहिले सम्म राज्य सांसद पदमा ३ जना पराजित भई सकेका छन् भने यस वर्ष मात्रै अमेरिकी सांसद पदमा दुई जना र एक जना युवा रिपब्लिकन दलबाट राज्य स्तरबाट उम्मेदवारी दिएका छन् ।

मेरिल्याण्डबाट डा ह्यारी भण्डारीले पनि अमेरिकी सांसद पदमा उम्मेदवारी घोषणा गरेका छन् भने यता भर्जिनियाबाट एड्रियन पोखरेलले पनि अमेरिकी सांसद पदमा उम्मेदवारी दर्ता नै गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप