शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीका ८ पालिकाले मनाए जनयुद्ध दिवस

मङ्गलबार, ०१ फागुन २०८०, ०९ : २५
मङ्गलबार, ०१ फागुन २०८०

पोखरा । गण्डकी प्रदेशका ८ वटा गाउँपालिकाले जनयुद्ध दिवस मनाएका छन् । उनीहरुले आज सार्वजनिक बिदा नै दिएका छन् । माओवादीबाट निर्वाचित पालिका नेतृत्व भएका ठाउँमा बिदा घोषणा गरिएको हो ।

गोरखाको गण्डकी गाउँपालिका, सहिद लखन, भीमसेनथापा, बारपाक सुलिकोट, अजिरकोट, धार्चे, तनहुँको आँबुखैरेनी, बागलुङको ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको ४ नम्बर वडाले पनि बिदा दिएको छ ।

तत्कालीन विद्रोही माओवादीले सशस्त्र सङ्घर्ष गरेको र त्यसैबाट हालको उपलब्धि प्राप्त भएको भन्दै अघिल्लो वर्ष फागुन १ मा सार्वजनिक बिदा दिएर दिवस मनाइएको थियो । तर अहिले सर्वोच्च अदालतले सार्वजनिक बिदा दिन नमिल्ने भन्दै अङ्कुश लगायो ।

तैपनि गण्डकीका माओवादीबाट निर्वाचित नेतृत्व भएका पालिकाहरूले आँफुखुसी बिदा दिए । गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना उपलब्धि रक्षा गर्नुपर्नेमा जनयुद्धप्रति नै विभाजित मानसिकता आएको बताए ।

‘समग्रमा उपलब्धि रक्षा गर्ने सन्दर्भमा जुन विभाजित मनोविज्ञान देखिएको छ । यसले समग्र नेपाल र परिवर्तनकारी जनतालाई असर पर्न सक्ने स्थिति हुन्छ,’ उनले भने, ‘जनयुद्ध एउटा सत्यको बाटो, न्यायको बाटो, परिवर्तनको बाटो हो । यसलाई हामी सधैँ पछ्याइरहन्छौ ।’

माओवादीको नेतृत्व नभएका ठाउँमा भने बिदा छैन । कास्की सहित स्याङजा, पर्वत, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङमा र नवलपुरमा बिदा दिइएको छैन । सर्वोच्च अदालतले दिवस मनाउन रोकेपनि माओवादी निकट विभिन्न संघ संस्थाहरूले सबै जिल्लामा विशेष कार्यक्रम गरेर दिवस मनाउँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप