शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुर र हृदयेश  त्रिपाठी नेतृत्वको पार्टीबिच कार्यगत एकता हुने

बुधबार, ०२ फागुन २०८०, १८ : १६
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र हृदयेश  त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबिच कार्यगत एकता हुने भएको छ ।

कार्यगत एकताको लागि प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले प्रस्ताव गरेको लोसपा स्रोतले जनाएको छ । यस्तै कार्यगत एकता हुन गइरहेको अध्यक्ष त्रिपाठीले पनि बताए । उनले भने, “लोसपा र हाम्रो पार्टीबिच कार्यगत एकता हुन्छ, यसको विषयमा प्रारम्भिक छलफल भइरहेको छ ।“ 

अध्यक्ष त्रिपाठीले एकताको विषयमा अहिले कुनै छलफल नभएको भन्दै गठबन्धन बनाएर मधेसी, आदिवासी जनजाति, उत्पिडत समुदायका लागि संघर्ष गर्ने बताए । मधेसीको राजनीति जातिकरण, द्रवीकरण, भ्रष्टिकरणमा फसेको भन्दै उनले त्यसको मुक्तिका लागि यो गठबन्धनले काम गर्ने बताए ।

२०७४ मा तत्कालीन तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, तराई मधेस सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी मिलेर राजपा नेपाल गठन हुँदा चित्त नबुझेर त्रिपाठीले महन्थ ठाकुरको साथ छाडेका थिए । राजपामा छ जनाको अध्यक्षमण्डल थियो । त्यो अध्यक्षमण्डलमा त्रिपाठी आफू पनि सदस्य रहने चाहना राखेका थिए । तर त्यहाँ ६ जना अध्यक्षहरु मात्र रहने भएपछि त्रिपाठीलाई बाहिर राखेको थियो । पछि उनलाई अध्यक्ष मण्डलको आमन्त्रित सदस्य पनि बनायो तर उनले त्यसलाई स्वीकार गरेनन् ।

त्रिपाठीले राजपा अर्थात महन्थ ठाकुरको साथ छाडेर स्वतन्त्र भई २०७४ मा चुनाव पनि जितेका थिए । त्यतिबेला उनी स्वास्थ्य मन्त्री पनि भए । २०७९ को चुनाव आउँदा उनले आफ्नै नेतृत्वमा जनता प्रगतिशील पार्टी समेत बनाए । त्यसबाट उनले चुनाव पनि लडे तर उनी पराजित भए ।

चुनावपछि उनको प्रगतिशील पार्टी निष्क्रिय छ । अध्यक्ष त्रिपाठी आफ्नै क्षेत्र तथा जिल्लामा बढी समय दिन थालेका छन् । सोही क्रममा त्रिपाठीले लोसपासँग सहकार्य गर्ने प्रस्ताव अघि सारेका छन् ।  

लोसपाका सचिव मनिष मिश्रका अनुसार कार्यगत एकताका लागि दुई पक्षको बिचमा छलफल भइरहेको भएपनि टुंगो नभे लागेको छैन । केही दिनमै यसको टुंगो लागेर घोषणा हुने उनले बताए । दुई पार्टीको बिचमा कार्यगत एकताका लागि साझा एजेण्डामा छलफल भइरहेको छ । मधेस आन्दोलनमा उठेका मुद्दालाई पूर्णता दिलाउन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न, कृषि र किसानको कुरालाई प्राथमिकतामा राख्ने लगायतका साझा एजेण्डामा छलफल भइरहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप