बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
रौतहटमा तनाव

कर्फ्यूबिच मूर्ति सेलाउने योजना, ७ सय प्रहरी परिचालन

आइतबार, ०६ फागुन २०८०, १३ : १५
आइतबार, ०६ फागुन २०८०

रौतहट । रौतहटको ईशनाथ नगरपालिका-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदायबिच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रहरीको २४ घण्टा बढीको प्रयास असफल हुँदा शनिबार दुई समुदायबिच पुनः झडप भएपछि प्रजिअ हिरालाल रेग्मीले एक सूचना जारी गर्दै कर्फ्यू आदेश जारी गरेका हुन् ।

घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रबार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई समुदायबिच झडप भएको थियो। झडपमा दुवै पक्षका मानिसलाई चोटपटक लागे पनि प्रहरीले घाइतेको सङ्ख्या यकिन नभएको जनाएको छ। शनिबार साँझ ५ बजेदेखि लागु हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालको लागि कर्फ्यू आदेश जारी गरिएको छ ।

घिउरा गाउँका स्थानीयले शुक्रबार सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको पोखरीमा जाने क्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेपछि मूर्ति त्यहीँ छेउमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

उक्त क्षेत्रका नेतृत्व गरिरहेका संघीय संसद् किरण साहको पहलमा प्रजिअ रेग्मीको रोहबरमा दुवै पक्षलाई राखेर मूर्ति सेलाउन दिने शनिबार सहमति भएको थियो ।  सहमति विपरीत मुस्लिम समुदायका केही युवाहरूले ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेपछि मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेस प्रदेश प्रमुख डिआईजी दीपेन्द्र साह घटनास्थल पुगेका थिए ।

कर्फ्यू आदेश जारी भएपछि त्यहाँको अवस्था सामान्य बनेको छ। दुवै समुदायका मानिस आआफ्नो घरभित्र बसिरहेका छन्।  हाल कर्फ्यूकै बिच सरस्वतीको मूर्ति सेलाउने योजना प्रहरीको रहेको छ। मूर्ति सेलाउने क्रममा कुनै अप्रिय नहोस् भनेर घिउरा गाउँमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। 

जिल्लाको विभिन्न युनिटदेखि प्रदेशबाट थपिएका नेपाल प्रहरीका पाँच सय र सशस्त्र प्रहरीका दुई सय गरी सातसय जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्। 

ईशनाथ-७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा विवाद सुरु भएसँगै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ स्थलगत खटेका छन्। दुवै समुदायलाई सम्झाई बुझाई बिग्रिएको भाइचारा बनाउन सके ठुलो उपलब्धि हुने श्रेष्ठको भनाई रहेको छ। 

उता स्थानीयले घटनामा प्रहरी मूकदर्शक बन्दै आएको आरोप लगाएका छन्। यसैबिच संघीय सांसद किरण साहले शनिबार भएको दुई पक्षीय सहमति तोड्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन्। उनले ट्याक्टर र डिजेमा भएको तोडफोडको क्षतिपूर्ति दिलाउनसमेत माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप