सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सितापाइला घटना

३ जनाको हत्यापछि काजीको फोन– ‘छोराको भविष्य बनाइदेऊ, बैंकमा पैसा छ’

बुधबार, ०९ फागुन २०८०, २१ : ५६
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । सितापाइलामा श्रीमती, छोरी र नातिनीको हत्यापछि राजु घिमिरे भन्ने काजी बिक फोन गर्दै बाहिर निस्किए । ससुरालाई फोन गरेर उनले छोरीलाई हत्या गरेको सूचना दिए । भने– ‘हत्या गरेको छु, हेर्न जानु ।’

नागार्जुन नगरपालिका–६ भैरवटोल स्थित डेराबाट निस्केपछि उनी फोन गर्दै हिँडेको देखेको स्थानीयहरू बताउँछन् । पत्नी ईश्वरी र दुई नाबालिकालाई हत्या गरेर उनले आत्महत्याको बाटो रोजेका थिए । आफ्ना छोरा (१५ वर्षीय) ले रोक्दा नरोकिएका उनले बाटोमा आफन्त र नातेदारलाई फोन गरेर छोराको भविष्य बनाइदिन अनुनय गरे ।

ईश्वरीकी बहिनीलाई फोन गरेर ‘छोराको भविष्य बनाइदेऊ’ भनेको अडियो रेकर्ड अनुसन्धान अधिकृहरुसम्म पुगेको छ । ७ कक्षामा पढ्ने छोरालाई दुनोट किन्न पठाएर काजीले पत्नी, छोरी र नातिनीको हत्या गरेका हुन् ।

‘दुईवटा बैँकमा पैसा छ, चेकबुक र खाता नम्बर डेरामा छ’ ईश्वरीकी बहिनीलाई फोन गरेर उनले भनेका छन्– ‘बैंकमा पैसा छ, छोराको भविष्य बनाइदेऊ ।’ आफन्तहरूलाई उनले आफू आत्महत्या गर्न लागेको जानकारी गराउँछन् । आफन्तहरूले त्यस्तो निर्णय नगर्नुस्, फर्किनुस् भन्दा उनी मान्दैनन् । नागार्जुन नगरपालिका–५ स्थित जंगलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको छ ।

हत्यापछि आत्महत्या गर्नुको कारण ‘विवाहेत्तर सम्बन्ध’ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।

स्थानीय सुधा तामाङले करिब सवा ११ बजेतिर मानिस झुन्डिएको देखेपछि प्रहरीको कन्ट्रोल रुममा खबर गरेकी हुन् । प्रहरी पुगेर अनुसन्धान गर्दा थाहा भयो सुधाको घरमाथि झुन्डिने व्यक्ति तिनै काजी थिए । जो, केही समयअघि ३ जनाको हत्या गरेर दुई किलोमिटर टाढा गएर आत्महत्या गरेका हुन् ।

ससुराले सिता पाइलामा नै खाजा घर सञ्चालन गरेका छन् । काजीका १५ वर्षीय छोरा ७ कक्षामा पढ्दै छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप