छोरीको विवाह गर्न साढे चार लाख ऋण लिएका रामसुभगले साढे एक बिघा जग्गा गुमाए
काठमाडौँ । नवलपरासी सुस्ता–५ पक्लीहवाका ६४ वर्षीय रामसुभग मुसहर ६ वर्ष अघिसम्म साढे एक बिघाभन्दा बढी जग्गाका मालिक थिए । आफ्नो जमिनको उत्पादनले घर–गृहस्थी चलिरहेकै थियो । यद्यपि छोरीको बिहे गर्न नगद नभएकाले उनले गाउँका सन्दीपप्रसाद जोशीसँग २०७४ सालमा साढे चार लाख रुपैयाँ ऋण लिए, यसबापत उनले जोशीकी श्रीमती रमा जोशीको नाममा आफ्नो साढे १० कट्ठा जग्गा छिनुवा पास गरिदिएका थिए । ६ महिनाभित्र ऋण तिर्नुपर्ने र ऋण तिरेकै दिन जग्गा रामसुभगको नाममा आउने भनिएको थियो ।
ऋणको ब्याज तिरिरहे पनि उनले ६ महिनाभित्र साँवा चुक्ता गर्न सकेनन् । साहु (सन्दीप)ले ऋण तिर्न दबाब दिँदै आएकाले रामसुभगले आफूसँग भएको गाडी बेचे । गाडी बेचेको पैसा १५ दिनपछि आउनेवाला थियो । रामसुभग भन्छन्, ‘६ महिना कटेपछि साहुले पैसा तुरुन्त दिनू, नत्र जग्गा बेचिदिन्छु भन्न थाले । मैले १५ दिन कुर्नुस्, मेरो पैसा आउनेवाला छ भनेको थिएँ तर १५ दिनअगावै उनले जग्गा डाडु तेलीलाई १३ लाख रुपैयाँमा बेचिदिए ।’
आफ्नो जग्गा फिर्ता लिन आफूले सन्दीपलाई १५ महिनाको अवधिमा आठ लाख रुपैयाँ तिरिसकेका रामसुभग बताउँछन् । यसमा सन्दीपले थप १ लाख ४० हजार रुपैयाँ मागे । ‘साढे चार लाख रुपैयाँ ऋण लिएर मैले नौ लाख ४० हजार रुपैयाँ बुझाइसकेको छु । तर साहुले मलाई न जग्गा फिर्ता गरे, न त मैले तिरेको नौ लाख ४० हजार रुपैयाँ । जग्गा र पैसा फिर्ता नआएपछि हर्ट–अट्याक भएर मेरी श्रीमतीको निधन भयो,’ रामसुभग भन्छन्, ‘त्यसपछि मैले प्रहरीलाई उजुरी दिएँ । त्यही आधारमा जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । सन्दीप भने भागेर काठमाडौँ आए र मलेसिया गए ।’
रामसुभगले मिटरब्याजीबाट पाएको पीडा यत्तिमै सीमित छैन । स्थानीय अर्की साहु मनीषा पोखरेलसँग उनले ६ लाख ८३ हजार रुपैैयाँ मागेका थिए । मनीषासम्म उनलाई स्थानीय एक दलालले पु¥याएका थिए । तीन कट्ठा जग्गा धितो राखेपछि सबै रुपैयाँ दिने कुरा भएको थियो, तर जग्गाको छिनुवा पास गराउँदा मनीषाले एक लाख रुपैयाँ मात्रै दिएकी थिइन् । त्यसमा पनि दलालले ७५ हजार रुपैयाँ खाइदिए । रामसुभगको हातमा २५ हजार रुपैयाँ मात्र प¥यो ।
पछि जग्गा फिर्ता नगरी मनीषाले ६ लाख ८३ हजारको चेक रामसुभगलाई दिइन्, चेक गलत भएकाले साटिएन । त्यसपछि रामसुभगलाई साहु र हरिन्द्र यादवलाई ऋणी बनाएर १६ लाख ४० हजार रुपैयाँको तमसुक बनाइयो । किनभने हरिन्द्रले मनीषालाई पैसा तिर्नुपर्ने थियो । मनीषाले नै भनेर हरिन्द्रले तमसुक गरिदिएका थिए ।

तमसुक भएपछि त पैसा आउला भनी रामसुभग ढुक्क भए । दुई वर्ष बित्दा पनि उनले न पैसा पाए, न त जग्गा । २५ हजार रुपैयाँमा मात्रै उनको तीन कट्ठा जग्गा मनीषाले खाइदिइन् ।
छोरालाई मलेसिया पठाउन रामसुभगले अर्का साहु जगदीश बानुसँग दुई वर्षअघि तीन लाख रुपैयाँ ऋण लिएका थिए । त्यसका लागि उनले साढे १० कट्ठा जग्गा बानुको नाममा धितो राखेका थिए ।

राम्रो काम नपाएपछि मलेसिया गएका छोरा तीन महिनामै फर्किए । अब छोरा गएको ऋण तिर्ने भार थपियो । ‘साहु जगदीश बानुले पैसा तिर्न ताकेता गर्न थाले । मैले सात कट्ठा जग्गा बेचेर नौ लाख रुपैयाँ बानुलाई बुझाएँ,’ उनी भन्छन्, ‘साहुलाई त्यतिले पुगेन । थप १० लाख मागे र मेरी श्रीमतीको नाममा रहेको साढे १० कट्ठा जग्गा पनि खाइदिए ।’
अहिले रामसुभग भूमिहीन बनिसकेका छन् । उनको परिवार यतिखेर तनावमा छ । आफ्नो गुमेको जग्गा र पैसा फिर्ता हुने आशा लिएर यतिखेर रामसुभगहरू २० दिन पैदल हिँडेर काठमाडौं आइपुगेका छन् । देशभरका मिटरब्याजी भेला भएर शुक्रबार (११ गते) कलंकीबाट सिंहदरबारसम्म ‘सिंहदरबार मार्चपास’ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण