आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक मोबाइलमा ३०० फिट स्क्रोलिङ गर्छन् मानिसहरू

आइतबार, २० फागुन २०८०, १५ : १६
आइतबार, २० फागुन २०८०

काठमाडौँ । हामीलाई आफ्नै कोर्सको किताब पढ्न अति झन्झट लाग्छ । किताब हेर्नै नपरे पनि हुन्थ्यो जस्तो पनि लाग्दो हो कतिपयलाई त । तर दिनभर मोबाइलमा हामी कति कन्टेन्ट हेर्छौ थाहा छ ? मानिसहरूले मोबाइलमा दैनिक औसत ३०० फिट कन्टेन्ट स्क्रोल गर्ने गरेको सन् २०१७ मै सामाजिक सञ्जाल फेसबुकले बताएको थियो ।

यसको अर्थ हामीले दिनभर मोबाइलमा हेर्ने कन्टेन्टलाई बाहिर निकालेर एउटै लम्बाइमा राख्ने हो भने ३०० फिट परसम्म पुग्न सक्छ । यसको अर्थ त्यतिबेला हरेक महिना हाम्रो औँलाले २ दशमलव ७ किमी कन्टेन्ट स्क्रोल गर्थ्यो । यो त्यति बेलाको कुरा हो जतिबेला रिल वा सर्ट भिडियो हाम्रो मोबाइलको हिस्सा बनिसकेको थिएन । तसर्थ मोबाइल स्क्रोलिङसम्बन्धी यो आँकडा अहिले झनै धेरै हुन सक्छ ।

मोबाइलमा यति धेरै कन्टेन्ट स्क्रोल गर्दा हाम्रो दिमागमा कस्तो बोझ पर्ला ? मोबाइलमा धेरै समयमा बिताउँदा स्क्रोलिङ त बढ्छ नै यसका कारण मानसिक र शारीरिक स्वास्थ्य पनि बिग्रन्छ । योबाट बच्ने एउटै उपाय भनेको ‘माइन्डफुल स्क्रोलिङ’ हो ।

मोबाइल स्क्रोलिङले मुटु– दिमाग र शरीर सबैलाई समस्या उत्पन्न गराउँछ

–डिप्रेसन गराउँछ ।

–एङ्गजायटी हुन्छ ।

–निद्रा नलाग्ने वा निद्रामा गडबडी आउन सक्छ ।

–एक्लोपनाको समस्या निम्त्याउँछ ।

–चिडचिडापन देखिन्छ ।

–स्मरण शक्ति कमजोर हुँदै जान्छ  ।

–सिक्ने क्षमता क्षीण हुँदै जान्छ ।

एउटा रिल हेर्दै गर्दा दोस्रो, तेस्रो, चौथो..... एवम् रितले कति ओटा हेरिन्छ ? कति घण्टा बितिसकेको हुन्छ पत्तै हुन्न । फेसबुक, ट्विटर, इन्ष्टा हरेकमा रिल आउँछन् । रिफ्रेस गरेपिच्छे नयाँ नयाँ रिल आइरहन्छन् । सकिने नामै छैन । जति स्क्रोल गर्‍यो त्यति आइरहन्छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाको एक रिपोर्ट अनुसार कुनै व्यक्ति ६ घण्टा वा सोभन्दा बढी समयसम्म यस्तो सामग्रीमा डुबिरहन्छ भने उसमा तीव्र तनावको जोखिम १० गुणाले बढ्छ । स्क्रोलिङ गर्न थालेको ३० मिनेटपछि नै तीव्र तनाव बढ्न थाल्ने अध्ययनले देखाएको थियो ।

साइकोलोजी टुडेको एक रिपोर्ट अनुसार, भावनात्मक बुद्धिमत्ताको सहायताले सावधानीपूर्वक स्क्रोलिङ गर्न सम्भव छ । तर यसका लागि यी मनोवैज्ञानिक टिप्सहरू पालना गर्न सकिन्छ:

आफ्नो भावना र आवश्यकताहरू बुझ्ने

स्क्रोल गर्न सुरु गर्ने बेलामा नै आफ्नो भावना र आवश्यकताहरूको मूल्याङ्कन गर्नुस् । तपाईं यस्ता सामग्री किन हेर्न खोजिरहनु भएको छ ? पत्ता लगाउन प्रयास गर्नुस् । लामो समयसम्म काम गरेपछि आराम गर्न चाहनुहुन्छ वा कुनै खराब स्मृति बिर्सन चाहनुहुन्छ भने ठीक छ । स्क्रोलिङ गर्नुको वैध कारण छैन र यसको लागि समय उपयुक्त छैन भने स्क्रोलिङ निरर्थक छ भन्ने तपाई आफैंले बुझ्नुहुनेछ ।

मोबाइलमा कन्टेन्ट हेरिरहेको बेलामा आफैँलाई यस्ता प्रश्नहरू सोध्न सकिन्छ

–म यो सामग्री किन हेर्दै छु ?

–के मसँग यसको लागि पर्याप्त समय छ ?

–यो सामग्री हेरेर म कसरी लाभ उठाउन सक्छु ?

–यो सामग्रीले मलाई दिक्क पार्ने, दुखी बनाउने वा निराश त गराउँदैन ?

–यसले मानसिक–शारीरिक स्वास्थ्य र सम्बन्धहरूमा नकारात्मक असर पो पार्छ कि ?

सामग्री बनाउने व्यक्तिको मानसिकता बुझ्ने कोसिस

मोबाइल स्क्रोलिङ गरिरहँदा हामीले हेरिरहेका सामग्री बनाउने व्यक्ति मानसिकता बुझ्नु जरुरी छ । कन्टेन्ट शिक्षाका लागि बनाइएको हो वा मनोरञ्जनको लागि वा कुनै एजेन्डा वा व्यवसाय विस्तारका लागि पो हो कि ? कन्टेन्ट हेर्नु अघि यसको उद्देश्य बुझ्नु, समाचार र भ्युजबीचको भिन्नता अनि सामग्री र विज्ञापन बिचको भिन्नता बुझ्नु जरुरी छ । यसले स्क्रोलिङमा सावधानी अपनाउन सजिलो हुन सक्छ ।

स्क्रोलिङ बानीको अडिट गर्ने

आफूले गत हप्ता, महिना र दिनमा कति स्क्रोल गरियो, स्क्रोलिङ कति घटाउन चाहेको हो यी सबै कुरामा ध्यान दिइयो भने यो बानी कम गर्न सजिलो हुन्छ । लगभग सबै सामाजिक मिडियाहरुमा एपमा बिताइएको समय अनुगमन गर्ने एउटा विकल्प दिइएको हुन्छ । केही एपमा त धेरै चलाएपछि चेतावनीका रूपमा रिमाइन्डर आउने विकल्प पनि हुन्छ । माइन्डफुल स्क्रोलिङका लागि यी एपको सहायता लिन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप