शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छः झलनाथ खनाल

बुधबार, २३ फागुन २०८०, १२ : ०५
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन् । 

वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका उनले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन गरेका हुन् । बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सम्मानित नेता खनालले एमालेसँग एकता गरेर जान नहुने भन्ने नरहेको बताए । 

उनले नेताहरूमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको बताए ।  एकता अंकमाल गरेर, रमाइलोसँग भेटघाट गरेर, लड्डु आदि इत्यादि खाएर नहुने सम्मानित नेता खनालको प्रतिक्रिया थियो । उनले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने स्पष्ट पारे । 

‘एकता भनेको अंकमाल गरेर हुँदैन । एकता भनेको रमाइलोसँग भेटघाट लड्डु आदि इत्यादि खाएर हुँदैन । एकता भनेको वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा एकता हुनुपर्छ । त्यसो हुनाले त्यो कुरामा मिल्दै गयो भने एकता हुन्छ’, उनले भने, ‘अहिले चाहिँ यो कार्यगत एकता हो हेर्नुस् । कार्यगत एकता आफैँमा एउटा महत्त्वपूर्ण स्टेप हो । त्यो स्टेपबाट अगाडि बढ्दै गएपछि कम्युनिष्टहरुको बीचमा, वामपन्थी समूहहरुको बीचमा पार्टी एकीकरणका सम्भावनाहरू बढ्छन् ।’

सम्मानित नेता खनालले कम्युनिष्टहरुबीचको एकताका लागि नेकपा विभाजनका बेला नेताहरूले आ–आफ्नो ठाउँबाट गल्ती गरेको उल्लेख गर्दै कमजोरी सच्याएर अघि बढ्ने संकल्प गर्नुपर्ने आवश्यकता पनि औँल्याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप