सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, २९ फागुन २०८०, २१ : ३९
मङ्गलबार, २९ फागुन २०८०

आज २०८० फागुन २९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • राष्ट्रिय सभा अध्यक्ष बने नारायण दाहाल

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । 

  • नयाँ गृहमन्त्रीका चुनौती

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधान एवं गृहमन्त्री भएका छन् । फागुन २३ मा उनले दोस्रो पटक मन्त्रीको शपथ लिएका हुन् । लामिछाने पहिलोपटक ११ पुस २०७९ मा गृहमन्त्री भएका थिए । पहिलो कार्यकालमा उनी करिब १ महिनामा नै पदमुक्त भए ।

  • बागमती प्रदेश सरकार

बागमती प्रदेशमा सरकार निर्माण तथा निरन्तरताका लागि सत्ता गठबन्धनलाई सहज देखिएको छैन । सत्ता गठबन्धनमा रहेका दलहरू मिल्दासमेत बहुमत पुग्ने अवस्था नभएपछि साना दल खोजेर सत्ता समीकरण मिलाउनुपर्ने बाध्यता छ ।

  • कान्तिपुर सहकारी ठगी प्रकरण

 कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सिबी लामा भन्ने चन्द बहादुर तामाङ एक्लैले निक्षेपकर्ताको एक अर्बभन्दा बढी रकम अपचलन गरेको पाइएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको ठगीको मुद्दामा पूर्वअध्यक्ष रहेका सिबी लामा एक्लैले निक्षेपकर्ताको एक अर्ब भन्दा बढी रकम ठगी गरेको पाइएको हो ।

  • अर्थमन्त्री पुनको प्रतिबद्धता होला पूरा ?

अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेको आज ६ दिन बितेको छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन तोडिएसँगै बनेको नयाँ सत्ता समीकरण माओवादी केन्द्रको तर्फबाट उपमहासचिव पुनले १२ वर्ष पछि पुनः अर्थमन्त्री बन्ने अवसर पाएका हुन् । मन्त्री पुनले २०८० फागुन २३ गते पदभार ग्रहण गरेका थिए ।

  • संघीय निजामती सेवा विधेयक

लामो पहलपछि ‘संघीय निजामती सेवा विधेयक, २०८०’ संसदमा दर्ता भयो । विधेयक दर्ता भएसँगै यसबारे टिप्पणी सुरु भएको छ । मौजुदा ‘निजामती सेवा ऐन, २०४९’ को दफा ९ लाई विधेयकमा परिमार्जन गरिएको छ । दफा ९ मा निजामती सेवाको राजपत्रांकित पदमा नेपाल सरकारले नियुक्ति गर्ने उल्लेख छ । त्यस्तो नियुक्तिको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने भनिएको छ । निजामती सेवाको राजपत्र अनंकित पदमा विभागीय प्रमुख उल्लेख गरिए पनि कार्यालय प्रमुखले आफ्नो र आफ्नो मातहतका कार्यालयका राजपत्र अनंकित र श्रेणीविहीन पदमा नियुक्ति गर्न सक्ने भनिएको छ ।

  • पावर सेयरिङ

 सत्ता साझेदार पाँच दलबिच मंगलबार बिहान सात बुँदे सहमति भयो । जसमा यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिको एक बुँदा हटाइयो । चार दलबिच फागुन २१ गते भएको सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियो ।

  • राप्रपाको ‘निर्णायक’ भूमिका

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघ र प्रदेशको सत्ता राजनीतिमा फरक–फरक नीति अख्तियार गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्दा त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपाले प्रदेशको हकमा भने ‘पर्ख र हेर’को नीति लिएको हो ।

  • राष्ट्रपति पौडेलको एक वर्ष

राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेको फागुन २९ अर्थात् आज ठिक एक वर्ष भएको छ । पोहोर फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले २९ मा पदभार ग्रहण गरेका थिए ।

  • चीनको चासो

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्केर नेकपा एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै नयाँ सरकारबारे लगातार चासो प्रकट गर्दै आएको छ । फागुन २१ गते नयाँ गठबन्धन बनेकै भोलिपल्ट चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नेपालमा गठन हुन लागेको नयाँ सरकारको गठन कार्य सहज रूपमा अगाडि बढ्नेमा आफू आशावादी रहेको बताएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप