आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

नेसपामा बहुमत जुटाउन महिन्द्र पक्षले थाल्यो हस्ताक्षर अभियान, बाबुराम पक्षलाई कारबाही गरिने

मङ्गलबार, ०६ चैत २०८०, ११ : १०
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादव समूहले केन्द्रीय समितिमा बहुमत पुर्‍याउन हस्ताक्षर अभियान सुरु गरेको छ । अध्यक्ष डा. बाबुराम भट्टराई समूहको सोमबार बसेको बैठकले अध्यक्ष महिन्द्रसहितका नेताहरूलाई पदमुक्त गरेपछि हस्ताक्षर अभियान चलाइएको हो ।

महिन्द्र पक्षधरले  मंगलबार बिहान नयाँ बानेश्वरमा आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । नेसपाभित्र बहुमत सदस्य आफूहरूसँग रहेको महासचिव रमेशप्रसाद यादवले दाबी गरे । बाबुरामसहितका नेताहरूलाई कारबाहीको विषयमा पनि बैठकले निर्णय गर्ने उनले बताए । 

‘हामीले हस्ताक्षर गरिरहेका छौँ । निर्वाचन अयोगमा अद्यावधिक भएको केन्द्रीय सदस्यहरूको  सङ्ख्या १६७ जना छ । तीमध्ये हाम्रो पक्षमा एक सय जना छन् । साथीहरू आउँदै हुनुहुन्छ । उहाँहरूलाई कारबाही गर्ने विषयमा बैठकले निर्णय गर्छ’, यादवले भने । 

नेसपामा ९ जनाको पदाधिकारी र २४ जनाको केन्द्रीय कार्यकारिणी समिति समेत रहेका छन् । तीमध्ये आफ्नो पक्षमा पदाधिकारीमा ४ जना, कार्यकारिणी समितिमा १२ जना र केन्द्रीय समितिमा सय जना रहेको उनले दाबी गरे । 

सोमबार बसेको बाबुराम समूहको बैठकले माओवादीसँग एकता गर्ने सहमति खारेज गर्दै माघ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको थियो ।

 शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बाबुरामलाई बाइपास गरेर महिन्द्र पक्षधर नेताहरू र माओवादी केन्द्रबिच एकता गर्ने सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप