शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

महिला अधिकारको प्रसङ्ग उठाउँदै अस्ट्रेलियाले अफगानिस्तानसँग क्रिकेट खेल्न मानेन

मङ्गलबार, ०६ चैत २०८०, १६ : ४१
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । अफगानिस्तानमा मानवअधिकारको व्यापक हनन भइरहेको प्रसंग उठाउँदै अस्ट्रेलियाले निकट भविष्यमा हुने भनिएको अफगानिस्तानविरुद्धको टी–२० शृङ्खला नखेल्ने निर्णय लिएको छ ।

अस्ट्रेलिया र अफगानिस्तानबिच तीन वटा खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेलिने कार्यक्रम थियो । अफगानिस्तानमा खासगरी महिला अधिकारको व्यापक उल्लङ्घन भइरहेको जनाउँदै क्रिकेट अस्ट्रेलियाले शृङ्खला नखेल्ने निर्णय लिएको समाचारमा जनाइएको छ ।

आगामी अगस्तमा अस्ट्रेलियाले ‘न्यूट्रल भेन्यू’ मा अफगानिस्तानसँग टी–२० शृङ्खला खेल्ने घोषणा गरिएको थियो । यसअघि पनि मानवअधिकार उल्लंघनको विषय उठाउँदै अस्ट्रेलियाले अफगानिस्तानमा क्रिकेट खेल्न अस्वीकार गरेको थियो ।

अस्ट्रेलिया र अफगानिस्तानबिच सन् २०२१ मा टेस्ट र सन् २०२३ को मार्चमा एकदिवसीय शृङ्खला खेल्ने प्रस्ताव गरिएको थियो । तर, अस्ट्रेलिया ती दुवै प्रतियोगिता खेल्न अस्वीकार गरेको थियो । क्रिकेट अस्ट्रेलियाले मङ्गलवार विज्ञप्ति जारी गर्दै शृङ्खला रद्द गरिएको जनाएको हो ।

क्रिकेट अस्ट्रेलियाले अस्ट्रेलिया सरकारको चाहना पनि यस्तै रहेको दाबी गरेको छ । ‘हामीले आफ्नो सरकारसँग निरन्तर अफगानिस्तानको अवस्थाको बारेमा जानकारी लिइरहेका थियौँ । सरकारबाट पनि हामीले अफगानिस्तानमा महिला अधिकारको व्यापक हनन भइरहेकाले शृङ्खला नखेल्दा नै उपयुक्त हुने सुझाव पायौँ,’ क्रिकेट अस्ट्रेलियाले भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप