सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारत र पाकिस्तानसहितको त्रिकोणात्मक शृङ्खलाको तयारीमा क्रिकेट अस्ट्रेलिया

बुधबार, १४ चैत २०८०, १४ : ०३
बुधबार, १४ चैत २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितालाई अपवाद मान्ने हो भने दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानले आपसमा क्रिकेट नखेलेको लामै समय बितिसकेको छ ।

भारत र पाकिस्तानबिच लामो समयदेखि चल्दै आएको राजनीतिक तिक्तताका कारण यी दुई राष्ट्रले आपसमा द्विपक्षीय शृङ्खला नखेलेका हुन् । यस्तोमा क्रिकेट अस्ट्रेलियाले भारत र पाकिस्तानलाई समेत समेटेर आफ्नो घरेलु मैदानमा त्रिकोणात्मक शृङ्खला खेल्ने तयारी अगाडि बढाएको छ ।

क्रिकेट अस्ट्रेलियाका सञ्चालन प्रबन्धक पिटर रोचले भारत र पाकिस्तानलाई समेत समेटेर त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने विषयमा आफूहरूले लामो समयदेखि तयारी थालेको बताएका छन् । ‘सम्भावना निकै कम देखिन्छ । हाम्रो घरेलु तालिका पनि निकै व्यस्त छ,’ रोच भन्छन्, ‘तर, हामीले त्रिकोणात्मक शृङ्खलाका भारत र पाकिस्तान क्रिकेट बोर्डसँग कुरा गरिरहेका छौँ ।’

अस्ट्रेलियाले निकट भविष्यमै घरेलु मैदानमा भारत र पाकिस्तानसँग क्रिकेट खेल्दैछ । अस्ट्रेलिया र भारतबिचको पाँच टेस्टको शृङ्खला आगामी नोभेम्बरमा सुरु हुनेछ । पहिलो टेस्ट नोभेम्बर २२ देखि २६ तारिखसम्म पर्थमा खेलिने छ ।

अस्ट्रेलिया र भारतबिचको दोस्रो टेस्ट डिसेम्बर ६ देखि १० तारिखसम्म एडलेइडमा हुनेछ । तेस्रो टेस्ट डिसेम्बर १४ देखि १८ सम्म ब्रिसबेनमा खेलिने छ । चौथो टेस्ट डिसेम्बर २६ देखि ३० तारिखसम्म मेलबर्नमा हुनेछ । पाँचौँ टेस्ट आगामी जनवरी ४ देखि ७ तारिखसम्म सिड्नीमा खेलिने छ ।

त्यसअघि अस्ट्रेलियाले पाकिस्तानसँग पनि घरेलु मैदानमा सिमित ओभरको प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ । अस्ट्रेलिया र पाकिस्तानबिचको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय नोभेम्बर ४ मा मेलबर्नमा खेलिने छ । दोस्रो एक दिवसीय नोभेम्बर ८ मा एडलेइडमा र तेस्रो एक दिवसीय नोभेम्बर १० तारिखमा पर्थमा खेलिने छ ।

त्यसलगत्तै अस्ट्रेलिया र पाकिस्तानबिच तीनवटा टी–२० खेलको अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ । पहिलो टी–२० नोभेम्बर १४ तारिखमा ब्रिसबेनमा खेलिने छ । दोस्रो टी–२० नोभेम्बर १६ मा सिड्नीमा र तेस्रो टी–२० नोभेम्बर १८ मा होबर्टमा खेलिने छ । सोही अवसरमा क्रिकेट अस्ट्रेलियाले त्रिकोणात्मक शृङ्खला पनि खेलाउने तयारी अगाडि बढाएको समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप