आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
टी-२० क्रिकेट

आरिफ शेखको उत्कृष्ट अर्धशतकसँगै नेपालले आयरल्यान्डलाई दियो २१४ रनको लक्ष्य

सोमबार, १९ चैत २०८०, १४ : ४७
सोमबार, १९ चैत २०८०

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार नेपाल ‘ए’ ले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले उत्कृष्ट पाली खेल्दै अविजित ९३ रनको योगदान गरे ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले आक्रामक पाली खेल्दै केवल ४८ बलमा ६ छक्का र सातवटा चौका पनि प्रहार गरे । उनी केवल सात रनका कारण शतक पुरा गर्नबाट चुके । रासिद खानले २४ रन बनाए ।

नवौँ नम्बरमा क्रिज समाल्न आएका कमलसिंह ऐरीले पनि टोलीको खातामा अविजित १९ रन थपे । उनले केवल सात बलको सामना गरी एक छक्का दुई चौका हिर्काए । बसिर अहमदले १९ रन बटुले । पवन सर्राफले १३ रन जोडे । कप्तान विनोद भण्डारी ११ रन बनाउँदै आउट भए ।

ओपनर लोकेश बम आठ र देव खनाल ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । नारायण जोशी भने एक रनमै आउट भए । नेपालले अतिरिक्त रूपमा पनि १९ रन पाएको थियो । आयरल्यान्डका बलर फियोन ह्यान्डले दुई विकेट लिए ।

नेपाल ‘ए’ ले पहिलो विकेटका रूपमा ओपनर देव खनाललाई गुमाएको थियो । देवलाई ६ रनको व्यक्तिगत स्कोरमा आयरल्यान्डका बलर फियोन ह्यान्डले कप्तान निल रकद्वारा क्याच गराएका थिए । दोस्रो ओभरको अन्तिम बलमा देव आउट हुँदा नेपालले केवल १० रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रूपमा अर्का ओपनर लोकेश बमलाई गुमाएको थियो । लोकेश आठ रनको व्यक्तिगत स्कोरमा लियाम म्याकार्थीको बलमा आयरल्यान्डका कप्तान निल रकद्वारा समातिएका थिए । तेस्रो ओभरको दोस्रो बलमा लोकेश आउट हुँदा नेपालले केवल १५ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रूपमा कप्तान विनोद भण्डारीलाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विनोद आठ बलमा एक छक्काको मद्दतले ११ रन बनाउँदै आउट भएका थिए । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले बोल्ड गरेका थिए । ४.५ ओभरमा कप्तान विनोद आउट हुँदा नेपालले ३३ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रूपमा बसिर अहमदलाई गुमाएको थियो । बसिर अहमख २१ बलमा तीन चौकाको मद्दतले १९ रन बनाउँदै आउट भएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनलाई आयरल्यान्डका बलर गाभिन होएले एलबीडब्लूको धरापमा पारेका थिए । १०.२ ओभरमा बसिर अहमद आउट हुँदा नेपालले ८० रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रूपमा पवन सर्राफलाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले १२ बलमा एक चौकाको मद्दतले १३ रन बनाएका थिए । पवनलाई आयरल्यान्डका बलर गारेथ डेलानीले विकेटकिपर निल रकद्वारा स्टम्पिङ गराएका थिए । १४.१ ओभरमा पवन आउट हुँदा नेपालले एक सय २० रन बनाएको थियो ।

त्यसलगत्तै नेपालले आफ्नो छैटौँ विकेट पनि गुमाएको थियो । नेपालले छैटौँ विकेटका रूपमा नारायण जोशीलाई गुमाएको थियो । उनी एक बलमा एक रन बनाउँदै रनआउट भएका थिए । १४.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २१ रन बनाएको थियो ।

नेपालले सातौँ विकेटका रूपमा रासिद खानलाई गुमाएको थियो । उनी उत्कृष्ट ब्याटिङ गर्दै पेभेलियन फर्किएका थिए । उनले केवल १३ बलको सामना गरी तीन छक्काको मद्दतले २४ रन बनाएका थिए । उनलाई आयरल्यान्डका बलर म्याथ्यू फोष्टरले गाभिन होएद्वारा क्याच गराएका थिए । १४.४ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ६७ रन बनाएको थियो ।

तीन खेलको शृङ्खला भने आयरल्यान्ड ‘ए’ ले यसअघि नै जितिसकेको छ । शुक्रबार खेलिएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले घरेलु टोली नेपाल ‘ए’ लाई २१ रनले हराएको थियो । शनिबार खेलिएको दोस्रो टी–२० खेलमा पनि आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई ४० रनले पराजित गरेको थियो ।

सोमबार हुने तेस्रो खेलमा नेपाली टोली सान्त्वना जितेको खोजीमा छ । अर्कोतिर, भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ भने शृङ्खला ‘क्लिन स्विप’ गर्ने दाउमा छ । टी–२० शृङ्खलापछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच तीनवटा एकदिवसीय खेलको शृङ्खला खेलिने छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप