बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

लुम्बिनीमा महरा मुख्यमन्त्री बन्नेमा ढुक्क, यस्तो छ हिसाबकिताब

बिहीबार, २२ चैत २०८०, २२ : ४८
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । लुम्बिनी प्रदेशमा एमाले–माओवादी गठबन्धनबाट सरकार गठन हुनेमा माओवादी केन्द्र ढुक्क देखिएको छ । मङ्गलबार प्रदेश भागबण्डामा लुम्बिनी प्रदेश आफ्नो भागमा परेपछि सरकार गठनमा सक्रिय देखिएको माओवादी बहुमत प्राप्त गर्नेमा ढुक्क देखिएको छ ।

गठबन्धनमा भएको सहमति अनुसार माओवादी संसदीय दलको नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्दैछन् । सङ्घमा सत्ता समीकरण बदलिएसँगै फागुन २२ गते लुम्बिनी सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको थियो ।

कांग्रेसबाट मुख्यमन्त्री भएका डिल्लीबहादुर चौधरी अल्पमतमा परेर बिहीबार राजीनामा दिएसँगै नयाँ प्रक्रिया सुरु भएको छ । अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्तिको आह्वान गर्नेछन् । तर विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेर असफल भएमा सोही धाराको उपधारा ३ बमोजिम संसदमा धेरै सांसद रहेका दलका नेतालाई मुख्यमन्त्री बनाउनुपर्ने संवैधानिक व्यवस्था छ । 

माओवादी लुम्बिनी प्रदेशका इन्चार्ज सुदर्शन बरालले गठबन्धनले बहुमत पाउने सुनिश्चित भएको दाबी गरेका छन् । ‘गठबन्धनबाट बहुमत प्राप्त गर्नेमा हामी सुनिश्चित छौँ । प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नासाथ बहुमतको दाबीसहित निवेदन दिन्छौँ’, रातोपाटीसँग उनले भने ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । जसमा एमालेको २९, माओवादीको सभामुखबाहेक १०, जसपाको ३, एकीकृत समाजवादीको एक गरी ४३ सिट छ । रोल्पा १(२) बाट स्वतन्त्र रूपमा निर्वाचन जितेका दीपेन्द्र पुन पार्टीमै फर्किएकाले गठबन्धनलाई बहुमत पुगेको छ । विपक्षमा कांग्रेसको २७ सिट, नाउपाको ४, राप्रपाको ४, जपाको ३, लोसपाको ३, राजमोको एक सांसद छन् । नाउपा आन्तरिक विवादमा फसेकाले मत दिने वा नदिनेमा अन्योल छ । यद्यपि नाउपाले गठबन्धनलाई नै समर्थन गर्ने माओवादीले विश्वास लिएको छ । राप्रपा अहिलेसम्म तटस्थ देखिएको छ ।

को हुन् भावी मुख्यमन्त्री महरा ?

माओवादीका स्थायी समिति सदस्यसमेत रहेका महरा गत वर्ष मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए । उनले एमालेका उम्मेदवार कमल बुढाथोकीलाई १४ हजार २० को फराकिलो मतान्तरले हराएका थिए । महराले १९ हजार ४२५ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी बुढाथोकीले ५ हजार ४०५ मत पाएका थिए । महरा प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्रका रुपमा चिनिन्छन् ।

महरा २०२० सालमा रोल्पाको सुनिलस्मृति गाउँपालिका–५ (साविक गजुल गाविस–२) मा जन्मिएका हुन् । २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका उनी २०४२ सालमा अनेरास्ववियु दाङका सचिव, २०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य थिए ।

२०५० सालदेखि पार्टीमा पूर्णकालीन सदस्य रहेका उनी २०५१ सालमा माओवादीले सञ्चालन गरेको भूमिगत सशस्त्र विद्रोहमा होमिएका थिए । रोल्पा जिल्ला सेक्रेटरी हुँदै उनी २०५६ सालमा माओवादीको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारीमा पुगेका थिए ।

२०६० सालमा केन्द्रीय सदस्यरहेका उनी २०७८ मा भएको आठौँ महाधिवेशनबाट स्थायी समिति सदस्य भएका थिए । २०६४ सालमा संविधानसभाका समानुपातिक सांसद भएका उनी २०६२ सालदेखि २०६५ सालमा प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रहे । महरा २०७३ सालमा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि स्वकीय सचिव भएका थिए । लामो समय शिक्षण पेसामा लागेका महराले राजनीति शास्त्र तथा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप