बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

डुबान रोक्न इटहरी उपमहानगरले थाल्यो कोरिडोर निर्माण

सोमबार, २६ चैत २०८०, १४ : ०४
सोमबार, २६ चैत २०८०

इटहरी । इटहरी उपमहानगरपालिकाले खोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । अवैध भौतिक संरचना भत्काउन दिएको अल्टिमेटम अटेर गरेपछि उपमहानगर आफैले भत्काउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले बताए । गत मङ्गलवारबाट ताल तलैया क्षेत्रका टेङ्ग्रा खोलाको क्षेत्राधिकार भित्र रहेका अवैध संरचना भत्काउन सुरु गरेको  
उनको भनाइ छ । अहिलेसम्म करिब १ किलोमिटर भन्दा बढी क्षेत्र सफा भइसकेको सफाई अभियानका संयोजक तथा वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले बताए ।

उनका अनुसार टेग्राखोला सफाई अभियानमा ठूलो सङ्ख्यामा जनशक्ति परिचालन गरिएको छ । अमिन र इन्जिनियर सहितको २४ जनाको प्राविधिक टोली काममा खटिएका छन् । २ ग्रुपमा विभाजन भएको प्राविधिक टोलीले फिल्डमा आवश्यक समन्वयको काम गर्छ ।
कानुनी विषयमा कानुनी मामिला शाखाका कमल पोख्रेलले सहजीकरण गर्छन् भने प्रशासनिक शाखाको तर्फबाट सञ्जीव खड्काले आवश्यक समन्वयको काम गरिरहेको उनको भनाइ छ ।

३६ जनाको नगर प्रहरीले बिहान, दिउँसो र बेलुका गरी सुरक्षा दिने गरेको उपमहानगरले जनाएको छ । इटहरी उपमहानगरका ३ स्काभेटर र २ वटा जेसिबीले टेग्राखोलाको क्षेत्राधिकार भित्र रहेका संरचना भत्काउने र सफा गर्ने काम गरिरहेको चौधरीले बताए ।

खोलाको पानी बग्ने भागको ३५ फिट क्षेत्रमा रहेका रुख, बाँसका झ्याङ, अन्य झारपात पनि सफा गर्ने गरिएको छ । अहिले वडा नम्बर ३ क्षेत्रमा सफाइको काम हुँदै भन्दै मुख्य बजार क्षेत्रको टेङ्ग्रा पुलसम्म पुग्ने उनी बताउँछन्। १५ देखि २० दिनभित्रमा टेङ्ग्रा पुलसम्म पुग्ने प्रशासन शाखाका प्रमुख सञ्जीव खड्काले  बताए ।

सोही क्रमले इटहरीको दक्षिणी सीमा जोडिएको स्थान सम्म सफाई गरिने उपमहानगरको योजना रहेको छ । टेँग्राखोलाको मुहानदेखि दक्षिणी सीमासम्म ७४ वटा संरचना खोला मिचेर बनाइएको उपमहानगरले जनाएको छ । ताल तलैयाको मुहानबाट दक्षिणतर्फ खेला धेरै अतिक्रमण गरेको  छ । टेङ्ग्रा कोरिडोरको काम पनि सँगसँगै उपमहानगरपालिकाले डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि टेङ्ग्रा कोरिडोरको योजना अघि सारेको छ ।विश्व बैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माण गर्ने उपमहानगरले योजना बनाएको छ ।
ताल तलैयाको मुहानदेखि दक्षिणी सीमा जोडिएको ठाउँसम्म करिब ९ किलोमिटर क्षेत्रमा कोरिडोर निर्माण हुने उपमहानगरले जनाएको छ ।

मेयर पौडेलले भने, ‘पानी बग्ने खोलाको भागलाई ३५ फिट छुट्ट्याइएको छ । त्यहाँबाट दायाँ बायाँ २०÷२० फिट थप कोरिडोरका लागि सफा गर्ने काम पनि हुँदै छ । कोरिडोरका लागि वाल लगाउने जेसिबी र स्काभेटरले खन्दै पनि आएको छ ।’

खोला सफाई र साइड क्लियरेन्सको काम सकिन साथ विश्व बैङ्कको प्राविधिक टोलीले कोरिडोर क्षेत्रको निरीक्षण गर्ने प्रशासन शाखाका प्रमुख सञ्जीव खड्काले जानकारी दिए । आर्थिक वर्षमा यो काम सम्पन्न गर्ने लक्ष्य साथ काम अगाडि बढाइएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप