आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

नर्वेमा नेपाली नाटक ‘गुलाफ’

बिहीबार, १० जेठ २०८१, १२ : ४०
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । नाटक ‘गुलाफ’ नर्वेको राजधानी ओस्लोमा मञ्चन हुने भएको छ । अंग्रेजीमा ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ नाम दिइएको नाटक ओस्लोको थिएटर मनुमा आज बिहीबारदेखि तीन दिन नियमित मञ्चन हुन लागेको हो ।

रामहरि ढकालको परिकल्पना, डिजाइन र निर्देशन रहेको नाटक मञ्चनका लागि नेपाली कलाकारको टोली ओस्लो केही दिन अगाडि पुगेका थिए । कलाकार टोलीमा दिया मास्के, सरित साह, देव न्यौपाने, केदार श्रेष्ठ र उमेश तामाङ रहेका छन् ।

नर्वे सरकारको कला र संस्कृति सम्बन्धी संस्था ‘आर्ट एन्ड कल्चर नर्वे’को सहयोगमा तथा नोर्दिक कल्चर फण्ड र फुक नो नर्वेको साथमा नाटक ‘द रोज’को मञ्चन हुन लागेको हो । नाटकको नर्वे मञ्चनमा नर्वेलीहरु र नर्वेमा रहेका नेपालीहरू दुवैलाई लक्षित गरेर मञ्चन गरिन लागेको हो ।

नाटक थिएटरको ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको छ । जसमा संवाद छैन । तर दृश्यहरूले कथा बोल्नेछ । सिद्धार्थ गौतमले आफ्ना प्रश्नहरूको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले आफ्नो विषय बनाएको छ ।

त्यस चरम पीडा र बिछोडको कारणले राजकुमार सिद्धार्थकी पत्नी यशोधराभित्र सिर्जित भावनाहरू, विकारहरू र त्यसले पारेको प्रभाव र परिवर्तनहरू नै यो नाट्य प्रस्तुतिको मूल विषय हो । यसमा यशोधराको पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई शारीरिक भावभङ्गीमार्फत उजागर गर्ने कोसिस गरिएको छ ।

‘द रोज’को मञ्च नाटकघरको बीचमा तयार पारिएको छ । जसमा मञ्चको चारैतिरबाट  दर्शकले अवलोकन गर्न सक्नेछन् । नाटक हेर्न एक शोमा बढीमा ६४ जनाले मात्र प्रवेश पाउनेछन् ।

नाटक गत पुसमा ठेट्ना आर्ट्सको प्रस्तुतिमा काठमाडौँको मण्डला नाटक घरमा१४ शो नियमित मञ्चन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप