बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पाकिस्तानी क्रिकेट टोलीमा परिवर्तन

बाबर आजमप्रति विश्वका चर्चित क्रिकेटरहरूको सहानुभूति

इङ्ल्यान्डका पूर्वखेलाडी माइकल भन्छन्, ‘आश्चर्यको अर्को नाम पाकिस्तानी क्रिकेट’
सोमबार, २८ असोज २०८१, १६ : ३५
सोमबार, २८ असोज २०८१

काठमाडौँ । इङ्ल्यान्डका चर्चित पूर्वक्रिकेटर माइकल भनले आश्चर्यको अर्को नाम पाकिस्तानी क्रिकेट भएको टिप्पणी गरेका छन् । उनले हालै पाकिस्तानी क्रिकेट टोलीमा गरिएको परिवर्तनलाई लिएर यस्तो प्रतिक्रिया दिएका हुन् ।

हालै मुल्तानमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा पाकिस्तानी टोली इङ्ल्यान्डसँग एक पाली र ४७ रनको विशाल अन्तरले पराजित भएको थियो । त्यो लज्जास्पद हारलगत्तै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले राष्ट्रिय टोली छनोट समितिमा व्यापक परिवर्तन गरेको थियो ।

नयाँ छनोट समितिको सिफारिसमा पूर्वकप्तान बाबर आजम, साहिन शाह अफरिदी, नसिम शाह, सरफराज अहमदजस्ता अनुभवी खेलाडीलाई पाकिस्तानी टोलीबाट हटाइएको थियो । पीसीबीले यी तीनैजना खेलाडीलाई केही समयका लागि आराम दिइएको बताएको छ ।

पीसीबीको सोही निर्णयलाई लिएर इङ्ल्यान्डका पूर्वखेलाडी माइकल भनले आश्चर्यको दोस्रो नाम पाकिस्तानी क्रिकेट भएको टिप्पणी गरेका हुन् । उनले एकैपटक बाबर आजम, साहिन शाह अफरिदी, नसिम शाहजस्ता अनुभवी खेलाडीलाई टोलीबाट हटाइने पीसीबीको मूर्खतापूर्ण निर्णय भएको टिप्पणी पनि गरेका छन् ।

इङ्ल्यान्डविरुद्धको दोस्रो र टेस्टका लागि टोलीबाट हटाइएका खेलाडीहरूले पनि पीसीबीको उक्त निर्णयप्रति निराशा व्यक्त गरेका छन् । माइकल भनले पनि खेलाडीकै पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । भनका अनुसार, खेलाडीले आरामका लागि समय नमागेसम्म एकैपटक यति धेरै अनुभवी खेलाडीलाई टोलीबाट हटाउनु गलत निर्णय हो ।

‘लामो समयदेखि पाकिस्तानको प्रदर्शन सन्तोषजनक छैन । अहिले इङ्ल्यान्डविरुद्ध टेस्ट शृङ्खला खेलिरहेको छ । पहिलो टेस्टमा नमिठो पराजय पनि भोगेको छ । बाँकी दुई टेस्ट पाकिस्तानका लागि निकै महत्त्वपूर्ण छ । त्यसैले यस्तो अप्ठ्यारो स्थितिमा अनुभवी खेलाडीहरूलाई टोलीबाट हटाउनु मूर्खतापूर्ण निर्णय हो । मेरो विचारमा पाकिस्तानी क्रिकेटमा जे पनि सम्भव छ । त्यसैले आश्चर्यको अर्को नाम पाकिस्तानी क्रिकेट हो,’ भनले भनेका छन् ।

यसैगरी, भारतीय क्रिकेट टोलीका पूर्वब्याट्सम्यान आकाश चोपडाले पनि बाबर आजमलगायतका अनुभवी खेलाडीलाई एकैपटक टोलीबाट हटाइनु गलत निर्णय भएको बताएका छन् । उनले बाबर आजम सर्वकालीन महान खेलाडीमध्येको एक भएको प्रतिक्रिया पनि दिएका छन् ।

3 Aakash Chopra

‘कुनै पनि खेलाडीको प्रदर्शन सधैँ एकनासको हुँदैन । केही खेलमा खराब प्रदर्शन गरेकै आधारमा सर्वकालीन महान खेलाडीमध्येका एक बाबर आजमलाई अप्रत्याशित रुपमा टोलीबाट हटाइनु सर्वथा गलत निर्णय हो । यो निर्णयले अन्ततः समग्र पाकिस्तानी क्रिकेटलाई नै घाटा पुर्‍याउँछ,’ उनले भनेका छन् ।

यसैगरी, अस्ट्रेलियाका पूर्वखेलाडी ब्राड हजले पनि बाबर आजमलाई अप्रत्याशित रुपमा टोलीबाट हटाउने निर्णय गलत भएको टिप्पणी गरेका छन् । उनले यो निर्णयले पाकिस्तानी क्रिकेटलाई घाटा पुर्‍याउने धारणा पनि व्यक्त गरेका छन् ।

2 Brad Hodge

४९ वर्षीय ब्राड हज पछिल्लो समय नेपालमा आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) सँग जोडिएका छन् । उनलाई सुदूरपश्चिम रोयल्सले आफ्नो प्रमुख मेन्टरमा नियुक्त गरेको छ । हज आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप