९० वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय
डडेल्धुरा । सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ । तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रूपमा सक्रिय छन् । यो उमेरमा उनले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आएका छन् ।
उनले ४० रोपनी जग्गामा तरकारीखेती गरेका छन् । तरकारीबाटै वार्षिक रु १० लाख आम्दानी लिने गरेको उनले बताए । विगत ३० वर्षदेखि भट्टले खसीबाख्रा र भैँसीपालन गर्दै आएका छन् । हाल उनको गोठमा ५० वटा खसीबाख्रा छन् । तीन वटा उन्नत जातका भैँसी छन् । घरका भित्ताभरी माहुरीका आधुनिक तथा परम्परागत घार छन् । आँगनको कुनामा खरायोका खोर छन् ।
कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उनले बताए । “सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिन्न”, उनले भने, “यही काम गर्दागर्दै मर्न परोस् अरू मलाई केही चाहिएन ।”
खेती र पशुपालनबाटै आर्थिक रूपमा सम्पन्न उनले गाउँघरका छिमेकीलाई सङ्कट पर्दा सरसापटी दिने गर्छन्। उनको जाँगर देख्ने जोकोहीले प्रेरणा लिने गरेको स्थानीय दुर्गा भट्टले बताए ।
उनले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिएका छैनन् । तर माहुरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आशामा उनी छन् ।
भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ । बजारमा पाइने नयाँ बीउ, मल, विषादीले पनि असर गरेको उनको अनुभव छ । पहिले–पहिले पाँच किलोसम्मको काउली उत्पादन हुने उनको बारीमा आजभोलि त्यत्रो काउली फल्दैन । पहिलेको परिमाणमा भैँसीले दिने दूध नै घटेको उनले बताए । “कतै पछिल्लो समयमा आएका यी विकासे घाँसले दूधको उत्पादन घटाएको त होइन ?”, उनले भने ।
देशमै व्यावसायिक कृषि गर्न सके केही हदसम्म रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । आफ्नै देशमा पसिना बगाउन सके सोहीअनुसार फल प्राप्त गर्न सकिने उनको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण