१० बजे, १० समाचार
आज मिति २०८१ साल कात्तिक महिनाको १६ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. सात दलको नाम परिवर्तन
निर्वाचन आयोगले दिएको निर्देशन पश्चात् ७ वटा राजनीतिक दलले आफ्नो नाम परिवर्तन गरेका छन् । आयोगले असोज २२ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको १८ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको छ ।
२. तिहारमा मूल्यवृद्धि
तिहारमा माछाको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूची अनुसार २ देखि ७ प्रतिशतसम्म माछाको मूल्य वृद्धि भएको हो ।
यस वर्ष तिहारमा भाइ मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ । काठमाडौँको असनमा वर्षौँदेखि भाइ मसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरूले गत वर्ष भन्दा यस वर्ष भाइ मसलाको मूल्य बढेको बताएका हुन् ।
नेपालमा तिहारमा अत्यधिक खपत हुने कुचो अन्य बेला भारत निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को तीन महिनामा ३३ करोड ७ लाख रुपैयाँको कुचो निर्यात भएको हो ।
३. २७ वर्षदेखि एउटै मन्त्रालयमा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ढोकाभित्र प्रवेश गर्ने बित्तिकै ठुलो फ्रेममा एउटा फोटो देखिन्छ । फोटोको क्याप्सनमा लेखिएको छ, ‘आर्थिक वर्ष २०८०–०८१ का उत्कृष्ट कर्मचारी– पदमकान्त तिमिल्सिना ।’
मन्त्रालयका यी उत्कृष्ट कर्मचारीलाई भेटन समय लिनुपर्दैन । उनी मन्त्रालयमा यता–उता, तल–माथि हतारहतार कुदिरहेको अवस्थामा भेटिन्छन् ।
मन्त्रालयको प्यासेजमा हतारोमा भेटिएका यी उत्कृष्ट कर्मचारीसँग कतै बसेर कुरा गर्न खोज्दा उनले भने, ‘सर ! मेरो कार्यकक्ष केही छैन । सिङ्गो अफिस नै पिउनको कार्यकक्ष । जुन–जुन कोठाबाट चिया भन्छन्, त्यहाँसम्म चिया पुर्याउँछु । अरु पिउन पढे–लेखेका छन्, चिया पकाउन मान्दैनन् । हलमा कार्यक्रम भएका बेला पनि म नै पुग्नुपर्छ । मलाई एउटा फोन किन्दिएका छन् । फोन आउनेबित्तिकै म पुगिहाल्नुपर्छ ।’ उनी २७ वर्षदेखि सोही मन्त्रालयमा कार्यरत छन् ।
४. पिक डिमान्ड १६०२ मेगावाट रेकर्ड
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६.२५ बजे पिक डिमान्ड १६०२ मेगावाट रेकर्ड गरिएको हो ।
५. नेपालको सानदार जित
नेपालले इंग्ल्याण्डविरुद्ध सानदार जीत निकालेको छ । हङकङ इन्टरनेशनल सिक्सेज क्रिकेटमा नेपालले इंग्ल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो ।
६. सहकारीका नेता हिनामिनामा मुछिए
नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय महासचिव तथा कोशी प्रदेश बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष घनश्याम अधिकारीमाथि सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ । अधिकारी नेकपा एमालेका कोशी प्रदेश समिति सदस्य पनि हुन् ।
७. अनुसन्धानमा आलटाल
झापाको दमक नगरपालिका वडा नम्बर–३ स्थित मावाखोलामा देशु भनिने यामु निरौलाको हत्याबारे अनुसन्धान गर्न प्रहरीले आलटाल गरेको आरोप छ । दमक नगरपालिका–९ घर भएका ३७ वर्षीय निरौलाको कार्तिक ६ मा हत्या भएको थियो ।
निरौला पहिले जग्गा किनबेच गर्ने व्यवसाय गर्थे । मावा खोलास्थित मिक्लाजुङ जोड्ने पुल छेउको जग्गाबारे विवाद हुँदा ७ जना मिलेर उनको हत्या गरेका हुन् । जग्गामा रहेको पुरानो क्रसरको सामान बेच्न प्रस्ताव आएपछि सामान हटाउन उनी त्यहाँ पुगे । सो ठाउँमा अर्को समूहले क्रसर चलाउन सामान राखेको थियो । दुई समूहको बिचमा जग्गाको स्वामित्वबारे विवाद सुरु भएपछि कुटाकुट हुँदा उनको हत्या भएको हो ।
हत्या भएपछि इलाका प्रहरी कार्यालय दमकका डीएसपी निशान थापाले झापाका दुई जना एमालेका कार्यकर्ताविरुद्ध जाहेरी लिन अस्वीकार गरे । डीएसपी थापाले बुद्धि थापा र नम चेम्जोङको नाम हटाएर जाहेरी ल्याउन भनेका हुन् । उनीहरू एमालेका कार्यकर्ता हुन् । थापा एमाले प्रदेशसभा सदस्य होमबहादुर थापाका भाइ हुन् । उनको झापाका एमाले इन्चार्ज रोमनाथ ओलीसँग पनि नाता पर्छ । चेम्जोङचाहिँ एमालेको भातृ सङ्गठन युवासंघका पूर्व केन्द्रीय सदस्य हुन् ।
थप समाचार
८. बढ्दो डेंगु जोखिम
नेपालमा हालसम्म २८ हजार २१२ जनामा डेंगु सङ्क्रमण देखिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार भदौदेखि कार्तिकसम्म बढी मात्रमा डेंगु सङ्क्रमण फैलिन्छ । तर यसपालि वर्षा लम्बिएका कारणले डेंगु जोखिम पनि बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताएका छन् ।
९. उम्मेदवार सिफारिस
नेकपा (एमाले)ले मंसिरमा हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
एमाले कीर्तिपुर नगर कमिटीको शुक्रबार बसेको बैठकले डा मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जानकारी दिए । डा मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुन् ।
१०. पोखरा महानगरमा विवाद
पोखरा महानगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठक एमालेले बहिष्कार गर्यो । बैठकले करार कर्मचारी हटाउने निर्णय गरेको थियो । उक्त प्रस्तावमा एमालेको सुरुदेखि नै विरोध छ ।
पोखरा महानगरले मङ्सिर १ गतेदेखि २८ जना प्राविधिक र ७ जना शिक्षिका तथा सामाजिक परिचारिका हटाउने र बिस्तारै अन्य कर्मचारी पनि हटाउँदै जाने निर्णय गरेको हो । तर एमाले भने सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण नै नगरी कर्मचारी हटाउने निर्णय गर्नु गलत भन्दै विरोधमा छ ।
यो पनि छुट्यो कि !