पृथ्वी जयन्तीमा ‘पृथ्वीनारायण शाह’ पुस्तक
काठमाडौँ । नेपाली इतिहास, संस्कृति र पुरातत्वका विविध क्षेत्रको अनुसन्धानमा सक्रिय विद्वान् महेशराज पन्तले पृथ्वीनारायण शाहबारे पुस्तक तयार पारेका छन् । पुस्तक पब्लिकेसन नेपालयबाट यही पुस २७ मा पृथ्वी जयन्तीका दिन बजारमा आउने भएको छ ।
नेपालको आधुनिक इतिहास निर्माण गर्ने श्रेय पाएका राजा पृथ्वीनारायण शाहका कदम एवं भूमिकाबारे विभिन्न पाटोबाट चर्चा परिचर्चा चलिरहेकै छ । इतिहास उत्खनन् र त्यसको तथ्यसंगत पुनर्लेखनमा राणाकालदेखि नै सक्रिय मुलुककै अग्रणी संस्था संशोधन मण्डललाई नेतृत्व दिँदै आएका पन्तले यो पुस्तक तयार पारेका हुन् । यसमा पन्तले झण्डै आधा शताब्दी लगाएर पृथ्वीनारायण शाहबारे गरेका खोजी अटाएका छन् ।
पन्तले २०२९ सालदेखि २०७६ सालसम्म पृथ्वीनारायण शाह र उनको काम वरिपरि रहेर लेखेका थुप्रै आलेखबाट छनौट गरिएका ११ लेखको विस्तारित–परिमार्जित–अनूदित रूप पुस्तकमा समेटिएको छ । नेपालको आधुनिक इतिहास पृथ्वीनारायण शाहबाटै सुरु हुने भएकाले उनको कामलाई नबुझी नेपाल बुझ्न नसकिने पन्त बताउँछन् ।
‘पृथ्वीनारायण शाहको समयका आधिकारिक सामग्रीको परिशीलन गरी पृथ्वीनारायण शाहबारे चल्दै आएका विभिन्न भ्रम चिर्दै वस्तुस्थिति खोतल्ने काम यस पुस्तकमा गरिएको छ,’ पन्त भन्छन्, ‘यतिबेला यस विषयमा धेरै चासो रहे तापनि तात्कालिक सामग्रीका अनुशीलनको अभाव भएकाले मैले यसलाई पुस्तकाकार दिने निधो गरेको हुँ ।’
‘पृथ्वीनारायण शाहमा ‘इतिहासको चेतना’, ‘पृथ्वीनारायण शाह पहिले नायक, अनि प्रतिनायक, अहिले नायकदेशीय’, ‘एकीकरण दिवस कहिले ?’, ‘के पृथ्वीनारायण शाहको उपदेश नकली हो ?’, ‘पृथ्वीनारायण शाहको उपदेशको औचित्य’, ‘आज्ञापत्र, उपदेश र राजविधानसार’, ‘जर्ज किन्लकको डायरी’, ‘पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूका नाक काटे कि काटेनन् ?’, ‘नाकाबन्दी र पृथ्वीनारायण शाह’, ‘काठमाडौंमा द्यौभाजू र पृथ्वीनारायण शाह’, ‘भक्तपुर विजयको प्रत्यक्ष वर्णन’ जस्ता शीर्षक पुस्तकमा छन् ।
यसबाहेक पृथ्वीनारायण शाहले आफू दिवंगत हुनु केहीअघि आफ्ना भाइभारदारबिच नुवाकोट दरबारमा गरेको भाषण अर्थात् चल्तीको भाषामा दिव्योपदेशको सम्पूर्ण पानाको फोटो तथा पूर्णपाठ पनि पुस्तकमा समेटिएको छ । आउँदो शनिबार पृथ्वी जयन्तीसमेत परेको हुँदा त्यसै दिनदेखि यस पुस्तकलाई बजारमा उपलब्ध गराउने योजना नेपालयको छ । पुस्तक एक सय ३३ पृष्ठको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण