धरौटीमा छुटेका रवि घर पुगे, शुक्रबार काठमाडौंं जिल्ला अदालत उपस्थित हुने

काठमाडौं । सूर्यदर्शन सहकारीको बचत रकम अपचलनलगायत मुद्दामा धरौटीमा रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।
अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेश अनुसार ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट छुटेका थिए । लामिछानेसँगै एउटै मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् ।
लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी र्दिए ।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईँले भने तत्काल धरौटी बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ ।
अदालतमा दश दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने बताइएको छ ।
यसैबीच, रवि लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले शुक्रबार फेरि आफैं काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने बताइएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार रवि आफैंले जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने भनेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
धवलपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित
-
मनसुनको प्रभाव : बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा
-
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक