सहज छैन सलाहको यात्रा, केन र लेवान्डोवस्कीदेखि एमबाप्पेसम्म छन् दौडमा
काठमाडौँ । युरोपका विभिन्न राष्ट्रमा आयोजना हुने चर्चित घरेलु लिग फुटबल प्रतियोगिताहरु उत्तरार्धतर्फ लम्किएका छन् । खासगरी युरोपका पाँच प्रमुख लिगमा सन् २०२४–२५ सिजनको आधाभन्दा बढी खेल सकिएका छन् ।
इङ्लिस प्रिमियर लिगमा २७औँ चरणको खेल चलिरहेको छ । अब अधिकांश क्लबले ११–११ खेलमात्र खेल्न बाँकी छ ।
स्पेनिस ला लिगामा अधिकांश क्लबले २५औँ चरणको खेल खेलिसकेका छन् । अब सहभागी २० क्लबले १३–१३ खेल खेल्न बाँकी छ । यसैगरी, जर्मन बुन्डेसलिगामा अधकांश क्लबले २३ औँ चरणको खेल टुंग्याएका छन् । सहभागी १८ क्लबले अब ११–११ खेल खेल्न बाँकी रहेको छ ।
फ्रेन्च लिग फुटबलमा पनि सहभागी १८ वटै क्लबले २३ खेल खेलिसकेका छन् । फ्रेन्च लिगमा अब प्रत्येक क्लबले ११–११ खेल खेल्न बाँकी छ । यसका अतिरिक्त, इटालियन सिरिए फुटबलमा पनि अधिकांश क्लबले २६औँ चरणको खेल खेलिसकेका छन् । सहभागी २० क्लबले अब १२–१२ खेल खेल्न बाँकी छ ।
यसरी युरोपका पाँच चर्चित घरेलु लिग उत्तरार्धतर्फ लम्कँदा यो सिजन ‘गोल्डेन सु’ पाउने सम्भावित खेलाडीको चर्चा पनि सुरु भएको छ । युरोपियन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रत्येक वर्ष ‘गोल्डेन सु’ अवार्ड प्रदान गरिन्छ ।
‘युरोपियन गोल्डेन बुट’ का नामले पनि परिचित यो युरोपेली फुटबलको निकै पुरानो अवार्ड हो । यो अवार्डको स्थापना सन् १९६७–६८ सिजनमा भएको हो । यो अवार्ड जित्ने खेलाडीलाई सुनौलो रङको फुटबल बुट प्रदान गरिन्छ ।
यो अवार्ड सोलियन डी’ओरको नामले पनि प्रख्यात छ । पहिले यो अवार्ड युरोपका सम्पूर्ण घरेलु लिगलाई आधार बनाएर प्रदान गरिन्थ्यो । तर, सन् १९९७ देखि भने युरोपका चर्चित पाँचवटा लिगलाई अवार्डको आधार बनाइन्छ ।
अवार्डमा मेस्सी र रोनाल्डोकै दबदबा
यो अवार्ड सबैभन्दा बढीपटक जित्ने खेलाडी अर्जेन्टिनी स्टार लियोनल मेस्सी हुन् । लामो समय स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका मेस्सीले हालसम्म ६ पटक यो अवार्ड जितिसकेका छन् । उनले सन् २००९–१०, सन् २०११–१२, सन् २०१२–१३, सन् २०१६–१७, सन् २०१७–१८ र सन् २०१८–१९ सिजनमा यो अवार्ड जितेका थिए ।
यसैगरी, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पनि हालसम्म चारपटक यो अवार्ड जितिसकेका छन् । उनले लामो समय इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड, स्पेनको रियल म्याड्रिड र इटालीको युेभन्ट्सबाट युरोपियन लिग खेलेका थिए । रोनाल्डोले सन् २००७–०८, सन् २०१०–११, सन् २०१३–१४ (संयुक्त रुपमा) र सन् २०१४–१५ सिजनमा यो अवार्ड चुमेका थिए ।
यसका अतिरिक्त पोर्चुगलका पुर्वखेलाडी युसेबियो, जर्मनीका पूर्वखेलाडी गर्ड मुल्लर, पोर्चुगलका फर्नान्डो गोमेज, फ्रान्सका थिएरी हेनरी, उरुग्वेका लुइस स्वारेज, पोल्यान्डका रोबर्ट लेवान्डोवस्की लगायतका खेलाडीले यो अवार्ड दुई–दुईपटक जितिसकेका छन् ।
क्लबका आधारमा सबैभन्दा बढी अवार्ड जित्ने बार्सिलोना हो । बार्सिलोनाका तीन खेलाडीले हालसम्म आठपटक अवार्ड जितेका छन् । जर्मन क्लब बायर्न म्युनिखका तीन खेलाडीले हालसम्म पाँचपटक यो अवार्ड हात पारेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडका दुई खेलाडीले हालसम्म चारपटक यो अवार्ड कुम्ल्याएका छन् ।
बायर्न म्युनिखका खेलाडीलाई फापेको अवार्ड
अघिल्लो पाँच सिजनको अवस्था नियाल्दा रोबर्ट लेवान्डोवस्कीले लगातार दुईपटक तथा सिरो इम्मोबाइल, अर्लिङ हाल्यान्ड र ह्यारी केनले एक–एकपटक यो अवार्ड चुमेका छन् । सिरोले सन् २०१९–२०, लेवान्डोवस्कीले सन् २०२०–२१ र सन् २०२१–२२, हाल्यान्डले सन् २०२२–२३ र ह्यारी केनले सन् २०२३–२४ मा यो अवार्डमाथि कब्जा जमाएका थिए ।
पछिल्लो चारमध्ये तीन अवार्ड बायर्न म्युनिखका खेलाडीले जितेका छन् । लेवान्डोवस्की र ह्यारी केनले बायर्न म्युनिखकै लागि खेल्दा यो अवार्ड हात पारेका हुन् ।
आगामी सिजनको सम्भावित विजेता
आगामी सिजनको अवार्डमा पनि ह्यारी केन, रोबर्ट लेवान्डोवस्की र अर्लिङ हाल्यान्ड बलियो दाबेदारका रुपमा देखिएका छन् । इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली सदस्य ह्यारी केन अहिले पनि बायर्न म्युनिखमै छन् भने लेवान्डोवस्की बायर्न म्युनिख छाडेर बार्सिलोना पुगिसकेका छन् । हाल्यान्ड भने अहिले पनि म्यानचेस्टर सिटीमै छन् ।
तर, आगामी सिजनको अवार्ड जित्न यी तीन खेलाडीका लागि सोचेजस्तो सहज भने छैन । हालसम्मको स्थितिलाई हेर्दा लिभपुरका इजिप्सियन स्ट्राइकर मोहम्मद सलाहले केन, लेवान्डोवस्की र हाल्यान्डलाई पछाडि पारेका छन् । हालसम्मको स्थितिमा केन, लेवान्डोवस्की र हाल्यान्डभन्दा सलाहले बढी गोल गरेका छन् ।
० मोहम्मद सलाह : यो सिजन लिभरपुल प्रिमियर लिग उपाधि जित्ने अभियानमा निकै बलियो देखिएको छ । लिभरपुलको यो यात्रामा मोहम्मद सलाहको योगदान निकै महत्वपूर्ण रहेको छ । सलाहले यो सिजनमा हालसम्म २५ गोल गरिसकेका छन् ।

० ह्यारी केन : जारी सिजनको जर्मन बुन्डेस लिगमा बायर्न म्युनिखले आफ्नो निकट्तम प्रतिद्वन्द्वीसँग आठ अंकको अग्रता लिइसकेको छ । बायर्न म्युनिखको यो यात्रामा ह्यारी केनको योगदान महत्वपूर्ण रहेको छ । ह्यारी केनले यो सिजन हालसम्म २१ गोल गरिसकेका छन् । उनले तीनवटा ह्याट्रिक पनि गरिसकेका छन् ।

० रोबर्ट लेवान्डोवस्की : रोबर्ट लेवान्डोवस्की हाल बार्सिलोनामा आबद्ध छन् । उनी सन् २०२२ मा बायर्न म्युनिख छाडेर बार्सिलोना पुगेका हुन् । बार्सिलोनामा समेत उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यो सिजन लेवान्डोवस्कीले २० गोल गरिसकेका छन् । बार्सिलोना हाल २५ खेलबाट ५४ अंक बटुल्दै ला लिगा तालिकाको पहिलो स्थानमा छ । समान खेलबाट समान अंक जोडेको रियल म्याड्रिड दोस्रो स्थानमा छ ।

० माटेओ रेटेगुई : इटालीका २५ वर्षीय स्ट्राइकर माटेओ रेटुगुई इटालियन सिरिए क्लब एटलान्टाबाट व्यसायिक फुटबल खेल्छन् । जारी सिजनको घरेलु लिगमा एटलान्टाले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । एटलान्टा २६ खेलबाट ५४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । एटलान्टालाई यो स्थितिमा ल्याउन रेटेगुईको योगदान महत्वपूर्ण छ । उनले यो सिजन २० गोल गरिसकेका छन् ।

० अर्लिङ हाल्यान्ड : नर्वेका प्रभावशाली खेलाडी अर्लिङ हाल्यान्डले सन् २०२२ देखि म्यानचेस्टर सिटीबाट व्यवासायिक फुटबल खेल्दै आएकाछन् । म्यानचेस्टर सिटी जारी सिजनको लिगमा २६ खेलबाट ४४ अंक जोड्दै चौथो स्थानमा आसिन छ । म्यान सिटीको थुप्रै सफलतामा हाल्यान्डको योगदान महत्वपूर्ण रहँदै आएको छ । उनले यो सिजन हालसम्म १९ गोल गरिसकेका छन् ।

० अलेक्जेन्डर इसाक : स्विडेनका अलेक्जेन्डर इसाक हाल इङ्लिस क्लब न्युक्यासल युनाइटेडबाट व्यवसायिक फुटबल खेल्छन् । यो सिजनको प्रिमियर लिगमा न्युक्यासल युनाइटेड २६ खेलबाट ४४ अंक जोड्दै पाँचौँ स्थानमा छ । न्युक्यासल युनाइटेडका लागि २५ वर्षीय इसाकले १९ गोल गरिसकेका छन् । यो सिजन उनी पनि ‘युरोपिन गोल्डेन सु’ अवार्डको दौडमा देखिएका छन् ।

० क्रिस्टोफर उड : न्युजिल्यान्डका स्ट्राइकर क्रिस्टोफर उड हाल इङ्लिस क्लब नटिङ्घम फरेष्टबाट खेल्छन् । जारी सिजनको घरेलु लिगमा नटिङ्घम फरेष्टले उदाहरणीय प्रदर्शन गर्दै आएको छ । त्यसैले यो क्लब २६ खेलबाट ४७ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा आसिन छ । नटिङ्घम फरेष्टको सफलतामा क्रिस्टोफर उडको भूमिका अविस्मरणीय छ । उनले यो सिजन १८ गोल गरिसकेका छन् ।

० केलियन एमबाप्पे : फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पले पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर यो सिजन स्पेनिस क्लब रियल म्याड्रिड पुगेका छन् । रियल म्याड्रिडका लागि उनले हालसम्म १७ गोल पनि गरिसकेका छन् । २५ खेलबाट ५४ अंक जोडेको रियल म्याड्रिड तालिकाको दोस्रो स्थानमा छ । युरोपियन ‘गोल्डेन सु’ अवार्डमा उनी पनि दौडमा छन् ।

० ओसमान डेम्बेल : फ्रान्सका प्रभावशाली विंगर ओसमान डेम्बेल हाल पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यवसायिक फुटबल खेल्छन् । उनी सन् २०२३ मा बार्सिलोनाबाट पीएसजी पुगेका हुन् । पीएसजी घरेलु लिग यात्रामा निकै अगाडि छ । पीएसजीले २३ खेलबाट ५९ अंक बटुलिसकेको छ । पीएसजीको यो सफलतामा डेम्बेलले १७ गोल गरिसकेका छन् । उनी पनि यो सिजन युरोपियन ‘गोल्डेन बुट’ अवार्डको बलियो दाबेदार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण