राजीनामा पत्र सार्वजनिक भएको २४ घण्टासम्म पार्टी र सभामुखलाई औपचारिक जानकारी छैन
बुटवल । सीके राउत नेतृत्वको जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेकी गीता गुरुङले पदबाट राजीनामा दिएको पत्र मंगलबार बिहानदेखि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भए पनि समाचार तयार पार्दासम्म सभामुख कहाँ राजीनामाबारे औपचारिक रूपमा जानकारी पुगेको छैन ।
गुरुङले ‘जनताले तिरेको करबाट पारिश्रमिक नलिने’ उल्लेख गर्दै दिएको राजीनामा पत्र सार्वजनिक भएको २४ घण्टा बितिसक्दासमेत लुम्बिनीका सभामुख तुलाराम घर्तीसम्म यसबारे जानकारी नपुगेको हो ।
सभामुख घर्तीले अहिलेसम्म (बिहान साढे ८ बजे) गुरुङको राजीनामाबारे आधिकारिक रूपमा कुनै जानकारी नआएको रातोपाटीलाई बताए । उनले भने, ‘गीता गुरुङले पठाउनु भएको राजीनामा पत्र वा उहाँको संसदीय दलले कारबाही गरेको आधिकारिक पत्र अझैसम्म आएको छैन । बाहिर हल्ला भने सुनेको छु ।’
रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ निवासी गुरुङले जनमत पार्टीकी समानुपातिक सांसद हुन् । उनी हाल बेलायतमा पुगेकी छन् । उनी केही समय अगाडि बेलायत गए पनि त्यसको आधिकारिक जानकारी पार्टीलाई दिएकी थिइनन् ।
जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश (सीके) गुप्ताले गुरुङ पछिल्लो समय पार्टीमा पनि सक्रिय नभएको तथा प्रदेशसभा बैठकमा समेत उपस्थित नभएको रातोपाटीलाई बताए । उनले भने, ‘हामीले सम्पर्क गर्दा पनि उहाँ सम्पर्कमा आउन चाहनु हुन्नथ्यो । उहाँको श्रीमान्ले फोन रिसिभ गर्नुहुन्थ्यो । अहिले राजीनामाको विषयमा पनि पार्टीसँग कुनै छलफल वा जानकारी औपचारिक रूपमा भएको छैन ।’
गीता गुरुङका श्रीमान् कैलाश गुरुङले केही समय पहिले जनमत पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका थिए । राजीनामा प्रकरणबारे जान्न पटक–पटक सम्पर्क गर्दा पनि उनको मोबाइल अफ रहेको छ ।
गीता सांसद हुनुभन्दा अगाडि पनि बेलायतमा नै बस्दै आएकी थिइन् । उनी पुनः बेलायत फर्केको करिब एक महिना जति भएको छ । गुरुङका छोराछोरीहरू पनि बेलायत नै बस्ने गरेका छन् । समानुपातिक सांसद हुनुभन्दा अगाडि पनि उनी बेलायतमा नै बसेर काम गर्थिन् ।
जनमत पार्टी लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताले गुरुङले बेलायत पुगेर उतैबाट श्रीमान्मार्फत राजीनामा पठाएको रातोपाटीलाई बताए ।
नयाँ सांसद को ?
जनमत पार्टीका केन्द्रीय सचिव तथा रुपन्देहीका नेता भूपेन्द्र यादवले गीता गुरुङलाई पार्टीले राजीनामाका लागि कुनै दबाब नदिएको तर जनताको अपेक्षा अनुसार काम गर्न नसकेपछि उनी आफैले राजीनामा दिएको दाबी गरे ।
यस्तै, जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सीके गुप्ताले बुधबार संसद् बैठक पनि रहेकोले गुरुङको राजीनामाबारे सभामुखसँग बसेर अब कसरी जाने भनेर सल्लाह गर्ने रातोपाटीलाई बताए । उनले भने, ‘पार्टीको संसदीय दललाई राजीनामाबारे औपचारिक रूपमा जानकारी छैन । तर उहाँ लन्डन जाने र राजीनामा श्रीमान्ले सार्वजनिक गरेपछि आज सभामुखसँग सल्लाह गरेर कसरी अगाडि बढ्ने भनेर निर्णय गर्नेछौँ ।’
उनीपछि पार्टीले निर्वाचन आयोगमा बुझाएको सूचीमा गुल्मीका राजेन्द्र श्रेष्ठको नाम रहेको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘गीता गुरुङको राजीनामा स्वीकृत भएको अवस्थामा पार्टीले निर्वाचन आयोगमा श्रेष्ठको नाम सिफारिस गर्नेछ । जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभामा ३ जना सांसद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण