बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
संसदीय समिति

निजामती कर्मचारी विधेयकमा कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति

शुक्रबार, ०२ जेठ २०८२, १० : ३०
शुक्रबार, ०२ जेठ २०८२

सारांश

  • संघीय निजामती सेवा विधेयकमा निजामती कर्मचारीले अवकाशपछि संवैधानिक, कूटनीतिक र राजनीतिक पदमा नियुक्ति पाउन दुई वर्षको 'कुलिङ पिरियड' राख्ने सहमति भएको छ।
  • राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रमेश लेखकले दुई वर्षको कुलिङ पिरियड राख्ने प्रस्ताव गरेपछि नेकपा माओवादीले धन्यवाद दिएको थियो।
  • कांग्रेस र एमालेबीच 'कुलिङ पिरियड'बारे मतभेद थियो, तर गृहमन्त्रीको प्रस्तावपछि दुई वर्ष राख्ने विषयमा सहमति जुटेको छ।

काठमाडौँ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको छ । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघका निजामती कर्मचारीले माथिल्लो तहबाट अवकाश पाएपछि संवैधानिक, कूटनीतिक र राजनीतिक पदमा नियुक्ति खान कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको हो ।

आज समितिको बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकले कुलिङ पिरियड दुई वर्ष राख्ने प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव आफूहरूको माग बमोजिम आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री लेखकलाई धन्यवाद दिएका थिए । 

त्यसपछि यो विषयमा सहमति जुटेको समिति सदस्य सरिता प्रसाईले जानकारी दिइन् । ‘कुलिङ पिरियड दुई वर्ष राख्ने विषयमा सहमति भएको छ । अवकाशको उमेर ६० वर्ष पुर्‍याएर कार्यान्वयन विधिमा छलफल भइरहेको छ आज टुंग्याउने गरी छलफल भइरहेको छ,’ प्रसाईले रातोपाटीसँग भनिन् । 

विधेयकको बुँदा नम्बर ४१ मा रहेको ‘कुलिङ पिरियड’बारे कांग्रेस र एमालेका सांसदबिचमै मतैक्यता थिएन । दुई वर्ष राख्ने कि एक वर्ष राख्ने भन्नेमा उनीहरू विभाजित थिए । कांग्रेस दुई वर्ष राख्नुपर्ने र एमाले एक वर्ष राख्नुपर्नेमा थिए । 

सरकारले यसबारे केही बोलेको थिएन । आज गृहमन्त्री लेखकले समितिको बैठकमा दुई वर्ष राखेर जाँदा उपयुक्त हुने निष्कर्षमा सरकार पुगेको बताएका थिए । त्यसपछि सहमति जुटेको नेताहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप