लखनउका बलर दिग्वेश राठीलाई प्रश्न : विराट कोहलीको विकेट लिए ‘नोटबुक सेलिब्रेसन’ गर्नुहुन्छ ?

समाचार सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्ट्सबीचको खेल महत्त्वपूर्ण, किनकि यसले प्लेअफ समीकरण निर्धारण गर्नेछ।
- लखनउका बलर दिग्वेश राठी, 'नोटबुक सेलिब्रेसन' का कारण चर्चामा, विराट कोहलीको विकेट लिएमा सेलिब्रेसन नगर्ने संकेत।
- राठीले नोटबुक सेलिब्रेसनका कारण जरिवाना तिरेका छन् र प्रशिक्षकसमेत रिसाएका छन्, तर बानी फेरिएका छैनन्।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी संस्करणमा लिग चरणको अन्तिम खेल मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्ट्सबिच खेलिँदैछ ।
यो खेलको नतिजाले प्रतियोगिताको पहिलो क्वालिफायरमा पञ्जाब किङ्सले कुन टोलीसँग प्रतिस्पर्धा गर्छ भन्ने कुराको टुङ्गो लगाउने छ । त्यसैले यो खेल बेंगलुरुका लागि निकै महत्त्वपूर्ण छ ।
लखनउ भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । यो खेलमा लखनउको टोलीमा दिग्वेश राठी पनि मैदानमा ओर्लनेछन् । अघिल्लो खेलमा प्रतिबन्धमा परेका कारण उनी टोलीमा थिएनन् ।
खेलका क्रममा विपक्षी टोलीको विकेट लिएपछि ‘नोटबुक सेलिब्रेसन’ गरेको र विपक्षी खेलाडीसँग अनावश्यक विवाद गरेको आरोपमा उनी एक खेलको प्रतिबन्धमा परेका थिए । आईपीएलको जारी संस्करणमा ‘नोटबुक सेलिब्रेसन’ का कारण उनले पटक–पटक चेतावनी पाएका छन् भने ठुलो रकम जरिवाना पनि तिरिसकेका छन् । त्यै पनि उनले आफ्नो यो बानी छाडेका छैनन् ।
उनलाई यो सिजनको आईपीएलका लागि लखनउले ३० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । तर, ‘नोटबुक सेलिब्रेसन’ गरेकै कारण उनले १० लाख भारतीय रुपैयाँ जरिवाना तिरिसकेका छन् ।
बेंगलुरुविरुद्धको खेलअघि लखनउका बलर दिग्वेश राठीलाई ‘नोटबुक सेलिब्रेसन’ लाई लिएर विभिन्न प्रश्न गरिएको थियो । खासमा, लखनउले बेंगलुरुविरुद्धको खेलअघि आफ्ना केही खेलाडीलाई समर्थकसँग प्रत्यक्ष भेटघाट गराएको थियो । भेटका क्रममा समर्थकहरुले दिग्वेशलाई रमाइलो प्रश्न सोधेका थिए ।
एक समर्थकले दिग्वेशलाई सोधे, ‘तपाईँ नोटबुक सेलिब्रेसन किन गर्नुहुन्छ ?’ यसका जवाफमा दिग्वेशले भनेका छन्, ‘कुनै पनि प्रतियोगिता हुँदा म आफ्नो एउटा नोटबुक लिएर जान्छु । विकेट लिएपछि म मैदानमा नोटबुक सेलिब्रेसन गर्छु र खेल सकिएपछि ती ब्याट्सम्यानको नाम आफ्नो नोटबुकमा लेख्छु ।’
त्यसपछि अर्का समर्थकले दिग्वेशलाई प्रश्न गरे, ‘मंगलबारको खेलमा तपाईँले विराट कोहलीको विकेट लिनुभयो भने पनि मैदानमा नोटबुक सेलिब्रेसन गर्नुहुन्छ ?’ यो प्रश्नको जवाफ दिनुअघि सुरुमा दिग्वेश केही अलमलिएका थिए ।
त्यसपछि भने उनले हाँस्दै टाउको हल्लाएर विराटको विकेट लिएपछि मैदानमा आफूले नोटबुक सेलिब्रेसन नगर्ने जवाफ फर्काएका थिए । सामाजिक सञ्जालबाट पनि धेरै समर्थकले दिग्वेशलाई विराटको विकेट लिएमा नोटबुक सेलिब्रेशन नगर्न चेतावनी दिँदै आएका छन् ।
दिग्वेशले मंगलबारको खेलमा विराट कोहलीको विकेट लिन्छन् वा लिँदैनन् हेर्न बाँकी छ । यदि उनले विराटको विकेट लिए भने नोटबुक सेलिब्रेसन गर्छन् वा गर्दैनन् त्यो पनि समयले नै देखाउनेछ । आखिर बानी न हो !
दिग्वेशले ‘नोटबुक सेलिब्रेसन’ का कारण आफ्ना प्रशिक्षक पनि रुष्ट हुने गरेको बताएका छन् । एक समर्थकले सोधेको प्रश्नको जवाफमा उनले भनेका छन्, ‘मैले नोटबुक सेलिब्रेशन गर्दा प्रशिक्षक पनि निकै रिसाउनु हुन्छ । मसँग हात पनि मिलाउनु हुन्न । पक्कै पनि मेरो सेलिब्रेशनले टोलीलाई समेत घाटा लाग्ने गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको बूढानीलकण्ठमा दुई जना मृत अवस्थामा फेला, प्रहरीले अनुसन्धान अगाडि बढायो
-
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति
-
आमसञ्चार विधेयक छलफल : सुधारको प्रयास कि पुरानै प्रवृत्तिको निरन्तरता ?
-
३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ
-
बजेटमाथिको सैद्धान्तिक छलफलको समय आधा घट्यो
-
मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने