शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय
आगामी आर्थिक वर्षकाे बजेट

आगामी आर्थिक वर्षको बजेटमा बागमती प्रदेशका के-के योजना समेटिए ?

बिहीबार, १५ जेठ २०८२, १८ : ४३
बिहीबार, १५ जेठ २०८२

समाचार सारांश

  • आगामी आर्थिक वर्षको लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट घोषणा गरेको छ, जसमा बागमती प्रदेशका विभिन्न आयोजनाहरू समेटिएका छन्।
  • बजेटमा हेटौँडा-काठमाडौँ पोडवे, सुरुङ मार्ग र औद्योगिक क्षेत्रको अध्ययन तथा निर्माणका योजनाहरू समावेश छन्, साथै जीर्ण उद्योगको पुन: सञ्चालनको लागि लगानी व्यवस्थापन गरिनेछ।
  • बजेटले स्वास्थ्य, खेलकुद, र पूर्वाधार विकासमा जोड दिएको छ, जसमा अस्पताल स्तरोन्नति, रंगशाला निर्माण र काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापन जस्ता योजनाहरू समावेश छन्।

हेटौँडा । नेपाल सरकारले आगामी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसद्मा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन् । 

सरकारको बजेटमा बागमती प्रदेशको महत्त्वपूर्ण आयोजनाहरू समेटिएका छन् । सरकारले बजेट मार्फत हेटौंडा काठमाडौँ पोडवे सम्भाव्यता अध्ययन, सुरुङ मार्ग निर्माण सम्भाव्यता अध्ययन, शक्तिखोर र मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र सञ्चालन तथा अन्तर्राष्ट्रियकरण चिकित्सा शिक्षाका योजनाहरू समेटिएका छन् ।

सरकारको बजेटमा जीर्ण अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योग लगायतका सरकारी उद्योगहरू सञ्चालनको लागि अध्ययन गरी लगानी व्यवस्था गरिने उल्लेख छ भने बन्द अवस्थामा रहेको काठमाडौँ– हेटौँडा रोपवेको विकल्पमा नवीन प्रविधिमा आधारित पोडवेको सम्भाव्यता अध्ययन गर्न आवश्यक रकम विनियोजन गरेको छ ।

अध्ययन सम्पन्न भएका सुरुङमार्ग खुर्कोट– चियाबारी, मझिमटार–शक्तिखोर, कुलेखानी–भिमफेदी निर्माणका लागि स्रोत व्यवस्थापन गर्ने र टोखा–छहरे, दोलालघाट–चर्नावती सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने गरी सरकारले बजेट विनियोजन गरेको छ । काठमाडौँ चक्रपथको कलंकी–बसुन्धरा– धोवीखोला सडक खण्डको स्तरोन्नति कार्यलाई निरन्तरता दिन १ अर्ब २४ करोड विनियोजन गरेको छ ।

सरकारले चितवनको शक्तिखोर र मकवानपुरको मयुरधापमा लगानी बोर्ड मार्फत निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने योजनामा बजेट व्यवस्था गरेको छ भने पाँचखालको विशेष आर्थिक क्षेत्रलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने भएको छ ।

रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण सम्पन्न गरी सञ्चालन गर्ने, अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार तथा भण्डारणस्थल निर्माण कार्य अघि बढाउने सरकारको बजेटमा समावेश भएको छ ।

सरकारको बजेटमा खोरेत रोगमुक्त क्षेत्र घोषणाका लागि सिन्धुली र मकवानपुर जिल्लामा जोनिङ तथा कम्पार्टमेन्टलाइजेशनका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा सौराहा–गोसाईंकुण्ड, जनकपुरधाम– कालिञ्चोक पदयात्रा सञ्चालन गर्ने, स्वयम्भुनाथ, हनुमानढोका, पशुपतिनाथ र वौद्धनाथ क्षेत्रमा सन्ध्याकालीन सम्पदामार्ग विकास गर्ने गरी सरकारले बजेट व्यवस्था गरेको छ ।

सरकारको बजेटमा हेटौडा स्थित डिजास्टर रिकभरी सेन्टरको क्षमता विस्तार गर्ने, काठमाडौँ उपत्यकामा फाइभजी सेवा सुरु गर्ने, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनको काम अघि बढाउने विषय समावेश भएको छ ।

स्वास्थ्य क्षेत्र तर्फ सरकारले कीर्तिपुर जलन अस्पताल, धुलिखेल अस्पताल, काठमाडौँ इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ, तिलगंगा आँखा अस्पतालको सेवा तथा गुणस्तर वृद्धि गर्न पुँजीगत अनुदानको व्यवस्था गर्ने भएको छ ।

वीर अस्पतालबाट अन्तर्राष्ट्रियकरण चिकित्सा शिक्षा र अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउन पूर्वाधार निर्माण, उपकरण र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्था गर्ने, कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य सेवाको सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्ने, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालामा स्तरोन्नति गर्न पूर्वाधार विकास, यन्त्र उपकरण र जनशक्ति व्यवस्थापन गर्ने, मानसिक अस्पताल लगनखेलको क्षमता विस्तार, काठमाडौँ उपत्यका स्थित केन्द्रीय अस्पतालमा मस्तिष्क, मेरूदण्ड तथा स्नायु रोगको गुणस्तरीय उपचारका लागि राष्ट्रिय न्युरोसाइन्स केन्द्र स्थापना गर्ने गरी बजेटमा व्यवस्था गरेको छ ।

सरकारले बजेट मार्फत काठमाडौँको मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको जनाएको छ भने कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको स्तरोन्नतिका लागि ४० करोड विनियोजन गरेको छ । चितवनस्थित गौतम बुद्ध क्रिकेट रङ्गशालाको सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गर्ने सरकारको बजेटमा उल्लेख छ ।

सरकारले आगामी आर्थिक वर्षमा तामाकोशी– ५ आयोजना, सुनकोशी – मरिन डाइभर्सन आयोजनाको निर्माण कार्यलाई तीव्रता दिने, खिम्ती–बाह्रविसे–लप्सीफेदी प्रसारण लाइनको निर्माण कार्य अघि बढाउने गरी बजेट विनियोजन गरेको छ । 

काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित गर्न मेट्रोरेल, मोनोरेलको सम्भाव्यता अध्ययन गर्ने, काठमाडौँ उपत्यकाको ईशान, आग्नेय, तारकेश्वर र डुकुछापमा जग्गा विकास आयोजना सञ्चालन गर्ने, काठमाडौँ उपत्यका लगायत प्रमुख शहरहरूको सौन्दर्य तथा आधारभूत सेवाको गुणस्तर वृद्धि गर्न युटिलिटी कोरिडोरको अवधारणा कार्यान्वयन गर्ने, काठमाडौँको शंखरापुरमा जहरसिंह पौवा स्टेडियम र गणेशमान सिंह पार्क तथा बुढानिलकण्ठ–गोकर्णेश्वरमा मदन भण्डारी बहुउद्देश्यीय पार्कको निर्माण कार्य सुरु गर्ने भएको छ ।

सरकारले काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियकरण प्रदर्शनीस्थल निर्माण गर्ने गरी सरकारले बजेट विनियोजन गरेको छ । बागमती लगायत काठमाडौँ उपत्यकाका नदीहरूलाई स्वच्छ बनाउन आवश्यक पूर्वाधार निर्माण गर्ने, काठमाडौँ उपत्यका भित्रका कोरिडोर सडक विस्तार गर्न ३ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले बजेट मार्फत काठमाडौँ उपत्यकाको खानेपानी आपूर्ति प्रणालीलाई एकीकृत र व्यवस्थित गर्ने बजेट विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप