आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय
आईपीएल एलिमिनेटर

रोहितको रन वर्षा, गुजरात सामु २ सय २९ रनको लक्ष्य

शुक्रबार, १६ जेठ २०८२, २१ : ४३
शुक्रबार, १६ जेठ २०८२

काठमाडाैँ। इन्डियन प्रिमियर लिगको एलिमिनेटरमा रोहित शर्माको शानदार ब्याटिङको मद्दतले मुम्बई इन्डियन्सले गुजरात टाइटन्स सामु जितका लागि २ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार चन्दीगढको पञ्जाब क्रिकेट एसोसिएसनको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २८ रन बनाएको हो ।

रोहितले यस प्रतियोगितामा चौथो अर्धशतक बनाए । ५० बलमा टोलीका लागि सर्वाधिक ८१ रन बटुलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे । खेलमा रोहितले अर्का ओपनर जोनी बेयरस्टोसँग मिलेर टोलीलाई उत्कृष्ट सुरुवात दिलाए ।

दुवैले मात्र ७.२ ओभरमा पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरे । बेयरस्टो २२ बलमा ४७ रन जोड्दै पभेलियन फर्किए । उनले ४ चौका र ३ छक्का हिर्काए ।

त्यसपछि रोहितले सूर्यकुमार यादवसँग ३४ बलमा ५९ रनको साझेदारी गरे । यादव ३३ रन बनाएर आउट हुँदा टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । यादवले २० बलको सामना गर्दै १ चौका र ३ छक्का प्रहार गरे ।

तिलक वर्माले तीव्र गतिमा रन बनाउँदै ११ बलमा २५ रनको योगदान दिए । उनले ३ छक्का प्रहार गरे । नमन धिर मात्र ६ बलमा ९ रन बनाउँदै आउट हुने पुगे । कप्तान हार्दिक पाण्ड्याले ९ बलमा २२ रन जोडे । उनले अन्तिम ओभरमा ३ छक्का प्रहार गरे ।

गुजरातका लागि साई किशोरले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । प्रसिद्ध कृष्णाले पनि ४ ओभरमा ५३ रन खर्चेर २ विकेट हात पारे । मोहम्मद सिराजले एक विकेट लिए ।  

एलिमिनेटर खेलमा विजयी हुने टोली प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ । पराजित हुने टोली भने उपाधि होडबाट बाहिरिने छ । एलिमिनेटर खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्नेछ । 

दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग उपाधिका लागि भिडन्त गर्नेछ । बेंगलुरु पहिलो क्वालिफायर खेलमा पञ्जाब किङ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । 

आईपीएलको इतिहासमा मुम्बई इन्डियन्स सर्वाधिक सफल टोलीमध्ये एक हो । मुम्बईले हालसम्म पाँच पटक आईपीएलको उपाधि चुमिसकेको छ । मुम्बईले अन्तिम पटक सन् २०२० मा उपाधि जितेको थियो ।

गुजरात टाइटन्सले भने हालसम्म एकपटक मात्र आईपीएलको उपाधि चुमेको छ । गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप