बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केएमसीमा ‘जब मेला–२०२५’ सम्पन्न, करिब ४ सय विद्यार्थीको सहभागिता

सोमबार, १९ जेठ २०८२, १५ : १७
सोमबार, १९ जेठ २०८२

काठमाडौं । बागबजारस्थित काठमाडौं मोडेल कलेज (केएमसी) मा आयोजना गरिएको ‘जब मेला–२०२५’  सम्पन्न भएको छ। आइतबार सम्मन्न कार्यक्रममा करिब ४ सय विद्यार्थीले सहभागिता जनाएका थिए भने ४५ वटा कम्पनीहरू उपस्थित भएका थिए।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको प्यानल डिस्कसन ‘करियर क्याम्पस – नेभिगेटिङ स्मार्ट करियर च्वाईसेस इन द एज अफ अटोमेसन एण्ड रिमोट वर्क’ मा विभिन्न क्षेत्रका विज्ञहरूले विद्यार्थीहरूलाई आफ्नो अनुभव र सल्लाह प्रस्तुत गरे।

क्लाउड फ्याक्ट्रीका सक्षम जोशीले विश्वविद्यालयको पाठ्यक्रममा मात्र सीमित नरहेर विश्वबजारका मागअनुसार प्रविधिमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले जब मार्केटमा जाँदा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमा ईमान्दार हुनुपर्ने र आफ्ना विचारहरू प्रष्ट राख्नुपर्ने कुरामा विशेष जोड दिए।

लर्न इन्फिनिटीकी अदिती गोएलले विश्वबजारमा प्रतिस्पर्धा गर्न चाहनेले न्यूनतम ज्ञान अनिवार्य रूपमा हासिल गर्नुपर्नेमा जोड दिइन्। उनले सम्बन्धित क्षेत्रमा समयअनुकूल हुँदै जान आवश्यक रहेको बताइन्।

काठमाडौं मोडेल कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदीले विश्वविद्यालयको पाठ्यक्रम मात्र पर्याप्त नभई प्रविधिमैत्री वातावरणमा समयानुकूल शिक्षा प्रदान गर्नुपर्ने बताए। उनले बजारको मागलाई बुझेर त्यसअनुरूपको दक्ष जनशक्ति उत्पादनमा सबै कलेजहरू लाग्नुपर्नेमा जोड दिए।

प्यानल डिस्कसनको सहजकर्ताको भूमिका केएमसी कर्पोरेट रिच आउट क्लब प्रमुख कृतिका मुननकर्मीले निभाएकी थिइन्। करिब १ घण्टा चलेको सो कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूले रोजेको क्षेत्रमा काम गरिरहेका विशेषज्ञहरूसँग छलफल र अन्तरवार्तामा सहभागी हुने अवसर पाएका थिए।

केएमसी नेटवर्क अन्तर्गतका कलेज तथा अन्य कलेजका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूले जब मेलामा सहभागिता जनाएको कलेजका आन्तरिक गुणस्तर प्रत्यायन प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले जानकारी दिए। सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट आफूलाई धेरै कुरा सिक्न र रोजगारीका अवसरबारे बुझ्न सकिएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा बैंक, होटल, कलेज, इन्स्योरेन्स, इन्जिनियरिङ, आईटी सेवा तथा उत्पादनमूलक विभिन्न कम्पनीहरूको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप