शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

उपप्रधानमन्त्री सिंहद्वारा फोहोरमैला व्यवस्थापन केन्द्र उद्घाटन

बिहीबार, २२ जेठ २०८२, १५ : ०६
बिहीबार, २२ जेठ २०८२

कैलाली । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मा नवनिर्मित एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र तथा दिशाजन्य पदार्थको प्रशोधन प्रणालीको बिहीबार उद्घाटन गरेका छन् ।

एसियाली विकास बैङ्क (एडिबी) को ऋण अनुदान सहयोग र नेपाल सरकारको सहकार्यमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय, धनगढीको संयोजनमा केन्द्रको निर्माण गरिएको हो ।

केन्द्र उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले विश्व वातावरण दिवसकै दिन फोहोर मैला व्यवस्थापन केन्द्र सुरु हुनु खुसीको विषय भएको बताए ।उनले फोहोरमैला केन्द्र सुरु भएपछि गोदावरीसहित यो क्षेत्रको वातावरण स्वच्छ हुने र फोहोर मैलाको उचित व्यवस्थापन हुने विश्वास व्यक्त गरे । 

नागरिकको जीवन र जीविका सहज बनाउन सरकारले जनताले प्रत्यक्ष अनुभूत गर्ने योजना निर्माण सरकारको प्राथमिकतामा रहेको सो क्रममा उपप्रधानमन्त्री सिंहले बताए । 

कुल लागत ५१ करोड ६९ लाख ७४ हजार ४ सय ९९ रुपैयाँ रहेको यस परियोजनामा ७५ प्रतिशत रकम एडिबीको ऋण अनुदानबाट र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानीबाट पूरा गरिएको हो ।

फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का चिनको सिचुवान प्रोभेन्सियल जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सलाई दिइएको थियो । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यो केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीकै व्यवस्थापनमा रहनेछ । उक्त अवधिपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने सम्झौता गरिएको छ ।

केन्द्रमा सङ्कलित फोहोरलाई वर्गीकरण गरिनेछ । कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरिनेछ भने रिसाइकल गर्न सकिने फोहोरलाई कवाडीमा बिक्री गरिने बताइएको छ ।

यसबाट वातावरणीय प्रदूषण न्यूनीकरण हुने र स्थानीय कृषकलाई जैविक मल प्राप्त हुने अपेक्षा गरिएको छ ।स्थानीय रोजगारीलाई प्राथमिकता दिँदै केन्द्रमा ४० जना भन्दा बढी स्थानीयलाई योग्यता अनुसार रोजगारी प्रदान गरिने बताइएको छ । 

कुहिने फोहोरबाट मलखाद बनाउनुका साथै नकुहिने, तर पुनः प्रयोग गर्न सकिने बस्तु प्रशोधन गरिने भएकाले फोहोरमैला व्यवस्थापन केन्द्र आम्दानीको स्रोत समेत गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप