ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थानीय बासिन्दाले सुनधारामा प्राकृतिक पानीको निकास र पुरानो धरहराको संरक्षण योजनाबारे आग्रह गरे।
- स्थानीय बासिन्दाले सुन्धारा क्षेत्रमा खुला बगैँचा, मुद्रा तथा भूकम्प सङ्ग्रहालय र भूमिगत पार्किङसहित नयाँ धरहरा निर्माणको पहलका लागि धन्यवाद दिए।
- सुन्धाराको पानी निकासमा अवरोध र धरहरा पुनर्निर्माणमा स्थानीय सरोकारको विषयलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने आश्वासन दिए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुनधारामा प्राकृतिक रूपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयवासीले आग्रह गरेका छन् ।
काठमाडौँको महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीयवासीको प्रमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ऐतिहासिक सुन्धारा तथा धरहरा क्षेत्रमा खुला बगैँचा, मुद्रा तथा भूकम्प सङ्ग्रहालय र देशकै सबै भन्दा ठुलो भूमिगत सुविधायुक्त पार्किङसहित नयाँ धरहरा निर्माण गर्न विशेष पहल गरेकोमा स्थानीय बासिन्दाको तर्फबाट धन्यवाद पनि दिइएको छ ।
सुन्धाराको सिरानमा रहेको जग्गामा कर्मचारी सञ्चय कोषले वि.सं २०४४ मा दुई तल्ले भूमिगत पार्किङसहित कार्यालय भवन बनाउन जग खन्दा त्यहाँ प्राकृतिक रूपले २४ सै घण्टा अनवरत पानी प्रवाह हुने भूमिगत संरचनामा ठुलो क्षति भएपछि स्थानीयवासीको विरोधका कारण तत्कालीन नगर पञ्चायतले निर्माण स्वीकृति रद्द गरेको थियो ।
पछि २०५७ सालमा महानगरपालिकाको तत्कालीन नेतृत्वले नक्सा पासको प्रक्रिया नै पूरा नगरी सञ्चय कोषले हालको भवन निर्माण भएकामा पानीको भूमिगत संरचनाको मर्मत गर्ने र त्यसलाई थप क्षति नपुग्ने गरी भवनको डिजाइन परिवर्तन गर्ने गरी सम्झौता भएको थियो ।
अहिले सुन्धाराको पानी निकासको भूमिगत ढलमा जथाभाबी सामान बगाइएकाले भित्र पानी बग्नै नसक्ने गरी अवरोध भएकाले त्यसलाई खुलाउन स्रोत साधनको अभाव भएको प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ ।
विनाशकारी भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनः निर्माण पूर्व राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय बासिन्दासँगको छलफलमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले महत्त्वपूर्ण सुनधारामा प्राकृतिक रूपले नै पानी आउने र निकास हुने तथा भूकम्पमा भत्केर बाँकी रहेको धरहराको भागलाई संरक्षण गरेर राख्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएकामा त्यसको पालना नभएको गुनासो प्रधानमन्त्री ओलीसमक्ष राखेका छन् ।
प्रधानमन्त्री ओलीले उक्त सम्पदा संरक्षणका लागि केन्द्र सरकारबाट हुनुपर्ने सहजीकरण हुने विश्वास दिलाउँदै काठमाडौँ महानगरपालिकाभित्र सम्पदा र संस्कृतिको संरक्षणका विषयमा संस्थागत पहल हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण