चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार
_w6zqxPZCLY.jpg)
समाचार सारांश
- म्याग्दीको बेनीमा चक्रपथ स्तरोन्नति सम्पन्न, जसले बजारलाई सुरक्षित र सुन्दर बनाएको छ।
- चक्रपथ निर्माणले सवारी आवागमन सहज भएको छ भने दुर्घटनाको जोखिम पनि कम भएको छ।
- बेनी बजार १७ औं शताब्दीमा स्थापित भएको ऐतिहासिक बस्ती हो, जहाँ अहिले पर्यटकीय आकर्षण बढेको छ।
गलेश्वर । कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा चक्रपथ (रिङरोड) स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथै सुन्दर देखिएको छ । नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनीबजार सुरक्षित हुनुका साथ चिटिक्क देखिएको छ ।
नेपाल सरकारको देशभर १० वटा नमूना नगरपालिका बनाउने कार्यक्रमअन्तर्गत रु तीन करोड १९ लाखको लगानीमा बेनीबजारस्थित चक्रपथ स्तरोन्नतिको काम पूरा भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए । बेनी नगरपालिका–८, कालीपुलदेखि दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदान छेउसम्म करिब ९०० मिटर लम्बाइ र पाँचदेखि छ मिटर चौडाइको सडकमा नालीसमेत निर्माण गरिएको छ ।
यसरी बेनी बजारको बाहिरी क्षेत्र कालीगण्डकी र म्याग्दी नदीको किनारैकिनार चक्रपथ बनेपछि सवारीसाधन आवागमनमा सहज भएको र बजार क्षेत्रको भित्री भागमा सवारीसाधनको चाप घटी दुर्घटनाको जोखिम पनि कम भएको नगरप्रमुख केसीले स्पष्ट पारे । बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनीबजार संरक्षणका लागि ‘आरसीसी’ तथा ‘मेसिनरी’ तटबन्ध निर्माणको कामले निरन्तरता पाइरहेको छ ।
वि.सं २०७३ मा कालीगण्डकी नदी किनारमा पक्की र म्याग्दी नदी किनारमा मेसिनरी पर्खाल लगाउने गरी जल उत्पन्न प्रकोप नियन्त्रण सव–डिभिजन कार्यालय बागलुङले बेनी बजार संरक्षण आयोजना सुरु गरेको थियो ।
वि.सं २०७२ मा कालीगण्डकी किनारमा रु एक करोड ८८ लाखको लागतमा १२४ दशमलव पाँच मिटर र २०७० सालमा ६३ मिटर पक्की पर्खाल निर्माण गरिएको थियो । यसैबीच सिँचाइ मन्त्रालयले बेनीबजार संरक्षण कार्यक्रमको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको थियो ।
कालीगण्डकी र म्याग्दीको सङ्गमस्थलमा रहेको बेनीबजार १७ औँ शताब्दीमा बस्ती विस्तार भएको एक ऐतिहासिक एवं रमणीय बस्ती हो । इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार १६३१ सालमा पर्वत राज्यको विखण्डन भएपछि पर्वत सातौँ राजा मलेबम मल्लले पर्वत राज्यको राजधानी बेनीमा सारेपछि व्यावसायिक यात्राको सुरुआत र बस्ती विस्तार भएको हो ।
अन्नपूर्ण सर्किटअन्तर्गत प्रमुख पर्यटकीय आकर्षण र बासस्थान बनेको बेनी बजार राजधानी काठमाडौँदेखि करिब ३०० किलोमिटर पश्चिममा अवस्थित छ । सदरमुकाम बेनी र आसपासका क्षेत्रबाट अन्नपूर्ण, धौलागिरि, नीलगिरि, चुरैन, मानापाथी र गुर्जासहित एक दर्जनभन्दा बढी हिमशृङ्खला देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतन्याहुले भने, ‘इरानको आणविक कार्यक्रमको मुटुमा प्रहार गर्यौँ’
-
बागमती प्रदेशसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने
-
अस्ट्रेलियाको नाटकीय पतनपछि वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल रोमाञ्चक मोडमा
-
अभिनेत्री करिश्माका पूर्व पति सञ्जय कपूरको निधन
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द