वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानकाे उपाय खोज्न तीन मन्त्री सम्मिलित समिति

समाचार सारांश
- केपी शर्मा ओली सरकारले वैदेशिक रोजगार समस्या समाधानका लागि तीन मन्त्री सम्मिलित समिति गठन गरेको छ।
- समितिमा परराष्ट्रमन्त्री, गृहमन्त्री र श्रममन्त्री रहेका छन्, जसले समस्या समाधानका उपाय खोज्नेछन्।
- समितिले नेपाली कामदारले विदेशमा कम तलब पाउने समस्या समाधानको उपाय खोज्नेछ र श्रम मन्त्रालयलाई बुझाउनेछ।
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न तीन मन्त्री रहेको समिति गठन गरेको जानकारी संसदीय समितिमा दिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समितिमा आफूसहित गृहमन्त्री रमेश लेखक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी रहेको जानकारी दिइन् ।
त्यो समितिमा तीनवटै मन्त्रालयका सचिवहरूले समेत काम गरिरहेको मन्त्री डा.राणाले बताइन् । समिति बैठक दुई पटक बसिसकेको उनले जनाइन् । ‘वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय प्रस्तुत गर्न समिति गठन भएको छ । गृहमन्त्री, श्रममन्त्री र परराष्ट्रमन्त्रीका साथै तीनवटै मन्त्रालयका सचिव बसेर गहनतम रूपमा छलफल गरेर के–के समस्या रहेछ भनेर हेर्ने हो’ समिति बैठकमा धारणा राख्दै परराष्ट्रमन्त्री डा.राणाले भनिन् । समितिले समस्या समाधानका लागि पहिल्याएका उपाय श्रम मन्त्रालयलाई दिने बताइन् ।
कतिपय देशमा अन्य देशका नागरिकले भन्दा नेपाली कामदारले कम तलब पाउने अवस्था रहेकाले त्यसको निराकरण कसरी गर्न सकिन्छ भन्ने उपाय पनि समितिले खोज्नेछ ।