संसद् अवरुद्ध गर्नु जनताको अधिकार बन्धक बनाउनु हो : कांग्रेस

समाचार सारांश
- नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपाले प्रतिशोधका कारण संसदमा विरोध गरेको आरोप लगाए।
- सभामुखले बोलाएको छलफलपछि घिमिरेले सहमति भइसकेपछि पनि संसद अवरुद्ध गर्नु राम्रो नभएको बताए।
- घिमिरेले रास्वपाले गृहमन्त्रीमाथि प्रतिशोध लिएको आरोप लगाउँदै संसदलाई बन्धक बनाउन नहुने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिशोध राखेर संसदमा विरोध गरिरहेको बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सहमतिमा आइसकेपछि पनि प्रतिशोध राखेर संसद् अवरुद्ध गरिनु राम्रो नरहेको बताए । उनले रास्वपाले समय तोकेर अनुसन्धानको प्रक्रिया अघि बढाउने माग राखेको र गृहमन्त्री रमेश लेखकले संसदमा सम्बोधनका क्रममा एक महिनाभित्र प्रक्रिया अघि बढाउने बताइसकेपछि पनि संसद् अवरुद्ध पार्नु राम्रो नभएको जिकिर गरे ।
उनले भने, ‘उहाँहरूले आफ्नो पार्टीको आफ्नो धारणाहरू राख्न पाइएला । यसमा हामीले केही भन्नु छैन । उहाँहरू पनि लगभग सहमतिमा आउनुभएको विषय थियो । उहाँहरूले टाइम तोकियोस् भन्नुभएको थियो । गृहमन्त्रीले पछि बोल्दा म ३० दिन भित्रमा कार्य प्रारम्भ गर्छु भन्नुभयो । टाइमफ्रेम पनि तोकिदिनुभयो । अब चाहियो के ? उहाँहरूले विशुद्ध रूपमा आफ्नो सभापतिसँग जे भयो त्यो आरोप गृहमन्त्रीमाथि लगाएर उहाँहरूले प्रतिशोध लिन खोज्नुभएको हो भन्ने बुझ्न गाह्रो भएन । यसमा अरू केही कुरा भएन ।’
प्रमुख सचेतक घिमिरेले प्रतिशोध साध्ने हिसाबले संसदलाई प्रयोग गर्न नमिल्ने बताए । उनले संसदलाई अवरुद्ध गर्नु र बन्धक बनाउनु भनेको सार्वभौम आम जनताको अधिकार बन्धक बनाउनु रहेको बताए । संसद् आफ्नो नियमावलीअनुसार सञ्चालन हुने समेत उनले बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा
-
सुदूरपश्चिम प्रदेशको बजेट: फेरि पनि कर्मकाण्डमै सीमित
-
इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुनसक्छ : ट्रम्प
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?