जीवन बिमालेख कर्जाको ब्याजदरमा बिमकको मनपरी
मानव जीवनमा हुने विभिन्न किसिमका अनिश्चितता तथा जोखिमहरू (जस्तै : अंगभंग, अशक्तता वा मानव जीवनको शाश्वत सत्य मृत्यु आदि) बाट हुने क्षतिलाई आर्थिक माध्यमबाट आफू वा आफू आश्रित परिवारजनमा वित्तीय रूपमा परिपूर्ति गर्ने उपयुक्त माध्यम नै जीवन बिमा हो । जीवन बिमामा लगानीसहित जोखिम समेत बेहोर्ने बिमालेखहरूमा बिमा अवधि समाप्तिमा निश्चित रकम (जस्तै ः बिमाङ्क र बिमालेख) ले आर्जन गरेको रकम बोनसका रूपमा प्राप्त हुने गर्दछ । साथै बिमा अवधिभित्र कुनै जोखिमपूर्ण घटना (जस्तै : अंगभंग वा अशक्तता) भएमा आफू स्वयंले र कुनै कारणवश बिमितको मृत्यु भएमा बिमितको नजिकको हकवालाले बिमालेखमा तोकिए बमोजिमको रकम क्षतिपूर्ति स्वरूप प्राप्त गर्छन् ।
लगानीसहितको जोखिम वहन गर्ने बिमा जस्तै : सावधिक बिमालेखहरूमा र बिमा समाप्तिमा निश्चित रकम प्राप्त हुने रूपान्तरित बिमालेखहरूमा बिमा अवधिमा बिमितको आफ्नो आर्थिक व्यवस्थापनको सिलसिलामा कुनै पनि बेला अपर्झट रकम तरलताका लागि आवश्यक पर्न सक्छ । यस्तो अवस्थाको व्यवस्थापनका लागि उपर्युक्त बिमालेखहरूमा कर्जा लिन सक्ने व्यवस्था गरिएको हुन्छ र बिमालेख कर्जाका लागि साधारणतया तीन वर्षको बिमाशुल्क भुक्तानी गरी तीन वर्ष पुगेपश्चात् बिमालेख धितो राखी कर्जा लिन सकिन्छ ।
जीवन बिमालेख बिक्री गर्दा बिमा कम्पनीका प्रतिनिधि वा अभिकर्ताहरूले जीवन बिमा गर्दा (क) बिमा अवधिभर आफ्नो जीवनमा हुने जोखिमको वित्तीय रक्षावरण हुने, (ख) बिमा अवधिभर नियमित किस्ताबापत बिमाशुल्क भुक्तानी गर्दा अनिवार्य बचत पनि हुने र लगानी पनि हुने, (ग) बिमा अवधिपश्चात् एकमुष्ठ रकम प्राप्त हुने, (घ) बिमा अवधिमा केही गर्जोपर्जो परी रकम आवश्यक परेमा बिमालेख कर्जा सजिलै उपलब्ध हुने र (ङ) उक्त बिमालेख कर्जा एकनास रहिरहने, घटबढ नहुने भनी बजारीकरण गरी बिमालेख जारी गर्ने गराउने गरिएको छ । यसरी बिमालेख बिक्री गर्दा गरिएका आश्वासन ‘प्रिन्सिपल अफ् एस्टोपल’ अन्तर्गत जीवन बिमा कम्पनीहरूले अनिवार्य पालना गर्नुपर्ने हुन्छ ।
बिमालेख कर्जाको ब्याजदर कम्पनीपिच्छे फरक–फरक भए पनि सामान्यता वार्षिक ९ प्रतिशतदेखि १० प्रतिशतको बिचमा रहेको पाइन्छ । नेपालको जीवन बिमा बजारमा बैंकको ब्याजदर घटे पनि वा बढे पनि सोही सेरोफेरोको बिचमा बिमालेख कर्जाको ब्याज रहे पनि करिब तीन वर्षअगाडि बैंकको मुद्दती खाताको ब्याजदर बढी १२ प्रतिशत हाराहारी रहेको अवस्थामा केही जीवन बिमा कम्पनीहरूले कर्जाको ब्याजदर बढाएर १२ प्रतिशतसम्म पुर्याएका थिए । यसरी कर्जाको ब्याज बढाउनु बिमितलाई बिमालेख बिक्री गर्दा दिएको आश्वासन प्रिन्सिपल अफ् एस्टोपल’को विपरीत थियो भने बिमा नियामक नेपाल बिमा प्राधिकरण बिमकको फट्याइँको अगाडि निरीह रहेको थियो । अब प्रश्न उठ्छ, त्यस बेला बैंकको मुद्दती ब्याजदर करिब १२ प्रतिशत पुगेको बेला बिमालेख कर्जाको ब्याजदर बढाउने बिमकहरू हाल बैंकको संस्थागत मुद्दती ब्याजदर ५ प्रतिशतभन्दा कम रहेको अवस्थामा बिमितको आफ्नो पैसा अर्थात् आफ्नै बिमालेख धितो राखी लिने कर्जाको ब्याजदर घटाउन बिमकहरू तयार रहलान् ? के बिमकहरू बिमितलाई परेको अप्ठेरोलाई प्रयोग गर्दै सधैँ आफ्नो नाफा मात्र बढाउने कार्यमा मात्र उद्यत् रहलान् ? के नेपाल बिमा प्राधिकरणले निर्देशन बनाई नियमन गर्ला ? वा बिमकलाई नै साथ दिई बिमितलाई परेको मर्कामा टुलुटुलु हेरेर बस्ला ? समयले नै भविष्यमा बताउनेछ ।
(पन्थी नेशनल ऐकेडमी फर फाइन्सियल सर्विसेज प्रा.लि.का सञ्चालक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण