लोकप्रिय टिभी कार्यक्रम अनुपमाको सेटमा भीषण आगलागी, सुटिङ रोकियो
सारांश
- मुम्बईको फिल्म सिटीमा 'अनुपमा' टिभी कार्यक्रमको सेटमा आगलागी भयो, जसले गर्दा सेट पूर्ण रूपमा क्षति भएको छ।
- आगलागीका कारण अल इन्डिया सिने वर्कर्स एसोसिएसनले घटनाको अनुसन्धान र दोषीलाई कारबाही गर्न माग गरेको छ।
- सिने श्रमिक सङ्घले निर्माता, फिल्म सिटीका प्रबन्धक र श्रम आयुक्तविरुद्ध उजुरी दिने र सबै सुटिङ सेटमा फायर अडिटको माग गरेको छ।
मुम्बई । लोकप्रिय टिभी कार्यक्रम अनुपमाको मुम्बई फिल्म सिटीमा रहेको सेटमा सोमबार बिहान ५ बजे भीषण आगलागी भएको छ। कार्यक्रमको छायाङ्कन बिहान ७ बजे सुरु तयारी गरिरहँदा आगलागी भएको हो ।
आगलागी हुँदा सेटमा धेरै सदस्यहरू उपस्थित थिए। अग्नि नियन्त्रण विभागले आगो नियन्त्रणमा लिन कडा परिश्रम गरेको थियो। अल इन्डिया सिने वर्कर्स एसोसिएसनले यो दुर्घटनाको अनुसन्धानको माग गरेको छ।
आगलागीका कारण अनुपमाको सेट पूर्ण रूपमा जलेर खरानी भएको छ। यसको छेउमा रहेका अन्य केही टिभी कार्यक्रमहरूको सेटमा पनि क्षति पुगेको छ। यो दुर्घटनापछि केही समयको लागि कार्यक्रमको छायाङ्कन रोकिएको छ।
यस घटनामा अल इन्डिया सिने वर्कर्सका अध्यक्ष सुरेश श्यामलाल गुप्ताले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई पत्र लेखेर उच्चस्तरीय न्यायिक जाँचको माग गरेका छन्। उनले दुर्घटनाको लागि फिल्म सिटीका प्रबन्ध निर्देशक र श्रम आयुक्तलाई पनि जिम्मेवार ठहराउँदै उनीहरूको निलम्बनको माग गरेका छन्।
उनी भन्छन्, ‘निर्माताको लापरबाही र गैरजिम्मेवार कार्यका कारण सेटमा यस्ता दुर्घटनाहरू सामान्य भइसकेका छन्, जसले गर्दा धेरै कामदारहरूको जीवन जोखिममा परेको छ।’
सिने श्रमिक सङ्घले निर्माता, निर्माण गृह, टेलिभिजन च्यानल, फिल्म सिटीका प्रबन्ध निर्देशक र श्रम आयुक्त विरुद्ध उजुरी दर्ता गर्ने बताएको छ। बीमा दाबी र आर्थिक लाभको लागि यस्ता दुर्घटनाहरू भइरहेका छन् कि छैनन् भन्ने कुरा स्पष्ट हुनुपर्ने उनीहरूको भनाई छ।
सुरेश श्यामलाल गुप्ताले आफ्नो बयानमा महाराष्ट्रका सबै सुटिङ सेटहरूमा फायर अडिट गरिनुपर्ने बताएका छन्। यदि यस क्रममा निर्माता र फिल्म सिटी प्राधिकरणको लापरबाही पाइएमा उनीहरूलाई उद्योगबाट कालोसूचीमा राखिनेछ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण