बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निबन्ध

मनभित्रै पीडा गुम्स्याउँदै बाँचिरहेकाहरू

आइतबार, १५ असार २०८२, १३ : ५०
आइतबार, १५ असार २०८२

मनभित्रै पीडा गुम्स्याएर पनि महिलाहरूका मुस्कान जीवनका सौन्दर्य हुन् । त्यसैले महिला सौन्दर्यका साक्षात् देवी हुन् । शक्ति, सिर्जना र सौन्दर्यका महान् प्रतिमूर्ति हुन् । छोरी, बुहारी, दिदीबहिनी, श्रीमती, आमा, सासु यी सबै आमाका अनेक रूप हुन् । समाजका लागि महिलाले अनेकौँ भूमिका खेल्नुपर्छ ।

महिलाहरू आफ्ना कैयौँ पीडाहरू मनभित्रै लुकाएर बाहिर स्वाभाविक जीवन बाँच्न विवश छन् । पारिवारिक खुसीको कुरा एकातिर होला तर दुःख, पीडा र तनावका अनेकौँ झमेलामा बाँचेको जीवनले शान्तिको सास फेर्न मुस्किलले पाउँछ ।

अनेकौँ पीडा, अन्याय, अत्याचारका भुमरीमा आँसुले लपक्कै भिजेर जीवन बाँच्ने महिला हाम्रै समाजमा छन् । बुहारी बुहार्तनका पीडाको चोट एकातिर, पतिसँगको सम्बन्धले बिग्रिएको जीवन अर्कोतिर छँदै छ । यससँगै कति महिला अरूको अन्यायका विरुद्ध न्याय दिन वा दिलाउनमा ज्यान दिन्छन् तर आफ्नै जीवनले भोगेको अन्यायका विरुद्ध आवाज उठाउन समाजको डर र लाजले सहेर, लुकाएर बस्न बाध्य भइरहेका घटना धेरै भेटिन्छन् ।

महिलाले जीवनको प्रत्येक पाटोमा आफूलाई चुपचाप सम्हाल्न सिकेकी हुन्छिन् । प्रथमतः आफू हुर्की–बढी खाइखेली बाँचेको प्यारो जन्मघरलाई छाडेर पराई घरमा अर्को नयाँ संसार सिर्जना गर्नु आफैँमा नयाँ चुनौतीको सामना गर्नु हो । घरमा बुबाआमाको मायालु काखबाट अनायसै बिरानो परिवारमा सदाका लागि जीवन बिताउनु कुनै पनि महिलाका लागि चुनौती र खुसीको कुरा कदापि हुन सक्दैन ।
तथापि सांसारिक नियम हो जन्मघर छाडेर पराई घरमा जानैपर्ने परम्पराको निर्वाह महिलाले गर्नैपर्छ । डोलीमा अन्माउँदा रुवाबासीको हिक्कहिक्क पराई घरमा पुग्दासम्म रोकिएको हुँदैन । केही दिनको माया, ममतापश्चात् सासूससुराको माया बिस्तारै घट्दै जान्छ । 

कतिपय सासूससुराले त आफ्नै आमाबुवाले भन्दा पनि बढी मायाको काखमा राख्लान् । त्यस्तै बोली र व्यवहार गर्लान् तर कैयौँ सासूससुरा यस्ता हुन्छन् जो आफ्नी बुहारी घरकी ‘लक्ष्मी’ हुन् भन्ने कुरालाई चटक्कै बिर्सिन्छन् । बुहारीलाई कज्याउनमा आफूलाई ‘बहादुरी’ ठान्छन् ।

यसै गरी पुरानो जमानाका सासूहरू पनि कम शास्ति दिने स्वभावका हुँदैनन् । कतिसम्म भने आफू पनि बुहारी भएर आएको कुरा बिर्सिन्छन् र सासूको हैकम जमाउन बाँकी राख्दैनन् । सासू भनेका बुहारीलाई काममा लगाउन अरनखटन गर्नकै निम्ति हो भन्ने संकुचित सोचाइ अझै पनि कैयौँ सासूहरूको मनमा विद्यमान छ । आजको आधुनिक समाजमा यस किसिमको स्वभावका सासूहरू कदापि पनि मानवीय मनका सासूआमाहरू हुन सक्दैनन् र हुँदैनन् पनि ।

पुरानो जमानाका सासूहरू पनि कम शास्ति दिने स्वभावका हुँदैनन् । कतिसम्म भने आफू पनि बुहारी भएर आएको कुरा बिर्सिन्छन् र सासूको हैकम जमाउन बाँकी राख्दैनन् ।

घरमा नयाँ दुलही भित्र्याएपछि उनीप्रति विशेषतः सासूले गर्नुपर्ने व्यवहार आफैँमा एउटा महत्त्वपूर्ण कर्तव्य हो । परन्तु त्यस्तो कर्तव्य निर्वाह गर्नमा अधिकांश सासूआमाहरू यतिसम्म क्रूर र हिंस्रक बन्छन् कि आफ्नो छोरीलाई जति माया गर्छन् आफ्नै छोराकी श्रीमतीलाई पनि आफ्नो बुहारी मान्दैनन् । अर्काकी छोरी भनेर बुहारीलाई पराईका रूपमा हेला गरेर राख्छन् ।

यद्यपि केही सासूआमाहरू यस्ता मायालु आत्मीय हुन्छन् जो आफ्नै जन्म दिने आमाभन्दा पनि असाध्यै माया गरेर बुहारीलाई आफ्नै छोरीभन्दा बढी ममताले व्यवहार गर्छन् । वास्तवमा गर्नुपर्ने यही हो । जो आफ्नो घरमा बुहारी बनेर भित्रिएकी छिन् तिनैले हो आफ्नो कुल परम्परालाई धान्ने, दिगो–दरिलो बनाएर राख्ने । यति कुरा पनि नबुझी सासूहरू जङ्गी स्वभावले बुहारीलाई सताउन, तर्साउन धम्क्याउन, घुक्र्याउन मात्र अग्रसर हुन्छन् ।

म आफैँले देखेको, सुनेको र महसुस गरेको कुरा लेख्दै छु । कैयौँ महिला आफूभित्रको पीडालाई बाहिर प्रकट गर्न चाहँदैनन्, बरु सहन्छन् । एकान्तमा रुन्छन् तर समाजको अगाडि चुपचाप सुख, सन्तुष्टिको मुस्कानमा रमाएको नाटक गर्छन् । वास्तवमा यो ती पीडित महिलाका लागि नै घात हो । जब समय आउँछ एक दिन उनीहरूले आफ्नो पीडालाई खोल्नैपर्छ र समाजका अगाडि आफूले सहेको चोटलाई बाध्यतावश प्रकट गर्नैपर्छ, यसमा कतिपय सासूहरू दोषी हुन्छन् । 

कतिपय श्रीमान्हरू पनि कम दोषी हुँदैनन् । अर्काकी छोरीलाई आफ्नो श्रीमती बनाएर घरमा ल्याएपछि श्रीमतीको रूपमा भन्दा पनि काम गर्ने नोकर्नीको रूपमा व्यवहार गर्नु मानवीय धर्म होइन । ‘कुनै पनि किसिमको दुःख दिन्न, सानो चोट पनि लाग्न दिनेछैन । भोकै राख्ने छैन ।’ यी आदि अग्नि साक्षी राखेर वचन खाएको पनि केही दिनमै भुसुक्कै बिर्सिन्छन् ।

घर–परिवारको दबाब, हेला र दोषीको कुरा छाडौँ, महिलाहरू कतै बाटो, कार्यालय वा कुनै पसल आदि ठाउँमा पुग्दा पराई मान्छेको आँखाको ‘निसाना’ बन्न पुग्छन् । नराम्रो हेराइ मात्रै होइन मौकाको फाइदा लिन पछि नपर्नेहरू पनि हुन्छन् । 

यसैबिच हाम्रो कानुनले महिलालाई धेरै अधिकार दिएको छ तर त्यसको सही सदुपयोग भएको छैन । आफ्नो हक–अधिकारको सन्दर्भमा धेरै महिला कमजोर छन् । कतिलाई थाहा पनि छैन । जसलाई थाहा छ तिनले आफ्नो अधिकारको गलत प्रयोग गरेका छन् । कुनै पुरुषलाई अनावश्यक दुःख दिनु पत्तासाफ गर्नुपर्‍यो भने बेनामी उजुरी गरी पुरुषलाई हैरान पार्न उद्दत रहन्छन् । हाम्रो प्रशासन वा कानुन पनि गजबकै छ । उजुरी हुनासाथ गल्ती के हो, कस्तो हो नबुझी र उजुरी कर्ताको कुनै नामठेगान नभई व्यक्तिलाई पक्राउ गरी मानसिक तनाव दिइन्छ, दण्डित समेत गरिन्छ ।

सोझासिधा महिलाहरू आफैँ पीडित भईकन पनि उजुरी नगरी सहेर बस्छन् । एक प्रकारले आफूमाथिको अन्यायलाई पचाउँदै सहेर बस्न बानी परिसकेका हुन्छन् । यस्तो पारिवारिक झमेलालाई अधिकांश महिलाले बाहिर ल्याउन चाहँदैनन् । कति महिलाले सहेर दिन कटाउन बाध्य हुन्छन् । कति महिला सम्बन्धविच्छेद गरी बरु टाढिएर एक्लै बाँच्न चाहन्छन् । कतिपय महिलाको पीडा यस्तो पनि मैले भेटेको छु कि जो घरबाट निकालिन्छन् र बेवारिसे बनेर कतै कसैको शरणमा बाँच्न विवश हुन्छिन् ।

तिनका लागि श्रीमान् श्रीमान् रहँदैनन्, सासू ससुरा पराई बन्छन् र उनी एउटी निर्दोष निरीह निष्कलंकित महिला एकाएक दोषीको भागिदार बन्न पुग्छिन् । आफ्नो प्यारो जन्म घरलाई छाडेर पराई घरमा आएकी उनी यसरी त्यो घरबाट पनि निकालिन बाध्य हुँदा समेत तिनको मन रुनुसम्म रुन्छ, भक्कानो छुट्छ, मुटु छियाछिया हुन्छ । यति हुँदा समेत सहेर आफैँलाई दोषी मानेर चुपचाप बस्छिन्, यही नै उनको कमजोरी हो । यही कमजोरीको फाइदा उनको असत्ती सासू,  श्रीमान् र समाजले लिन्छन् ।

जसको अनुहारमा हाँसो फिँजिएको देखिए पनि आँखाको गहिराइमा कहिल्यै नरित्तिएको आँसुको थोपा हुन्छ । ती आँसुहरू, जो बाहिर पोखिन सक्दैनन्, किनभने त्यहाँ समाजको आँखा छ, समाजको लाज छ । अनि इज्जतको भारी बोकेको बोझ छ । चाहनाका अनेका चाङहरूलाई समेत विवशताले बिर्सिएर समाज र परिवारका अगाडि हाँसेर बाँचेका छन् ।

हाम्रो समाजमा थुप्रै महिलाहरू यस्ता छन्, जो भित्रभित्रै चोटले चोइटिएर, भत्किएर पनि बाहिर स्वाभाविक मुस्कान छर्छन् । किनभने महिलाहरूका पीडा मनभित्रै गुम्सिएर बसेका हुन्छन् । मुस्कान उनीहरूको सौन्दर्यको पहिचान हो ।

आँगनमा बुहारीको रूपमा टेक्दा माइती छोडेको पीडा, सासू–ससुराको सेवा गर्दा बिर्सिएको स्वप्न, अनि पतिसँगको बिग्रिएको सम्बन्धको छाया सबै कुरा मनभित्र गाँसिएको हुन्छ । तिनले कहिल्यै चिच्याउन पाउँदैनन्, बर्बराउन पाउँदैनन् । चुपचाप आँसु पुछेर भान्सामा पस्छन् । बेलुका ढिलो भए पनि कोही नसम्झिए पनि खानेकुरा पकाउने, खुवाउने र पखाल्ने काम उनैको बाँकी हुन्छ । सबैले पेटभरि खाइसकेपछि बँचेको अलिकति भातले उनको आत्मा तृप्त गर्नुपर्ने बाध्यता हुन्छ । त्यसपछि पनि उनको काम बाँकी नै रहन्छ । सासूको खुट्टा मिच्ने, श्रीमानको जिउमा तेल लगाउने, बालबच्चालाई सुताउने । यसरी मायाले सुम्सुम्याउने हात तिनै महिलाको हुन्छ ।

कसले सोध्ने उनलाई ‘बुहारी तिमीले खाना खायौ ?, तिमीलाई सञ्चै छ ?’ भनेर । आफ्नै श्रीमानले समेत खैखबरी गर्नुपर्ने आवश्यकता ठान्दैनन् ।

यद्यपि पारिवारिक सम्बन्धको पीडा मात्र हैन, कतिपय महिलाहरू समाजका अन्याय र अत्याचार विरुद्ध आवाज उठाउन अग्रसर देखिन्छन् । आन्दोलन गर्छन्, नाराबाजी गर्छन्, सडकमा इमान र साहसले हिँड्छन् । दुर्भाग्य, आफ्नो जीवनमा परेको चोट, आफ्नै हृदयको घाउ भने ओठे मुस्कानले छोप्छन् । आफ्नै मनको आवाज चुँडेर समाजको इज्जतको नाममा मौन बस्छन् । पर्दा लगाएर आफ्नै पीडा लुकाउँछन् । किनकि उस्तै कचकच गर्ने, प्रश्न गर्ने, चरित्रमा दाग लगाउने आँखा कता–कताबाट हेर्दै गरेको छ भन्ने डर महिलामा हुन्छ ।

कति महिलाहरूको जीवन पतिसँगको सम्बन्ध विग्रिएर रातभर ओछ्यानमा लुकिलुकी रुनु र बिहान उठेर सामान्यझैँ व्यवहार गर्नुमा बित्छ । कति महिलाहरूको चोक र गल्लीमा अत्याचार विरुद्ध बुलन्द आवाज हुन्छ तर घरको ढोकाभित्र आफू पीडित हुँदा पनि चुपचाप हुन्छ । किन यस्तो दोहोरो जीवन ? किन मनभित्रको चोट बोकेर दिन काट्नुपर्ने ?

किनभने हाम्रो समाजले महिलालाई दुःख सहनु पुण्य ठानेको छ । आवाज उठाउनु ‘अशिष्ट’ मानेको छ । आफ्नै पीडालाई सार्वजनिक गर्नु ‘इज्जत गुमाउनु’ ठानेको छ । अनि यिनै भ्रमित मान्यताहरूको साङ्लोभित्र महिलाको कोमल मन बाँधिएको हुन्छ । 

वास्तवमा समय अब बदलिनुपर्छ । महिलाले आफ्नो पीडामा मुख खोल्नुपर्छ । आफ्नो अन्याय विरुद्ध पनि उभिन सक्ने आँट महिलामा जाग्नुपर्छ । जहाँ नारीले अरूका लागि ज्यान दिन सक्छे, त्यही नारीले आफ्नै मनको घाउ देखाउन किन नपाउने ? किन आफ्नै हकका लागि बोल्न नपाउने ?

नारीको आँसु, अब लुकेको होइन, अब खोलिएको चाहिन्छ । नारीको चोट– अब दबिएको होइन, अब देखाइएको चाहिन्छ । यिनै पीडाहरूको आवाज बनेर नारीको भविष्य न्यानो सूर्यजस्तै चम्किनुपर्छ ।
किनभने नारीको पीडा लाज होइन न्यायको माग हो । नारीको आँसु दुर्बलता होइन शक्ति बनाउने पानी हो । नारीको मौनता– अब न विवशता हो न त हार । बरु त्यो मौनता एउटा ठुलो आँधीपूर्वको शान्ति हो । जसले कुनै दिन आकाशको व्यापक परिवेश चिरेर मुक्तिको स्वर गुञ्जाउने निश्चित छ । किनभने महिलाहरू जीवनका सौन्दर्य हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप