बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बुधबार, १८ असार २०८२, ०८ : ५५
बुधबार, १८ असार २०८२

सारांश

  • लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको १६ औँ बैठकमा बजेटमा छलफल हुनेछ।
  • बैठकमा मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीले छलफलका प्रश्नहरूको जवाफ दिनेछन्।
  • प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बजेटमा असन्तुष्टि जनाउँदै सच्चाउन माग गरेको छ।

बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको १६ औँ बैठक आज बस्दैछ । बैठकमा बजेटको विभिन्न शीर्षकहरूमाथि समूहकृत छलफल र जवाफ दिने समय निर्धारण गरिएको छ ।

आज दिउँसो १२ बजे बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विभिन्न मन्त्रालय एवं सो सँग सम्बन्धित निकायका शीर्षकहरूमाथि समूहकृत छलफल हुनेछ । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिए । 

मंगलबार बसेको प्रदेश सभाको १५ औँ बैठकले ‘आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । साथै सैद्धान्तिक छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरूको नामावली प्राप्त नभएको भन्दै सभामुखले सैद्धान्तिक छलफल टुङ्गिएको सभामा जानकारी गराएका थिए । 

१४ औँ बैठक प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले बहिस्कार गरेका थिए । तर, लोसपा र जसपा नेपाल प्रतिपक्ष बेन्चमा बसेपछि सदन अघि बढेको थियो । जुन बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको थियो । बजेट माथि असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले विरोध जनाउँदै सच्चाउन माग राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप