सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

शिक्षा ऐन जारी नगरिएकाे भन्दै बहुमत निकट विद्यार्थी सङ्गठन आन्दाेलित

बिहीबार, १९ असार २०८२, १६ : ४३
बिहीबार, १९ असार २०८२

काठमाडौँ । सरकारले शिक्षा ऐन जारी नगरिएकाे भन्दै धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) आन्दाेलित भएकाे छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारले जनपक्षीय शिक्षा ऐन जारी गराउनका लागि आन्दोलन समेत घोषणा गरेको छ।

आन्दोलनका कार्यक्रम अन्तर्गत आगामी साउन २ गते देशभरका शैक्षिक संस्था बन्द गर्ने गरी शैक्षिक हडतालको घोषणा गरिएको छ । अध्यक्ष वीरेन्द्र शाहले जारी गरेको प्रेस विज्ञप्तिमा सरकार र संसद्ले जनपक्षीय शिक्षा ऐन जारी गर्न उदासीन देखिएको बताए ।

जारी प्रेस विज्ञप्तिमा भनिएको छ,'नेपालमा सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ जारी भएको एक दशकसम्म पनि शिक्षा ऐन जारी गर्न नसक्नुले वर्तमान संसद्, सरकार र राजनीतिक दलहरू असफल भएको पुष्टि हुन्छ । यसबाट उनीहरूको शिक्षाप्रतिको दृष्टिकोण स्पष्ट भएको छ । शिक्षालाई व्यापारका लागि लिलाम गरेर नेपाली विद्यार्थीहरूमाथी धोकाधडी नगर्न वर्तमान सरकार र संसद्लाई हाम्रो सङ्गठन चेतावनी दिन चाहन्छ । यसका साथै उनीहरू आफैले लेखेको संविधान अनुसार पनि र नागरिकहरूको मौलिक हकको रूपमा निःशुल्क, समान र वैज्ञानिक शिक्षाको कार्यान्वयन हुने गरी जनपक्षीय शिक्षा ऐन जारी गराउनका लागि तपशिल बमोजिम सङ्घर्षका कार्यक्रमहरूको घोषणा गर्दछौँ ।'

'सरकारले आफैँले गरेको प्रतिबद्धताअनुसार २०८१ असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्न सकेन, विज्ञप्तिमा भनिएको छ,यसले आम जनता र विद्यार्थीमाथि गद्दारी गरेको र दलाल संसदीय व्यवस्थामा माफियाहरूले आफ्नो स्वार्थ अनुकूल कानुन बनाउन सक्छन् भन्ने कुरा प्रमाणित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।' 

संविधानले व्यवस्था गरेको निःशुल्क, समान र वैज्ञानिक शिक्षा कार्यान्वयन हुने गरी जनपक्षीय शिक्षा ऐन तत्काल जारी गर्न माग गरिएको छ । आफ्ना माग पूरा गराउन सङ्गठनले चरणबद्ध सङ्घर्षका कार्यक्रमहरू समेत घोषणा गरेको छ ।

यस्ता छन् सङ्घर्षका कार्यक्रमहरू  

असार २० देखि २२ गते : सङ्घीय संसद्का सभामुख, राष्ट्रियसभा अध्यक्ष र राजनीतिक दलका प्रमुखहरूलाई ज्ञापनपत्र बुझाउने तथा सांसदहरूलाई पत्राचार गर्ने । साथै, ‘निःशुल्क शिक्षा प्राप्तिको सङ्घर्षमा मेरो ऐक्यबद्धता’ नारासहित डिजिटल हस्ताक्षर अभियान चलाउने ।

असार २३ र २४ गते : देशैभर कोणसभा गर्ने ।

असार २६ र २७ गते : सामाजिक सञ्जालमार्फत सरोकारवालाहरूलाई पत्राचार गरी जनदबाब सिर्जना गर्ने। 

असार ३० गते : प्रदर्शन गर्ने ।

असार ३२ गते : पुत्ला दहन र मसाल जुलुस गर्ने ।

साउन ०२ गते : देशभरका शैक्षिक संस्था बन्द तथा एक दिने देशव्यापी शैक्षिक हडताल गर्ने ।

श्रावण-२-गते-शैक्षिक-हडताल_page-0001श्रावण-२-गते-शैक्षिक-हडताल_page-0002

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप