बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : विपत् पूर्वतयारी

लुम्बिनीमा विपत् पूर्वतयारीको अवस्था नाजुक, जोखिमपूर्ण ठाउँका बासिन्दालाई त्रास

उद्धार सामग्रीसमेत खरिद गर्न सकेन प्रदेश सरकारले
शुक्रबार, २० असार २०८२, ०९ : ४३
शुक्रबार, २० असार २०८२

सारांश

  • रुपन्देहीमा वर्षाका कारण घर र खेत डुबान हुने चिन्ता बढेको छ।
  • लुम्बिनी प्रदेशमा मनसुनजन्य विपद्बाट ठूलो क्षति भएको छ, जसमा धेरैको मृत्यु भएको छ।
  • विपद् व्यवस्थापनका लागि सरकारले पूर्वतयारी नगरेको गुनासो स्थानीय बासिन्दाको छ।

बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–३, थुम्मुहवा पिपरहवा बस्ने ४२ वर्षीय राम नारायण गुप्तालाई वर्षा लागेसँगै तिनाउ नदीले घर तथा खेत कटान र डुबान गर्ने हो कि भन्ने चिन्ता हुन्छ ।

गत वर्ष भदौ महिनामा भएको वर्षाले गुप्ताको ५ बिघा खेत डुबान हुनका साथै धान बाली नष्ट भएको थियो । उनको केही खेत तिनाउ नदीले कटान गरेको थियो । 

सम्मरीमाई गाउँपालिका–३ का वडाअध्यक्ष अहमद अली देवानले गत वर्ष भदौमा आएको वर्षाले गाउँपालिकाको ४ हजार बिघा खेतमा क्षति पुर्‍याएको रातोपाटीलाई बताए ।

उनले भने, ‘खासगरी वडा नम्बर ३, ५ र ७ का धेरै ठाउँमा नदीले कटान गर्दै आएको छ भने डुबानको जोखिम पनि उत्तिकै छ ।’

केही दिन वर्षा हुँदा रुपन्देहीको मर्चवारी क्षेत्रमा डुबान र कटानजस्ता विपत् झेल्न स्थानीयवासी बाध्य हुन्छन् । यद्यपि यसलाई रोकथाम गर्न सरकारले प्रस्ट योजना नल्याएको स्थानीय हृदयराम गुप्ताले बताए । खोल्सा सफा गर्ने तटबन्ध गर्ने र पानी निकास दिने भौतिक संरचना निर्माणमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो नदिएको उनको भनाइ छ ।

यो वर्षको मनसुन सुरु भइसकेकाले आफूहरू डुबान र कटानको त्रासमा बस्नु परिरहेको गुप्ताले बताए । ‘पानी निकासका लागि भौतिक संरचना निर्माण भएको छैन । त्यस कारण अहिले पनि मर्चवारी क्षेत्र जोखिममै छ, तर सरकारको ध्यान यसतर्फ छैन ।’ 

बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरमा पनि बर्खा लागेसँगै पहिरोको त्रास बढ्न थालेको छ । विगतका तुलनामा जोखिम कम भए पनि ठुलो पानी आएर पहिरो जाँदा जतिसक्दो छिटो भाग्नुको विकल्प नभएको ज्योतिनगरका राजु केसीले बताए ।

e21abfed-900e-4c29-851e-4e70a1cd3fc8

उनले अलि धेरै ठुलो पानी आउँदा खोल्सा थुनिने भएकाले घरभित्रै पानी पस्ने गरेको गुनासो गरे । माथितिर ठुलो पानी पर्दा पहाड नै गलाएर ढुंगा–माटोसहितको लेदो बगेर ज्योतिनगरको बस्तीसम्म आइपुग्ने उनले बताए ।

ज्योतिनगर र लक्ष्मीनगरका गरी जम्मा ३५१ घर पहिरो र लेदोको जोखिममा रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिका–३ का वडा सदस्य अमृत खड्काले ज्योतिनगर र लक्ष्मीनगरको जोखिम कम गर्न केही काम भए पनि त्यो पूर्ण नभएको जिकिर गरे । यसमा नगरपालिकासँगै प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

खड्काका अनुसार पहिरोले पटक–पटक धेरै क्षति भएको र अझै उस्तै जोखिम रहेकाले तीनै तहका सरकार मिलेर काम गर्नुको विकल्प छैन ।

दाङ जिल्लामा राप्ती र बबई नदीको कटानले प्रत्येक वर्ष उस्तै समस्या हुन्छ । बाँके जिल्लामा पनि राप्ती नदीको कटानबाट डढुवा, राप्ती सोनारी गाउँपालिका बासिन्दा समस्यामा पर्दै आएका छन् । 

रुपन्देही क्षेत्र नम्बर ५ (२) का प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले आफ्नो क्षेत्रमा विपत् सम्बन्धी घटनाले निकै क्षति निम्त्याउने गरे पनि सरकारले क्षति न्यूनीकरणको पूर्वतयारीमा ध्यान नदिएको गुनासो गरे । उनले डुबानको समयमा उद्धार तथा खेतबारी कटान हुँदा क्षतिपूर्ति दिने गरिए पनि कतिपयलाई ती सेवा लिन पनि सास्ती हुने गरेको बताए । यस अतिरिक्त विपत् न्यूनीकरण तथा जनधनको सुरक्षाका लागि पूर्वतयारीमा सरकारले ध्यान दिन नसकेको उनको भनाइ छ ।

बर्खा लागेसँगै लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पहिरोको त्रास र तराईका जिल्लामा कटान र डुबानको त्रास रहन्छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपत् फोकल पर्सन एवं वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेयका अनुसार प्रदेश सरकारले विपत् पूर्वतयारीको काम गरिरहेको छ । विपतका घटनाबाट बढी प्रभावित हुने क्षेत्र पहिचान गरी सोही अनुसार पूर्वतयारीका काम भइरहेको उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यस वर्ष लुम्बिनी प्रदेशका पहाडी जिल्लामा अधिक वर्षाको सम्भावना छ । त्यसअनुसार प्रभावकारी विपद् प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, ०८२’ अनुसार यस वर्ष लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने देखिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन पाण्डेयका अनुसार लुम्बिनी प्रदेशमा विपतका सबैभन्दा बढी घटना २०८० सालमा (९ हजार २९२ वटा) र सबैभन्दा धेरै मानवीय क्षति २०७३ सालमा (९०७ जनाको मृत्यु) भएको थियो । 

प्रदेश तहमा सतर्कता र तयारीका काम अघि बढाइएको आन्तरिक मामिलामन्त्री आदेश कुमार अग्रवालले बताए । उनले अन्य मन्त्रालयहरूमा पनि यस सम्बन्धी कार्यविभाजन भएको र  आपसी समन्वयमा तत्काल उद्धार तथा राहतको काम हुने जानकारी दिए ।

  • सामग्री खरिदमा लगातार असफल 

लुम्बिनी प्रदेशमा सुरक्षाकर्मीहरूका लागि आवश्यक पर्ने उद्धारका सामग्रीहरू खरिद हुन सकेको छैन ।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयले विपत् उद्धारका सामग्री खरिदका लागि गत वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको थियो, तर सामान खरिद हुन सकेन । चालु आर्थिक वर्ष पनि २ करोड रुपैयाँ बराबरका सामान खरिदका लागि बोलपत्र आह्वान भएको थियो । तर एउटामात्रै कम्पनीले बोलपत्र फारम भरेको र त्यो कम्पनीको मापदण्ड नपुगेका कारण ठेक्का सम्झौता हुन नसकेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

e05de265-1b9a-40b5-8979-e55dee4a880f (1)

मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेयले गत वर्षजस्तै अहिले पनि सामग्री खरिद गर्न नसकिएको बताए । उनले लुम्बिनी प्रदेशमा विपत् कोषमा १० करोड रुपैयाँ रहेको जानकारी दिँदै ठुलो समस्या आइपरेमा सोही रकमबाट काम गर्ने बाटो खुला रहेको बताए ।

नयाँ आर्थिक वर्षको सुरुवातमै विपतका समयमा प्रयोग हुने उद्धार सामग्रीहरू खरिदको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

  • पछिल्लो एक वर्षको अवस्था कस्तो ? 

लुम्बिनी प्रदेशमा मनसुनसँग सम्बन्धित बाढी, डुबान, भूक्षय, भारी वर्षा, चट्याङ र आकस्मिक बाढीजस्ता कारणले २०८१ साउन १ गतेदेखि २०८२ असार १७ गतेसम्म अर्थात् करिब १ वर्षको अवधिमा विपतका एक हजार ६२० घटना भएका छन्, जसमा २६२ जनाको मृत्यु भएको प्रदेश विपत् शाखाले जनाएको छ । ती घटनामा ६७२ जना घाइते भएका छन् भने १६ जना बेपत्ता भएका छन् ।

यो अवधिमा विपतजन्य घटनाका कारण आर्थिक रूपमा २० करोड ६९ लाख ६ हजार ५६५ रुपैयाँ बराबरको क्षति भएको अनुमानित विवरण प्रदेशको आन्तरिक मामिला मन्त्रालयले तयार पारेको छ । यो अवधिमा २६८ वटा व्यक्तिगत घर पूर्णरूपमा क्षति भएका छन् भने सरकारी ७ वटा भवन क्षति भएको जनाइएको छ ।

यस्तै प्राकृतिक विपतका कारण ४६३ वटा पशु र २४९ वटा गोठमा क्षति भएको मन्त्रालयको तथ्याङ्क छ । जिल्लागत रूपमा प्रदेशमा १२ वटै जिल्लामा विपतबाट क्षति भएको देखिन्छ ।

२०८१ साउनदेखि २०८२ असार १७ गतेसम्म अर्घाखाँची जिल्लामा विपतजन्य ८६ वटा घटनामा ८ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् । यहाँ १२ वटा घर र २१ गोठ पूर्णरूपमा क्षति हुँदा ९३ लाख बराबरको आर्थिक नोक्सान भएको अनुमान गरिएको छ । 

1cbbbbc9-9443-48b5-add0-cd23b0f01cc0

कपिलवस्तु जिल्लामा १३५ घटना ४३ जनाले ज्यान गुमाएका छन् भने ४३ जना नै घाइते भएका छन् । समीक्षा अवधिमा यहाँ विपतका घटनामा २ जना बेपत्ता भएका छन् । यहाँ ३ वटा व्यक्तिगत र एउटा सरकारी भवनमा क्षति भएको छ । यस्तै ४० गोठ र पशुसमेत गरी २ करोड २९ लाख ६० हजार ८५० रुपैयाँ बराबरको अनुमानित क्षति भएको मन्त्रालयले जनाएको छ ।

गुल्मी जिल्लामा १०२ विपतका घटनामा १४ जनाको मृत्यु हुनका साथै ७३ जना घाइते भएका छन् । ती घटनामा एक जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ । समीक्षा अवधिमा १४ वटा घर पूर्णरूपमा क्षति हुँदा ३९ लाख ११ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

दाङ जिल्लामा १८६ वटा विपतका घटना हुँदा ३९ जनाले ज्यान गुमाएका छन् भने ७३ जना घाइते र एक जना बेपत्ता भएका छन् । ती घटनामा ५९ निजी घर र ३ वटा सरकारी भवनमा क्षति हुँदा अनुमानित २ करोड २१ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल नोक्सान भएको अनुमान छ ।

यस्तै नवलपरासी जिल्लामा विपतबाट यो अवधिमा ९४ वटा घटनामा १४ जनाको मृत्यु हुनका साथै ३१ जना घाइते भएका छन् । यहाँ १३ वटा घर र ३ वटा सरकारी भवनमा क्षति भएको तथ्याङ्क छ । यहाँ १ करोड ५७ लाख १२ हजार बराबरको धनमाल क्षति भएको मन्त्रालयको अनुमान छ ।

समीक्षा अवधिमै पाल्पा जिल्लामा १५२ वटा विपतका घटनामा ९ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते र एक जना बेपत्ता भएका छन् । यहाँ १४ वटा घर, ५४ वटा गोठ र पशुसमेत गरी ३२ लाख २४ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । 

प्युठान जिल्लामा १०६ वटा विपतका घटनामा ८ जनाको मृत्यु तथा ६७ जना घाइते भएका छन् । यस्तै १९ वटा घर, १२ वटा गोठ गरी ३१ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

बर्दिया जिल्लामा विपतका सबैभन्दा धेरै घटना भएका छन् । यहाँ २०४ वटा विपतका घटनमा ३७ जनाको मृत्यु, ७२ जना घाइते हुनका साथै २ जना बेपत्ता भएका छन् । यी घटनामा २४ वटा घर, ३९ वटा गोठ र पशुसमेत गरी १ करोड ७५ लाख ७३ हजार ६६५ रुपैयाँ बरावरको क्षति भएको मन्त्रालयको अनुमान छ । 

fb6f94a4-2ab9-4d8f-837a-dd0831aa5e45 (1)

बाँके जिल्लामा विपतका १७९ घटना हुँदा ३० जनाको मृत्यु हुनका साथै ७९ जना घाइते भएका छन् । यहाँ ३५ वटा घर, १६ वटा गोठमा गरी ३४ करोड ३९ लाख १ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

यस्तै रुकुमपूर्व जिल्लामा ५२ विपतका घटनामा ४ जनाको मृत्यु तथा १० जना घाइते भएका छन् । यस्तै ३ वटा घर र ५ वटा गोठमा गरी यहाँ १२ लाख २२ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

रुपन्देहीमा जिल्लामा यो अवधिमा १७५ वटा विपतका घटना भएका छन्, जसमा ४२ जनाको मृत्यु, ५६ जना घाइते भएका छन् । यस्तै ८ वटा घर र ११ वटा गोठका साथै पशुसमेत गरी ५ करोड ४३ लाख ३९ हजार ७ सय रुपैयाँको क्षति भएको मन्त्रालयको अनुमान छ ।

रोल्पा जिल्लामा यो अवधिमा १४९ वटा घटनामा १४ जनाको मृत्यु तथा ६९ जना घाइते भएका छन् । यस्तै ३३ घर, ४२ गोठ गरी ३ करोड १ लाख ४१ हजार ९५० रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

उक्त तथ्याङ्कको आधारमा लुम्बिनीका तराईका जिल्लाको तुलनामा पहाडी जिल्लामा क्षति कम देखिएको फोकल पर्सन पाण्डेयले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप