शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: ७३ जिल्लामा पुग्यो डेंगु, आन्दोलनमा चिकित्सक, कर्मचारीले पेन्सन नपाउने

शनिबार, २१ असार २०८२, ०० : ००
शनिबार, २१ असार २०८२

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा हामी १२ बजे १२ समाचार लिएर पाठकवृन्दसमक्ष हाजिर भएका छौँ–

१. ७३ जिल्लामा पुग्यो डेंगु

गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३ वटा डेंगुका केस पुष्टि भएका छन् । सरकारका अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरी १ हजार ६ सय ७३ वटा डेंगुका केस पुष्टि भएका हुन् ।

२. आन्दोलनमा चिकित्सक

नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ ।

उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्था र डाक्टरहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने फैसला गरेसँगै त्यस्तो फैसलालाई नै चुनौती दिँदै चिकित्सक संघ आन्दोलित बनेको हो ।

३. पेन्सन

आगामी आर्थिक वर्ष २०८२–०८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ ।

शुक्रबार अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ ।

४. रकम उठाउने धन्दामा मन्त्री

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल विगत केही दिनदेखि प्रदेशको मन्त्रिपरिषद् बैठकमा सहभागी छैनन् । उनी मुख्यमन्त्रीसँग गरेको एउटा अनुरोध पूरा नगरेको भन्दै रुष्ट भएर मन्त्रिपरिषद् बैठकमा सहभागी नभएका हुन् ।

यसैबीच उनी रकम उठाउने धन्दामा संलग्न भएको पर्दाफास भएको छ ।

५. सुदूरपश्चिमको राजनीति

सुदूरपश्चिम प्रदेश सभामा ७ सांसद भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) विना कुनैवेला सुदूरपश्चिममा सरकारको कल्पना गर्न सकिँदैन थियो । त्यही सङ्कटको वेला आफ्नो सरकार बनाउन नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले नाउपालाई मुख्यमन्त्री पद नै ‘अफर’ गरेका थिए ।

तर, राजनीतिमा समीकरण र शक्ति रातारात बदलिन्छन् । अहिले नेकपा एमालेको बलियो साथ पाएर शाह मुख्यमन्त्री पदमा छन् । मुख्यमन्त्री शाहले नाउपाका मन्त्रीलाई एकपछि अर्को गर्दै बर्खास्त गरेर सरकार छाड्न बाध्यमात्र पारेनन्, विपक्षी कित्तामा पुर्‍याइदिएका छन् । मुख्यमन्त्री शाहले नाउपाको समर्थनविना पनि सरकार टिकाउन सक्ने बलियो धरातल भएपछि उनीहरूलाई पाखा लगाउन थालेका छन् ।

६. भ्रष्टाचार प्रकरण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । जसमा नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढाको समेत नाम समावेश छ ।

७ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी उनीसहित तत्कालीन डोल्पा जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविचन्द्र पजियार, सोही कार्यालयका लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगीता बुढा विरुद्ध मुद्दा दायर भएको हो । बुढा तत्कालीन उपभोक्ता समितिका अध्यक्ष हुन्, त्यो पनि फर्जी ।

७. फर्किए प्रधानमन्त्री

६ दिने स्पेन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका प्रधानमन्त्री ओली शुक्रबार कतारको दोहा हुँदै स्वदेश फर्किएका हुन् ।

८. राष्ट्रियसभा

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् । शुक्रबार बसेको बैठकले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन् । राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भनी प्रस्ताव राखेका थिए ।  उक्त प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।

९. सालिन मृत्यु प्रकरण

चितवन जिल्ला अदालतले रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीय छात्रा सालिन पोखरेलको मृत्यु प्रकरणमा तीन जनालाई सफाइ दिनुको कानुनी आधार खुलाएर उक्त मुद्दाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

२०८० फागुन १२ गते सालिन स्कुलकै होस्टलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनापछि आत्महत्या दुरुत्साहनको आरोपमा स्कुलका तीन जनाविरुद्ध मुद्दा चलाइएको थियो ।

 १०. कुन्दनको दादागिरी

बागमती प्रदेशको बजेटमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले दादागिरीको शैली अपनाएको पाइएको छ । काफ्लेले असार १ गते प्रदेशसभामा पेस गरेको बजेटबारे गम्भीर प्रश्न उठेसँगै समस्या समाधानका लागि सत्तारुढ नेपाली कांग्रेस र एमालेको तर्फबाट गठित कार्यदलको प्रतिवेदनले नै उनले बजेटमा दादागिरी गरेको तथ्य औँल्याएको हो ।

११. महानगरमा बबण्डर

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि अझै बजेट सार्वजनिक गर्न सकेको छैन । महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई अस्वीकार गर्दा बजेटको प्रक्रिया सुरु भएको छैन ।

मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठकसमेत अहिलेसम्म बसेको छैन । मेयर बालेनले एक पटक बोलाउन तयार भएको बैठकमा सदस्यसचिव (प्रमुख प्रशासकीय अधिकृत गुरागाइँ) नरहने सर्त राखेपछि बैठक सारिएको थियो ।

१२. नेपाली राष्ट्रिय यू–१६
नेपाली राष्ट्रिय यू–१६ टोलीले मलेसियामा आफ्नो क्रिकेट कमाल देखाइरहेको छ । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनलमा पुग्दा नेपाली टोलीले सबै खेल सहज ढङ्गले जित्न सफल भएको छ ।

प्रतियोगितामा हालसम्म नेपाली टोलीका खेलाडीले दुई शतक पनि प्रहार गरिसकेका छन् । सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडी पनि नेपाली टोलीबाटै छन् ।

थप समाचारहरु...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप